२०८२ चैत १६ गते सोमवार / Mar 30 , 2026 , Monday
२०८२ चैत १६ गते सोमवार
Ads

शैक्षिक कन्सल्टेन्सीहरूलाई वैदेशिक रोजगारको काम नगर्न विभागको चेतावनी

himalayanlife
२०८२ चैत १६ गते ०६:२०
Shares
शैक्षिक कन्सल्टेन्सीहरूलाई वैदेशिक रोजगारको काम नगर्न विभागको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले शैक्षिक कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीका नाममा व्यापक ठगी भइरहेको भन्दै त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरूलाई विभिन्न माध्यमबाट भ्रममा पारी ठगी गर्ने कार्य भइरहेको देखिएको बताएको हो ।

विभागका अनुसार विशेषगरी शैक्षिक परामर्श सेवाका लागि दर्ता भएका कन्सल्टेन्सी, ट्राभल एजेन्सी र अनलाइन माध्यमबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल गर्ने र अन्तर्वार्ता लिने कार्य भइरहेको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० अनुसार इजाजतपत्र प्राप्त नगरी कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कामदार पठाउने सम्बन्धी विज्ञापन, अन्तर्वार्ता, रकम संकलनलगायतका काम गर्न नपाउने व्यवस्था रहेको स्मरण गराएको छ । 

साथै, कुनै संस्था वा व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभन देखाई राहदानी संकलन गर्ने, भिजिट भिसामा विदेश पठाएर रोजगारी मिलाइदिने आश्वासन दिने र ठुलो रकम असुल गर्ने लगायतका कार्य पूर्णतः गैरकानुनी भएको विभागले जनाएको छ । त्यस्ता ठगीका कार्यमा संलग्न व्यक्ति वा संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने पनि विभागको भनाइ छ ।

विभागले इजाजतपत्र नलिएका कन्सल्टेन्सी, ट्राभल एजेन्सीलगायतलाई वैदेशिक रोजगारीको नाममा रकम वा राहदानी नबुझाउन आग्रह गरेको छ । साथै वैदेशिक रोजगारीका लागि कागजात र सेवा शुल्क बुझाउँदा सम्बन्धित म्यानपावर कम्पनीले विभागबाट पूर्व स्वीकृति लिएको वा नलिएको, उक्त संस्थाको इजाजत कायम रहेको वा नरहेको तथा सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाका सञ्चालक वा कर्मचारीको विवरण विभागको वेबसाइटमा अनिवार्य रूपमा रुजु गरेपछि मात्र प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरिएको छ ।

विभागले वैदेशिक रोजगारसम्बन्धी कानुनविपरीत गतिविधि भएको थाहा पाएमा वा आफू ठगीमा परेमा विभागमा कुनै पनि माध्यमबाट उजुरी तथा निवेदन दिन सकिने जनाएको छ ।

यसैबीच विभागले वैदेशिक रोजगारीका लागि आवेदन फारम नेपाली भाषामा भर्नुपर्ने जनाएको छ । आइतबार नै जारी अर्को सूचनामा विभागले वैदेशिक रोजगारीमा जानेहरूले विभिन्न देशका लागि आवेदन दिँदा वा व्यक्तिगत विवरण भर्दा भाषागत कठिनाइका कारण ठगीमा पर्ने तथा आफूले हस्ताक्षर गरेको कागजातको व्यहोरा थाहा नपाउने गुनासाहरू प्राप्त भइरहेकाले करारलगायतका कागजात नेपाली भाषामा तयार गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित अन्य कानुनअनुसार कामदार र रोजगारदाता वा इजाजतपत्रवालाबीच हुने सम्झौता र विवरणहरू पारदर्शी हुनुपर्ने व्यवस्था छ । सोहीअनुसार वैदेशिक रोजगारीका लागि दिइने आवेदन, व्यक्तिगत विवरण र मञ्जुरीनामाका कागजातहरू सम्भव भएसम्म नेपाली भाषामा तयार गरी बुझाउन तथा रोजगारदाताको मागअनुसार अंग्रेजी भाषामा फारम भर्नुपर्ने भएमा त्यसको व्यहोरा नेपाली भाषामा समेत तयार हुने व्यवस्था गर्न विभागले म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर