
रौतहट : रौतहटको सदरमुकाम गौरस्थित ऐतिहासिक गौर राइस मिलको प्राङ्गणमा सञ्चालित निःशुल्क शिक्षालयका विद्यार्थीहरूलाई सोमबार बिहान शैक्षिक सामग्री वितरण गरिएको छ।
विगत लामो समयदेखि शिक्षक निरज कुमार साहको एकल प्रयासमा सञ्चालित सो शिक्षालयमा अध्ययनरत करिब २०० जना विपन्न विद्यार्थीहरूलाई हिन्दू सम्राट सेना रौतहटको तर्फबाट कपी र कलमलगायतका स्टेशनरी सामग्री प्रदान गरिएको हो।

हिन्दू सम्राट सेनाका जिल्ला अध्यक्ष राज भूषण श्रीवास्तव र गौर नगर अध्यक्ष मनोज यादवको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

सो अवसरमा जिल्ला अध्यक्ष श्रीवास्तवले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरिएको बताए।
उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने उद्घोष गरे । उनले भने, 'गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न हाम्रो संगठनले प्रत्येक महिना निःशुल्क रूपमा स्टेशनरी सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।'

शिक्षक निरजकुमार साहले विगत २४ वर्षदेखि गौर राइस मिलको जीर्ण भवनको कम्पाउण्डभित्र भुइँमा बसालेर गरिब, दलित, टुहुरा र विद्यालय जानबाट वञ्चित बालबालिकाहरूलाई अध्यापन गराउँदै आएका छन् ।
तर यति लामो समयदेखि निःशुल्क शिक्षा दिइरहँदा पनि स्थानीय सरकार वा अन्य कुनै निकायको ध्यान नगएकोमा उनले गुनासो गरे । 'मैले व्यक्तिगत दुःख र कष्ट सहेर पनि यी बालबालिकाहरूको भविष्य अन्धकार नहोस् भनेर पढाइरहेको छु', शिक्षक साहले भने, 'विभिन्न निकायमा सहयोगको अपिल गरे पनि अहिलेसम्म कसैले ठोस चासो देखाएका छैनन्। यस्तो अवस्थामा सामाजिक संघ-संस्थाहरूले देखाएको यो सद्भावले मलाई थप हौसला मिलेको छ।'

संवैधानिक रूपमा शिक्षालाई मौलिक हक मानिए पनि रौतहटको मुटुमै सञ्चालित यो खुला शिक्षालयको अवस्थाले सरकारी दाबीलाई गिज्याइरहेको देखिन्छ। एकातिर सरकारले 'भर्ना अभियान' र 'साक्षर नेपाल' का लागि करोडौँ खर्च गरिरहेको छ भने अर्कोतिर आफ्नै स्रोत-साधन बिना खुल्ला आकाशमुनि पढाउने शिक्षक साहको अभियानलाई राज्यले चिन्न सकेको छैन।

सम्राट सेनाका गौर नगर अध्यक्ष मनोज यादवले यस्ता नि:स्वार्थ सेवा गर्ने व्यक्तित्व र संस्थालाई स्थानीय प्रशासन तथा नगरपालिकाले प्रोत्साहन र भौतिक पूर्वाधारमा सहयोग गर्नुपर्नेमा जोड दिए ।