काठमाडौंः सात सय ३१ थान राहदानीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको छत्रपुर नगरपालिका ९ का ३८ वर्षीय मिनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका ७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका ३ का ४४ वर्षीय लोकजन खड्का रहेका छन् ।
काठमाडौंको गोङ्गबुस्थित होटल सोना र होटल पल्लिकोटमा बसेका उनीहरुको साथबाट सात सय ३१ थान राहदानी बरामद भएको प्रहरीले जनाएको छ । उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।
टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार चार सयसहित धनुषाका ४५ वर्षीय एमडि नजिमलाई पक्राउ गरेको छ ।
कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको पाँच सय दरको २४ थान र दुई सय दरको १२ थान गरी जम्मा १४ हजार चार सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies