२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बझाङका विकास मुद्दा लिएर सांसद ऐन महरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Nada
सत्यराज सिंह
२०८२ चैत १७ गते २१:१०
Shares
बझाङका विकास मुद्दा लिएर सांसद ऐन महरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य ऐन महरले सुदूरपश्चिमका विकाससम्बन्धी विविध मुद्दा उठाउँदै प्रधानमन्त्रीसँग ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई बोलाएर मंगलबार आयोजना गरेको छलफलमा सांसद महरले बझाङ केन्द्रित पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण मागहरू प्रस्तुत गरेका हुन् ।

ncell

छलफलमा महरले जयपृथ्वी राजमार्गको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै बझाङको देवल विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए । उनले खप्तड क्षेत्रको पर्यटन विकासमा विशेष योजना ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै जिल्लामा देखिएको मोबाइल नेटवर्क समस्याको शीघ्र समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

स्वास्थ्य क्षेत्रतर्फ जिल्ला अस्पताल सिमखेतमा सिटी स्क्यान सेवा सञ्चालन गरी अस्पताललाई स्तरोन्नति गर्नुपर्ने तथा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने माग उनले अघि सारेका छन् । त्यस्तै, बझाङमा उत्पादन हुने जलविद्युत आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्दै स्थानीय बासिन्दालाई विद्युत उपभोगको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

महरले निर्माणाधीन जलविद्युत आयोजनाहरूको काम तीव्र गतिमा अघि बढाउनुपर्ने, ताक्लाकोट सडक तथा सेती लोकमार्गको निर्माणलाई गति दिनुपर्ने माग पनि राखेका हुन् । साथै, शिक्षक दरबन्दी कम भएका विद्यालयहरूमा आवश्यक दरबन्दी थप गर्नुपर्ने विषय समेत उठाएका छन् । 

सडक पूर्वाधार विस्तारतर्फ वित्थडलिम–सुईलेक–कुसिना हुँदै बुंगल जोड्ने तथा बागथला–विजगडा–कफलसेरी–गल्लेक हुँदै दार्चुला जोड्ने सडकहरू पिच गर्नुपर्ने माग प्रस्तुत गरिएको छ। साथै, सेती नदीका विभिन्न स्थानमा मोटरेबल पुल निर्माण गर्नुपर्ने र बझाङमा सडक तथा खानेपानी कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

प्रधानमन्त्रीसँगको छलफलमा महरले बझाङको समग्र विकासका लागि सरकारबाट ठोस पहल आवश्यक रहेको उल्लेख गर्दै प्रस्तुत मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर