
बझाङ : जिल्ला अस्पताल सिमखेतको अध्यक्षमा विरेन्द्र बहादुर खड्का चयन भएका छन् । स्वास्थ्य सेवा सुधार र संस्थागत सुशासनमा अनुभव भएका खड्काको नियुक्तिसँगै अस्पतालप्रति नयाँ आशा जागेको स्थानीयले बताएका छन् ।
जयपृथ्वी नगरपालिका–३, बझाङका स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) तथा पाठ्यक्रम तथा मूल्यांकन विषयमा एमएड गरेका छन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुको विभिन्न तह हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
विद्यार्थी आन्दोलनका क्रममा उनले कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सचिवको भूमिका निर्वाह गरेका थिए । हाल उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय छन् ।
खड्काले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गर्दै विभिन्न गाउँपालिकामा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेका छन् । साथै, सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी जवाफदेहिता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरूमा पनि उनको संलग्नता रहँदै आएको छ । बझाङ जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरूमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनमा समेत उनी सक्रिय रहेका छन् ।
अध्यक्षमा नियुक्त भएपछि खड्काले अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण र जनविश्वास बढाउने कार्यलाई प्राथमिकतामा राख्ने बताएका छन् । “अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित सबै सरोकारवालासँग सहकार्य गर्नेछु,” उनले भने ।
स्थानीयवासीले खड्काको नेतृत्वमा जिल्ला अस्पताल सिमखेतले थप गति लिने अपेक्षा गरेका छन् ।