
काठमाडौं : ‘पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार’ भन्ने मूल नारासहित आयोजित १३औं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सम्पन्न भएको छ । एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा चैत ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको उक्त मेला विभिन्न सहर र ऐतिहासिक स्थलहरूमा सांस्कृतिक उत्सवका रूपमा मनाइएको हो ।
मेलाको उद्घाटन काठमाडौंमा गरिएको थियो भने कार्यक्रमहरू पोखरा, पाँचखाल, बुढानिलकण्ठ, बसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रलगायत स्थान तथा विभिन्न विद्यालयहरूमा आयोजना गरिएको थियो । विभिन्न स्थानमा प्रस्तुत गरिएका सांस्कृतिक झाँकी र नृत्यले दर्शकलाई आकर्षित गरेका थिए ।

यस वर्षको मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, दक्षिण अफ्रिका, इजरायल र नेपालका कलाकारहरूको सहभागिता रहेको थियो । सहभागी कलाकारहरूले आफ्ना देशका मौलिक लोकसंस्कृति, भेषभूषा र परम्परागत नृत्य–संगीत प्रस्तुत गर्दै सांस्कृतिक विविधताको जीवन्त झल्को दिएका थिए । आयोजकका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही देशका टोलीहरू भने सहभागी हुन सकेनन् ।
आयोजक संस्थाका अनुसार विसं २००२ सालदेखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यस मेला नेपाली सांस्कृतिक पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण माध्यम बन्दै आएको छ । यस वर्षको संस्करणलाई देशभरबाट पाँच लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए भने टेलिभिजन, युट्युब र फेसबुकजस्ता डिजिटल माध्यममार्फत पनि उल्लेखनीय दर्शक सहभागिता रहेको जनाइएको छ ।

संस्थापक अध्यक्ष आरसी कोइराला ‘रामचन्द्र’का अनुसार मेलाले नेपाललाई अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा चिनाउने अवसर सिर्जना गर्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ । यस्ता कार्यक्रमले सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउँदै नेपालप्रतिको अन्तर्राष्ट्रिय आकर्षण बढाउने विश्वास समेत व्यक्त गरिएको छ ।
यद्यपि, आयोजकले सम्बन्धित सरकारी निकायबाट अपेक्षित स्तरको सहयोग प्राप्त हुन नसकेकोप्रति असन्तुष्टि जनाएको छ । कार्यक्रम सञ्चालन र व्यवस्थापनमा थप संस्थागत सहयोग आवश्यक रहेको आयोजकको भनाइ छ ।

मेलाको सफल आयोजनाका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका र पाँचखाल नगरपालिकालगायत स्थानीय तह तथा विभिन्न संघ–संस्थाहरूले सहयोग गरेका थिए ।
यसैबीच, समूहकी निर्देशक सीतल आचार्यले आगामी १४औं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८४ को तयारी सुरु गरिने जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेकी छन् ।





