
काठमाडौं : पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका ‘हाई प्रोफाइल’ व्यक्तिहरू अनुसन्धानको दायरामा आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बोलेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेसँगै उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानमा तानिएका हुन् ।
रास्वपाले प्रतिनिधिसभामा करिब दुईतिहाई बहुमत प्राप्त गरेर शक्तिशाली सरकार गठन गरेको १२ घण्टा नवित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे ।
जेनजी आन्दोलनको जगमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालले रास्वपालाई १८२ सिट दिएर सत्ता सञ्चालनको एकल अधिकार दिएका छन् । सोही जनमतका आधारमा बालेन नेतृत्वमा चैत १३ गते १५ सदस्यीय मन्त्रिमण्डल बनेको हो । नयाँ सरकार बनेको ९ दिनमा पूर्वप्रधानमन्त्री,गृहमन्त्रीसहित १० भिआइपीहरू पक्राउ परेका हुन् ।
जेनजी आन्दोलनका अभियान्ता सुधन गुरूङ नै गृहमन्त्री छन् । प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनको निर्देशनमा नेपाल प्रहरीले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने राजनीति तथा प्रशासनिक नेतृेत्वमा रहेका ‘हाई प्रोफाइल’ धमाधम पक्राउ गरिएको प्रहरीले जानएको छ ।
त्यस्तै अन्य विभिन्न घटनामा संलग्न उच्च तहका व्यक्तिहरू समेत अनुसन्धानको दायरामा ल्याईएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका घटनाको अनुसन्धान लगायत अन्य घटनामा संलग्नहरू धमाधम पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले बताए ।
उनले मध्यान्हसँग भने, ‘पछिल्लो हप्ता प्रहरीले तत्कालिन सरकारका प्रधाननमन्त्री, गृहमन्त्री, उर्जामन्त्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित ‘हाईप्रोफाइल’ व्यक्तिललाई पक्राउ गरेको छ । राजनीतिक र प्रशासनिक नेतृत्व जेनजी घटनाका आरोपीत हुन भने पक्राउ परेका अन्य व्यक्तिहरू विभिन्न घटनामा संलग्न हुन् ।’
पछिल्लो समय नेपाल प्रहरीले राजनीति तथा प्रशासनिक नेतृत्व, विचौलिया, व्यवसायी माथि अनुसन्धान बढाएको उनको भनाई छ ।
९ दिनमै १० जना ‘हाइप्रोफाइल’ नेता, प्रशासक, व्यवसायी पक्राउ गरेको सरकारले पक्राउको क्रम रोकेको छैन । सरकारको यो अभियानलाई केही राजनीतिक दल तथा तीनका कार्याकर्ताबाहेक अधिकांशले प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री बालेन र गृहमन्त्री सुदनको सक्रियतामा हालसम्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व उर्जामन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा, एमाले नेता कर्णबहादुर मल्ल, काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, विचौलिया दीपक भट्ट, व्यवसायीहरू शंकर अग्रवाल, शुलभ अग्रवाल, सन नेपाल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका हुन । ओली र लेखक र पूर्वप्रजिअ छविलाल रिजाल जेनजी आन्दोलनमा प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन् ।
आन्दोलनमा बल प्रयोग गरेको भन्दै उनिहरूमाथि कारबाही गर्नु पर्ने जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा शीर्ष नेताहरूमाथि अनुसन्धानको सुई तेर्सिएको प्रहरीको दाबी छ ।
तत्कालिन उर्जामन्त्री दिपक खड्का भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धानको दायरामा ल्याईएको हो ।
त्यस्तै दीपक भट्ट, शंकर अग्रवाल, शुलभ अग्रवाल र राजकुमार अर्याललाई पनि सम्पत्ति शुद्धिकरणको अनुसन्धा गर्न पक्राउ गरिएको हो ।
दीपक भट्टले राजनीतिक पहुँचको आधारमा अकुत सम्पत्ति आर्जन गरेको र उन्मुक्ति पाउँदै गएको अवस्थामा नयाँ सरकारले उनलाई छानबिनको दायरामा ल्याएको छ । पैसाको प्रभावबाट सरकार र मन्त्रीहरू हेरफेरसम्मको काम गर्दै आएका आरोप छ ।
त्यस्तै बालश्रम शोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले एक बालिकालाई घरेलु कामदारमा राखेर श्रम शोषण गरेको आरोप छ ।
यसअघिकै सरकारका पालामा सतहमा आएको यो घटना जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि उनले उन्मुक्ति पाएकी थिइन् । तर नयाँ सरकार आएपछि उनीमाथि पुनः छानबिन प्रक्रिया अगाडि बढेको हो । रास्वपाले सरकारको कार्यप्रति सकारात्मक र निर्वाचनको वाचापत्र कार्यान्वयन गर्ने चरणमा रहेको प्रतिक्रिया दिएको छ ।
परिवर्तनको अपेक्षासहित प्राप्त अभूतपूर्व जनसमर्थनको दायित्वलाई रास्वपाले सुझबुझपूर्ण ढंगबाट पूरा गर्ने रास्वपाका सांसद गणेश पराजुलीले बताए ।
‘सरकार गठन लगत्तै सुरु गरेको सुशासनको अभियानले नागरिकका अपेक्षालाई सम्बोधन गर्ने संकेत देखिएको छ’, उनले भने, ‘निर्वाचनका प्राप्त जनादेश अनुसार नागरिक अपेक्षालाई इमान्दारीताकासाथ पूरा गर्ने प्रयास गछौं ।’
रास्वपाले वाचापत्रमै उल्लेख गरेका विषयलाई कार्यान्वयन गर्न थालेको उनको भनाई छ ।
जेनजी आन्दोलनको जगमा भएको चुनावबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त रास्वपाले जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारवाही, भ्रष्टाचारीमाथि कारवाही, सुशासनको नारा बोकेर मतदातामाझ पुुगेको थियो । सोही अनुसार प्राप्त जनमतका आधारमा एकल सरकार बनेर सुशासनको काम प्रारम्भ गरेको हो । तत्कालीन सरकारबाट उन्मुक्ति पाउँदै आएकाहरूमाथि सरकारले सुरुबाटै कारबाहीको अभियान चलाएर जनताको मन जित्ने काम गरेको पूर्व प्रशासकहरूले बताएका छन् ।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई हिंसात्मक बनाउने कार्यमा संलग्न, भ्रष्टाचारजन्य कार्यमा जोडिएका, विचौलिया र श्रोतविनाको अकुत सम्पत्ति कमाएकाहरूमाथि निर्मम भएर सरकारले अनुसन्धान गर्ने बताएका छन् । कसैलाई नछाड्ने भन्दै उनले मातहत सुरक्षा निकायलाई निर्देशन दिएसँगै प्रहरीको सक्रियतामा उच्च पदस्थतहरू पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको र प्रदर्शनकारीको मृत्यु भएको घटनामा संलग्न भनिएका ‘हाइप्रोफाइल’लाई हिरासतमै राखेर छानबिन भइरहेको छ ।
पूर्वप्रधानमन्त्री ओली विरामी भएर अस्पतालमा छन भने पूर्व प्रजिअ रिजाललाई तारेखमा छाडिएको छ । अन्य व्यक्तिहरू हिराशतमै छन् । ‘वर्तमान सरकारले सुशासनका अभियान चलाउने संकेत गरेको छ’, पूर्वप्रशासक सूर्यबहादुर खत्रीले भने, ‘जनचाहाना अनुसार सरकारले काम गर्न सक्ने जनमत प्राप्त छ । हौसिएर जथाभावि जाने छुट यो सरकारलाई छैन् । बडो सुझबुझपूर्ण ढंगले सरकारले काम गर्नसक्नुपर्छ ।’