
रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले स्यार्पुताल संरक्षण तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार वडा नम्बर ५ स्थित स्यार्पुचौरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवाहरू, पर्यटनकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले स्यार्पुतालको दीगो संरक्षण, सफाइ व्यवस्थापन तथा स्रोत साधनको व्यवस्थित उपयोगबारे विभिन्न सुझाव दिएका थिए । युवाहरूले ताल क्षेत्रबाट उत्खनन हुने बालुवा तथा गिट्टीमा बिचौलियाको हस्तक्षेप अन्त्य गरी टेन्डर प्रक्रियामार्फत पारदर्शी ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । साथै, ताल क्षेत्र सफा राख्ने प्रभावकारी उपायबारे समेत प्रश्न उठाइएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास बिग्रम शाहका अनुसार अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई समेटेर स्यार्पुताल संरक्षणसम्बन्धी आवश्यक विधि र कार्यविधि तयार पारिनेछ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले युवाहरूका सुझाव सकारात्मक रहेको उल्लेख गर्दै गाउँसभामार्फत ताल संरक्षणसम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, सहभागी युवाहरूले स्यार्पुतालसम्म पुग्ने मार्गमा संकेतचिन्ह राख्ने, असोजको पहिलो सातामै बालुवा–गिट्टी व्यवस्थापनका लागि टेन्डर आह्वान गर्ने, पिकनिक तथा भ्रमणका लागि आउने पर्यटकबाट प्रवेश शुल्क (टिकट) व्यवस्था गर्ने तथा त्यसको स्वामित्व गाउँपालिकाले लिनुपर्ने सुझाव दिएका थिए । साथै, ताल वरपरका युवाहरूको क्लब गठन गरी सरसफाइ व्यवस्थापन गर्ने प्रस्तावसमेत गरिएको थियो ।
अन्तरक्रियामा गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत विकास बिग्रम शाह, वरिष्ठ लेखा अधिकृत तेजबहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष मनु शाही, वडा नम्बर ४ का सदस्य विवेक शाही, पर्यटनकर्मी गोपाल केसी लगायतको उपस्थिति रहेको थियो ।