२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

टान नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

ADV
मध्यान्ह
२०८१ साउन २० गते १७:३६
टान नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौंः पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्वका त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी रामसरण थपलिया, राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो । 

साधारणसभाको एक महिना अघिदेखि नै प्रत्यासीहरू उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार र भेटघाटमा सक्रिय भएका छन् । टानका महासचिव विनोद सापकोटाले नेतृत्व सर्वसम्मत चयनका लागि छलफल भइरहेको भन्दै सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुने बताए । उनकानुसार टानमा करिब दुई हजार पदयात्री व्यवसायी आवद्ध छन् ।

अध्यक्षका प्रत्यासी थपलिया तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य छन् । आकाश ट्रेक्स एन्ड एक्सीडिसन प्रालिका प्रबन्धनिर्देशक थपलियाले नेपाल निर्यात परिसङ्घको निवर्तमान उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

टान नेतृत्वमा पुगेको खण्डमा नीतिगत सुधारमा विशेष ध्यान दिने उनले बताए । ‘टानमा नीतिगत कुराको समस्या छ, पुरानो पर्यटन ऐन परिमार्जनका लागि पहल गर्नुपर्नेछ’, थपलियाले भने, ‘आफू कानून क्षेत्रमा पनि आवद्ध भएकोले नीतिगत सुधारमा विशेष ध्यान दिने छु ।’

यस्तै, अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा विगत २० वर्षदेखि पर्यटनमा सक्रिय छन् । नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक छन् । पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवर्दनमा आफ्नो भूमिका केन्द्रीत हुने उनले बताए । ‘पदयात्रा पर्यटन व्यवसाय समस्याग्रस्त छ, स्थानीय निकायले विकास निर्माणको नाममा पदमार्गको अस्तित्व जोखिममा परेको छ । त्यसैले पदमार्ग संरक्षण मेरो पहिलो प्राथमिकता हुन्छ ।’

उनले स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना, मजदुरका समस्या सम्बोधनका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । पाठ्यक्रम मै पदयात्रा पर्यटनलाई समेटेर साहसिक पर्यटनको सम्भाव्य क्षेत्रमा सचेतना अभिवृद्धि गर्न पहल गर्ने सापकोटाको भनाइ छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी सागर पाण्डेले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । टानको पूर्वमहासचिवसमेत रहेका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकता दिने उनको योजना छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise