२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

ADV
मध्यान्ह
२०८१ साउन २० गते १७:५२
राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

ललितपुरः राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गरेका छन् । उनले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन् ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरे । उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए । 

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे । 

भोटेजात्राका अवलोकन गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो । 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।
    
गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा शुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि शुरु भएको विश्वास गरिन्छ । 

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए ।

ADVADV

सम्बन्धित खबर

Advertise