
काठमाडौं : करिब ६ दशक लामो राजनीति यात्राको उत्तरार्धमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि सम्पत्ति शुद्धीकरणविरुद्ध अनुसन्धान भइरहेको छ । पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेसका पूर्वसभापति देउवा र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी ुआरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले मंगलबार पक्राउ पुर्जी जारी गरिसकेको छ । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेका देउवा दम्पती उपचारका निम्ति सिंगापुर गएकामा त्यहाँको बसाइ लम्ब्याएका छन् ।
आफैं गृहमन्त्री हुँदा ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार देउवामाथि अनुसन्धानको सुइ तेर्सिएको हो । सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो । सरकारले देउवा परिवारका नाममा भएको चल–अचल सम्पत्तिसमेत रोक्का गरिसकेको छ । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई फरार सूचीमा राखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
देउवामाथि अनुसन्धानको विषयले राजनीतिकवृत्तमा तरंग उत्पन्न भएको छ । यसलाई कतिपयले स्वाभाविक भनेका छन् । उनीहरूले सत्ता र शक्तिको आडमा अकुत सम्पत्ति कमाएको आरोप छ । भ्रष्टाचार निवारण ऐन २०५९मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
सम्पत्तिसम्बन्धी उनको मुद्दा हेरिरहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल भने देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो नभएको बताउँछन् । ‘सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रमाणले पुष्टि गर्नुपर्छ । कतिपय अवस्थामा राजनीतिक प्रतिशोधकै कारण पनि यस्ता मुद्दाहरू चलाउने परम्परा बसालिएको छ,’ उनले मध्यान्हसँग भने, ‘देउवाको हकमा पनि त्यसले केही काम गर्छ । उक्त मुद्दा न्यायिक परीक्षणमा रहेकाले तथ्य र प्रमाणमा आधारमा सम्मानित अदालतले निर्णय गर्नुपर्छ । यो बलियो मुद्दा होइन ।’
सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएसँगै देउवाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र अझै उपचार जारी रहेको बताएका छन् । आफ्नो र परिवारबारे सम्पत्तिसम्बन्धी विषयमा भ्रामक प्रचार भएको उनको जिकिर छ । उनले भनेका छन्, ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ, अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’
कति छ देउवाको सम्पत्ति ?
देउवाले २०७४मा प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार, डडेलधुरामा बुबाको नाममा ५६ रोपनी जग्गा छ । कञ्चनपुरमा १० बिघा, असर्फी १० थान, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोला हिरा, पन्ना–रुबी र मुगाजडित औंठी रहेको उल्लेख थियो । त्यतिखेर उनको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद रहेको खुलाइएको थियो । उनले सेयर र सवारीसाधन, आरजु देउवाको नाममा रहेको सम्पत्ति र बूढानीलकण्ठस्थित घर, जग्गाको विवरण भने सार्वजनिक गरेका थिएनन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकृतहरूले देउवा दम्पतीले लुकाएको सम्पत्तिको सूचना संकलनका क्रममा केही अचल सम्पत्ति भेटिएपछि थप प्रक्रिया अघि बढेको दाबी गरेको छन् ।
पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले काठमाडौं उपत्यका र बाहिरसमेत करिब ७३ रोपनी जग्गा जोडेको र उक्त सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको रहेको अनुसन्धान विभाग बताउँछ । त्यहीबाट प्रवेश गर्ने क्रममा अरू शंकास्पद कारोबार भएकाले त्यसमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी उत्तमकुमार घिमिरेले जानकारी दिए । केही दिनअघि मात्रै विभागले बूढानीलकण्ठस्थित देउवा निवासमा सुरक्षाकर्मी पठाएर आगजनीको भग्नावशेष भत्काउन रोक लगाएको छ ।
शाही शासनकालका केही सीमित अवधिबाहेक प्रजातन्त्र पुनस्र्थापनापछि निरन्तर सार्वजनिक पदमा रहेका शेरबहादुर देउवा पटकपटक सत्तामा पुगे । उनी पाँचपटक प्रधानमन्त्री भइसकेका नेता हुन् । २०२२ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति सुरु गरेर २५ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय अध्यक्ष भए देउवा । २०५२मा पहिलोपटक प्रधानमन्त्री बने । त्यसपछि २०५८, २०६१, २०७४ र २०७८मा गरी पाँचपटक प्रधानमन्त्री बनेका देउवाको सम्पत्ति कति राजनीति सुरु गर्नुअघि कति थियो र अहिले कति पुग्यो भन्ने यकिन विवरण सार्वजनिक छैन ।
केपी ओली नेतृत्वको पछिल्लो सरकारमा परराष्ट्रमन्त्री बनेकी देउवापत्नी राणाले पनि सम्पत्ति विवरण सार्वजनिक गरेकी थिइनन् । विनोदशमशेर जबराकी छोरी आरजु संविधानसभा सदस्यसमेत गरी तीनपटक प्रतिनिधिसभामा सदस्य बनिन् । त्यसअघि उनी विभिन्न गैरसरकारी संस्थाकी सञ्चालक, विद्यालयलगायत व्यावसायिक क्षेत्रकी लगानीकर्तासमेत हुन् । उनको सम्पत्ति अन्य नेताहरूको तुलनमामा स्वाभाविक बढी नै हुने देउवानिकट नेताहरूले दाबी गरेका छन् ।
यता सरकारले भने देउवा दम्पत्तिलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय स्तरमा ‘रेड नोटिस’ जारी गर्ने तयारी गरेको छ । बूढानीलकण्ठस्थित उनको भग्नावशेष घर पुननिर्माण प्रक्रियासमेत सरकारले रोकेको छ । ‘हाल विदेशमा रहेका देउवा दम्पतीलाई रेड कर्नर नोटिस जारी गरी नेपाल ल्याउने प्रक्रिया थाल्न पक्राउ पुर्जी जारी गरिएको हो । अब रेड नोटिसको प्रक्रिया अब अघि बढाइनेछ’, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने ।
सरकारले देउवासहित अन्य पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।