२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

हेलिकोप्टरको आसमा सशस्त्र प्रहरी

Nada
जीवन शर्मा
२०८३ वैशाख २ गते ०८:२४
Shares
हेलिकोप्टरको आसमा सशस्त्र प्रहरी

काठमाडौं : गत चैत २५ गते गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षणका क्रममा विपद्मा प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपालका लागि दुईवटा हेलिकोप्टर उपलब्ध गराउने आश्वासन दिए । उनले त्यसका लागि कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याड स्टेसन राख्न निर्देशनसमेत दिएका छन् ।  

ncell

विभागीय मन्त्रीले नै विपद्मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताएपछि सशस्त्र प्रहरी बलको मनोबल बढेको छ । वर्षौंदेखि माग गर्दै आए पनि हेलिकोप्टर प्राप्त गर्न नसकेको सशस्त्रका लागि भरोसा दिलाउने प्रयास गुरुङले गरेका छन् । 

अहिलेसम्म सरकारका तर्फबाट हुन नसकेको हेलिकोप्टर व्यवस्थापनको काम नयाँ सरकारका गृहमन्त्रीबाट पूरा हुनेमा विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी लिएको सशस्त्र प्रहरी बल आश्वस्त बनेको छ । तर, सरकारले निर्णय नगरेसम्म ढुक्क हुने स्थिति भने छैन । किनभने सशस्त्र प्रहरीकै लागि व्यवस्था गर्न सरकारसँग हेलिकोप्टर छैन । सशस्त्र प्रहरीका बलका महानिरीक्षक राजु अर्यालले तत्काल उद्धार र राहतका लागि हेलिकोप्टरको अभाव खड्किएको बताएपछि गृहमन्त्री गुरुङले वचन दिए पनि निर्णय कहिले हुन्छ भन्ने निश्चित छैन । अर्यालले संगठनका लागि आफ्नै हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका हुन् । तत्काल त्यो सम्भव नभए सरकारले पूर्ण तयारीमा राख्नका लागि भए पनि उपलब्ध गराउनुपर्ने उनको माग थियो । 

२८ चैत्रमा चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षणमा पुुगेका गुरुङले विपद् सुरु हुनुपूर्वका समस्या र विपद् व्यवस्थापनका क्रममा गर्न सकिने कामबारे दोस्रोपटक ब्रिफिङ लिएका थिए । त्यहाँ पनि प्रहरी अधिकृतहरूले हेलिकोप्टर, केमिकल दमकलसहितका महत्वपूर्ण उपकरण अभाव रहेको सुुनाए । त्यसप्रति आफू सकारात्मक रहेको गृहमन्त्री गुरुङले बताए । 

मन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब ब्यारेकमा नभएर मैदानमा हुनुपर्ने भन्दै नागरिकको जिउ ज्यानभन्दा ठुलो पैसा नहुने बताएका थिए । उनले विपद्मा परेका नागरिकको सेवा सुरक्षार्थ तयारी अवस्थामा रहन पनि निर्देशन दिएका थिए । विभागीय मन्त्रीको निर्देशन र आश्वासन पूरा भए सशस्त्र प्रहरीले यसपटक गृहमातहत रहनेगरी दुुईवटा हेलिकोप्टर पाउनेछ । 

अहिलेसम्म सशस्त्र प्रहरी बलले हेलिकोप्टरलगायत आवश्यक उपकरणको अभाव झेल्दै आएको छ । हेलिकोप्टर, केमिकल दमकलसहितका अत्यावश्यक उपकरणअभावले जिम्मेवारी कार्यान्वयनको प्रभावकारितामा समस्या देखिएको छ । सीमा सुरक्षा, विपत् व्यवस्थापन, दंगा नियन्त्रणलगायत मुख्य जिम्मेवारी वहन गर्ने सशस्त्रका लागि छुट्टै हेलिकोप्टर आवश्यक रहेको भन्दै सरकारसँग माग गरेको वर्षौं भइसके पनि सरकारले व्यवस्था गर्न सकेको छैन । 

यसअघिका गृहमन्त्रीहरूले समेत नेपाल–चीन सीमा सुरक्षाका निगरानी चौकी (बिओपी) र दैवी प्रकोप उद्धारका लागि  सशस्त्र प्रहरीलाई अति आवश्यक रहेको भन्दै हेलिकोप्टर उपलब्ध गराउने आश्वासन दिँदै आए पनि कार्यान्वयनमा नआएको सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी) नारायणदत्त पौडेलले बताए । ‘हामीसँग हेलिकोप्टर प्रयोगको दक्षता छ । पटक पटक सरकारसँग माग गरेको र अघिल्ला गृहमन्त्रीहरूले समेत उपलब्ध गराउने बताएपनि कार्यान्वयनमा आउन सकेको छैन,’ उनले मध्यान्हसँग भने, ‘खासगरी हामीलाई दैवी प्रकोप उद्धार तथा राहत र बिओपीका लागी अतिआवश्यक छ । बिओपीमा अत्यावश्यक औषधि, खाद्यान्न, बन्दोबस्तीका सामग्री र जनशक्ति इमरजेन्सी पठाउनसमेत निजी हेलिकोप्टरहरू प्रयोग गर्दै आएका छौं ।’        

विपद् उद्धार तथा व्यवस्थापनका लागि चाहिने पर्याप्त सामग्री नहुँदा जिम्मेवारी पूरा गर्ने सन्दर्भमा केही अप्ठ्यारा आउने गरेको सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । विपद् उद्धारको मुख्य साधन हेलिकोप्टर आवश्यक पर्दा सशस्त्रले नेपाली सेनालाई गुहार्नुपर्ने बाध्यता छ । सेनाले भनेकै समयमा हेलिकोप्टर उपलब्ध गराइहाल्ने अवस्थासमेत छैन । नेपाली सेनासँग हाल एयरक्र्याफ्टसहित २० वटा हेलिकोप्टर छन् । तीमध्ये विपद् तथा उद्धार कार्यमा सातवटा हेलिकोप्टर प्रयोग हुँदै आएका छन् । 

विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई भए पनि सेना र प्रहरीले समेत जनशक्ति र उपरकरणको उपयोग गर्दै आएको छ । कठिन अवस्थामा चाहिने हेलिकोप्टर, केमिकल दमकलसहितका सामग्रीका लागि अरूकै भर पर्नुपर्दा जिम्मेवारी प्रभावकारी कार्यान्वयनमा समस्या हुने गरेको सशस्त्र प्रहरी बलका अधिकारीहरू बताउँछन् ।   

आफ्नो ज्यानको परवाह नगरी नागरिकको उद्धारमा खटिँदा आवश्यक पर्ने पर्याप्त उपकरण अभाव भएको सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट बताउँछन् । ‘दैवी प्रकोप उद्धारमा गोताखोरको विज्ञता हामीसँग छ,’ उनले भने, ‘तर सरकारले वार्षिक बजेट छुट्याए पनि आवश्यक उद्धार सामग्री अभाव छ ।’ सशस्त्र प्रहरीले लामो समयदेखि नेपाल सरकारसँग हेलिकोप्टरको माग गरे उपलब्ध नभएको उनको भनाइ छ । ‘हाम्रो आफ्नै हेलिकोप्टर भए सजिलो हुन्थ्यो,’ उनले भने, ‘आफ्नै नभएको खण्डमा पनि सरकारबाट हाम्रा लागि एक–दुईवटा डेडिकेटेट हेलिकोप्टर स्ट्यान्डबाइ व्यवस्था होस् भन्ने अपेक्षा छ ।’ आफ्नै हेलिकोप्टर हुँदा प्राकृतिक प्रकोप उद्धार तथा राहतसँगै हिमाली जिल्ला र सीमा सुरक्षाका निगरानी चौकी (बिओपी)मा रहने जनशक्ति, आवश्यक बन्दोबस्तीका सामान, इमरजेन्सी खाद्यान्न सामग्री  ओसारपसारमा समेत सहज हुने उनको भनाइ छ ।  

सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, र अपराध नियन्त्रण, बाढी, पहिरो, भूकम्पजस्ता दैवी प्रकोपमा उद्धार र राहत वितरणमा सहयोग, सशस्त्र विद्रोह, पृथकतावादी, र आतंकवादी गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने, गम्भीर दंगा वा अशान्ति फैलिएको अवस्थामा नियन्त्रण गर्ने सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारी हुन् । त्यस्तै, विशिष्ट व्यक्ति, महत्वपूर्ण संरचना, र सरकारी कार्यालयहरूको सुरक्षा, अपहरण वा अन्य जघन्य अपराध नियन्त्रण, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्नु सशस्त्रको जिम्मेवारीभित्र पर्दछ । 

उल्लेखित जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बललाई प्रकोपको प्रकृतिअनुसार आधुनिक सामग्री आवश्यक हुने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । हालसम्म सबैखालको प्राकृतिक प्रकोप तथा सीमा सुरक्षाका निगरानी चौकी (बिओपी)मा आवश्यक उद्धार, राहत जनशक्ति तथा अन्य सामग्री ओसारपसारमा गृह मन्त्रालयले नेपाली सेनाकै हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । फौज र बन्दोबस्तीका सामान ढुवानीदेखि विपद्का बेला उद्धारमा कठिनाइ हुँदै आएको भन्दै नवगठित सरकारका गृहमन्त्री गुरुङसँग हेलिकोप्टर माग गरिएको हो । 

ताजा खबर

सम्बन्धित खबर