
काठमाडौं : राजधानीको त्रिपुरेश्वरस्थित मुलुककै पुराना विद्यालयमा पर्ने विश्व निकेतन माविले यस वर्ष ४ सय नयाँ विद्यार्थी भर्ना लिँदै छ । तर भर्नाका लागि निवेदन दिने विद्यार्थीको संख्या भने दुई हजारभन्दा बढी छ । विद्यालयमा १ देखि १२ सम्म गरी झन्डै ६ हजार विद्यार्थी अध्ययनरत छन् ।
निजी विद्यालयमा आकर्षण बढिरहँदा विश्व निकेतनमा पढ्न चाहने विद्यार्थीको कमी नहुनुका केही कारण छन् । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार, साना कक्षाहरूमा उदार कक्षोन्नतिको नीति लिइएको छ । यसरी माथिल्लो कक्षामा चढाइएका विद्यार्थीलाई वर्गीकरण गर्दै को कुन विषयमा कमजोर छ त्यसैमा उपचारात्मक कक्षा सञ्चालन हुन्छ । प्रायः अंग्रेजी, विज्ञान र गणितमा धेरै विद्यार्थी कमजोर छन् । त्यस्ता विद्यार्थीलाई विषय शिक्षक र कक्षाशिक्षकले घरमै गएर फलोअपसमेत गर्छन् । साथै, सार्वजनिक बिदाका दिनहरूमा समेत अतिरिक्त कक्षा र परीक्षा लिइन्छ । निरन्तर विद्यार्थीको उपलब्धि जाँचेर कमजोरीको उपचार गरिन्छ । यसबाहेक समयमै कोर्स सकाउने र पछि पर्याप्त अभ्यास गराउने नीति विद्यालयले लिएको छ । कक्षामा सकेसम्म नवीनतम विधिबाट पढाइन्छ । त्यसमा प्रयोगात्मक कक्षा र सूचना प्रविधिमा आधारित पठनपाठनलाई बढी समावेश गरिन्छ ।
‘विद्यालयले अभिभावकसँगको भेटलाई बाक्लो बनाएको छ । वर्षमा कम्तीमा चारपटक अभिवभावकलाई भेट्छौं,’ कँडेल भन्छन्, ‘उनीहरूलाई आफ्ना छोराछोरीको शिक्षा र स्वास्थ्यबारे विशेष ध्यान दिन सम्झाइन्छ । पत्रु खाना नदिन भन्छौं ।’
विश्व निकेतनले चिनियाँ दार्शनिक कन्फुसियसको भनाइलाई कक्षाहरूमा लागू गरेको दाबी गर्छ । अर्थात्, सुनेको बिर्सिन्छ । देखेको सम्झिन्छ । गरेको बुझिन्छ भनेझैं विविध क्रियाकलापबाट पाठ्यवस्तु बुझाउने गरेको शिक्षकहरू बताउँछन् । त्यसैको प्रभाव हुन सक्छ, सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठिरहँदा विश्व निकेतनमा भने अभिभावक र विद्यार्थीको आकर्षण छ । कुनै बेला घट्दै गएका स्थानीय विद्यार्थी तीन प्रतिशतबाट बढेर १५ पुगेको विद्यालयले जनाएको छ ।
कलंकीस्थित ज्ञानोदय माध्यमिक विद्यालयले कक्षा एक देखि ९ सम्म साढे तीन सय विद्यार्थीका लागि भर्ना खुलाएको छ । त्यहाँ पनि निवेदन दिने विद्यार्थीको संख्या करिब दुई हजार पुगेको छ । पोहोर २५ सय नाघेको स्मरण गर्दै विद्यालयका लेखापाल रमेश धिताल सुनाउँछन्, ‘शैक्षिक सत्र सुरु हुने दिनबारे अन्योल छ । भर्ना हुनेबेलासम्म निवेदक अझै बढ्छन् ।’ ज्ञानोदयमा पनि विद्यार्थीको संख्या करिब ६ हजार छ । कक्षा १२ सम्म एक सयभन्दा बढी शिक्षक रहेको यो विद्यालयमा भौतिक सुविधा पनि हरेक वर्ष बढ्दो छ ।
झन्डै चार हजार विद्यार्थी भएको राजधानीकै बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयले गत वर्ष नै स्थानअभावका कारण थप भर्ना लिन नसकिने लिखित जानकारी काठमाडौं महानगरपालिकासमक्ष पठाएको थियो ।
एकातर्फ सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या थामिनसक्नु छ भने अर्कोतर्फ काठमाडौं महानगरमै करिब एक दर्जन सार्वजनिक विद्यालय विद्यार्थीअभावका कारण बन्द भएका छन् । मध्य सहरमा रहेका नवआदर्श, कन्या, कान्तिईश्वरी, सबल देउला, केशचन्द्रजस्ता विद्यालय विद्यार्थी थोरै भएकै कारण नजिकका ठूला विद्यालयमा मर्ज गरिए । यसबाहेक उपत्यकाका अन्य नगरपालिकामा पनि कम्तीमा एक दर्जन सार्वजनिक विद्यालय बन्द भएका छन् । बन्द विद्यालय कति स्थानीय क्लब भवन बनेका छन् त कति सामुदयिक भवनमा परिणत भएका छन् । चालु अवस्थामा रहेकामध्ये पनि थुप्रै विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम छ । कतिपय विद्यालयमा विद्यार्थीभन्दा डेस्क बेन्च बढी छन् ।
विद्यालयमा स्थानीय बासिन्दा वा सचेत अभिभावकको प्रतिधित्व त अझै उदेकलाग्दो छ । सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी निम्नवर्गका छन् । तर, हिजो जुन समुदायले ढुंगा माटो र काठपात जुटाएर विद्यालय स्थापना गर्यो, त्यो वर्ग नै नाति पुस्तालाई निजी विद्यालयतिर पठाइरहेको छ । आधा छाक खाएर भए पनि छोराछोरी बोर्डिङ स्कुलमा राख्ने लहरले एकातर्फ सामुदायिक विद्यालयहरू बन्द हुने स्थितिमा छन् भने अर्कोतर्फ शैक्षिक गुणस्तरमा सुधार हुन सकेको छैन ।
देशभरमा झन्डै पाँच सय सामुदायिक विद्यालयहरू यस्ता पनि छन्, जो भौतिक अवस्था, पढाइको नियमितता, नतिजा र अतिरिक्त क्रियाकलापमा निजी विद्यालयभन्दा उत्कृष्ट छन् । ती विद्यालयमा भर्ना नपाएका विद्यार्थी मात्र निजी विद्यालयमा भर्ना हुन जाने स्थितिसमेत छ ।
ज्ञानोदय माविका पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा कतिपय सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या बढी देखिए पनि नतिजा सन्तोषजनक नदेखिने र विद्यार्थी संख्या सानो भए पनि नजिता राम्रो भएको पाइएको बताउँछन् । मधेशका कतिपय विद्यालयमा विद्यार्थी संख्या राम्रो देखिन्छ, तर त्यसको तुलनामा नतिजा सुधार्न सकिरहेका छैनन् । झापा, मोरङ र सुनसरीका कतिपय विद्यालयले भने विद्यार्थी संख्या, शैक्षिक गुणस्तर र नतिजामा प्रगति गरिरहेको उनी बताउँछन् ।
नतिजा बेग्लै, तलब उही
सरकारले स्थानीय तहमार्फत शिक्षक तथा प्रधानाध्यापकलाई पठाउने पारिश्रमिक स्केल एकैखालको छ । त्यसरी एउटै पारिश्रमिक बुझ्ने प्रधानाध्यापकमध्ये कसैको नेतृत्वले निजी विद्यालयलाई पनि माथ गर्नेगरी प्रगति गरिरहेको देखिन्छ भने अधिकांश विद्यालयमा स्थिति सन्तोषजनक छैन । एक सय ७३ वर्षको औपचारिक शिक्षाको इतिहासमा अधिकांशतः राज्यले दिने एउटै स्रोत र एउटै कानुनी व्यवस्थामा चल्ने विद्यालयहरूमा पनि नतिजा, प्रधानाध्यापक र शिक्षकको लगाव, समुदायको अपनत्व आदिमा आनका तान फरक भेटिन्छ ।
प्रधानाध्यापकको लगावका कारणले बनेको एउटा उदाहरण हो, काठमाडौंको ज्ञानोदय मावि । विसं २०५० सालतिर तत्कालीन प्रधानाध्यापक धनञ्जय शर्माले शैक्षिक र भौतिक अवस्था सुधार्न गरेको मिहिनेतले २० वर्षमै विद्यालय देशकै अब्बल सार्वजनिक विद्यालयमा परिणत हुन पुग्यो । त्यतिबेला कलंकी क्षेत्रका स्थानीय अभिभावकहरूले निजी विद्यालय रोज्दा विद्यार्थी संख्या घट्दो क्रममा पुगिसकेको थियो । त्यस विन्दुबाट विद्यालयलाई हरेक हिसाबले माथि उठाउँदै करिब शतप्रतिशत नतिजा र राम्रो भौतिक संरचनायुक्त विद्यालय बनाउन शर्मा र उनको टिमले सरकारी तलबभन्दा माथि उठेर काम गरेको थियो । ‘खाइपाई आएको तलबअनुसार मैले यत्ति गरे पुग्छ भनिएको भए विद्यालय बन्ने थिएन,’ शर्मा भन्छन् । हरेक प्रधानाध्यापकले विद्यालयको प्रगति–उन्नतिलाई आफ्नो प्रतिष्ठा ठान्नुपर्ने उनी बताउँछन् ।
राजधानीकै चन्द्रागिरी–२मा रहेको कंकालीडाँडाको टुप्पोमा छ, कंकाली मावि । वरपरका बस्ती बेसीमा सरे पनि ५० घरधुरी मात्र बाँकी रहेको अवस्थामा पनि विद्यार्थीको संख्या भने एक हजार पुगेको छ । २०४० सालमा सानो छाप्रोबाट सुरु भएको विद्यालयलाई भौतिक र शैक्षिक रूपमै नमुनायोग्य बनाउन प्रधानध्यापक विष्णुप्रसाद पनेरूले अहोरात्र गरेको परिश्रमलाई अहिले पनि स्मरण गरिन्छ । कक्षामा शिक्षक र विद्यार्थीलाई, कक्षाबाहिर तिनका अभिभावकलाई राम्रो शैक्षिक नतिजाका लागि निरन्तर प्रेरणा दिइरहेको परिणामस्वरूप एसइईको नतिजा धेरै वर्षदेखि ९५ प्रतिशतभन्दा माथि छ । विद्यालयमा यातायात, अत्याधुनिक प्रयोगशाला, ई–पुस्तकालय, नृत्यकक्षा, कक्षा १२ सम्म सबै कक्षामा स्मार्ट बोर्डसहित समग्र भौतिक वातावरण संस्थागत विद्यालयसरह छ ।
सक्षम एवं क्रियाशील नेतृत्व र लगनशील विद्यार्थी भएका सामुदायिक विद्यालयले राम्रो नतिजा दिएको पनेरू बताउँछन् । ‘यहाँ राम्रो हुन्छ भन्ने विश्वास जगाउन सके विद्यालयमा विद्यार्थी बढी हुँदो रहेछ । हाम्रोजस्तो बस्तीभन्दा माथि डाँडाको टुप्पामा रहेको विद्यालयमा पनि विद्यार्थी आए,’ उनी भन्छन् ।
सार्वजनिक विद्यालय किन राम्रा भए ? किन भएनन् ?
शिक्षाविद् डा. विद्यानाथ कोइराला
म अहिले पाल्पाको रामपुरतिर विद्यालय निरीक्षणमै छु । यहाँका सार्वजनिक विद्यालय राम्रा रहेछन् । राम्रो हुनुको मुख्य कारण शिक्षकको प्रतिबद्धता रहेछ । यहाँ टिमवर्क पनि राम्रो भेटियो । शिक्षकहरूबीच एकले अर्कालाई सिक्ने र सिकाउने चलन असाध्यै राम्रो रहेछ । शिक्षक सामाजिक सञ्जालको नेटवर्कमा जोडिएका रहेछन् । उनीहरूबीच कक्षाका विषयवस्तु सेयर हुँदो रहेछ । अभिभावकको घरमै गएर सम्झाउने र बुझाउन जाने चलन रहेछ ।
केही बिग्रिएका सार्वजनिक विद्यालय पनि देखेको छु । मेरो जिम्मेवारी के हो भन्ने नबुझ्ने, तर म फलानो दलको भन्नेचाहिँ प्रधानाध्यापकको कुर्सीमा बसेर पनि सम्झिरहने विद्यालय बिग्रँदा रहेछन् । मधेशतिर चाहिँ प्रधानाध्यापक भएपछि त्योभन्दा माथि जान ठाउँ नहुने हुनाले थप मिहिनेत नै नगर्ने प्रवृत्तिले बिग्रेको रहेछ ।
यसको निकारणका लागि देशका विभिन्न ठाउँका सार्वजनिक विद्यालयले गरेका राम्रा अभ्यासलाई शैक्षिक प्रणालीमा समावेश गरौं भन्ने आह्वान गरिरहेको छु । पहिले पालिकाहरूलाई भनेँ, तिनले पनि गर्न सकेनन् । शिक्षक महासंघलाई भनेको पनि काम लागेन । अहिले देशभरका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल एसोसिएनन अफ नेपाल (पान)लाई भन्दै छु । केही गर्लान् कि ?
वास्तवमा राज्यको उदासीनताका कारण सार्वजनिक शिक्षामा राम्रो गर्ने मान्छे अगाडि आउनै पाएन । निजी स्कुलहरूसँग जसरी सहकार्य हुन सक्थ्यो, त्यसका लागि सार्वजनिक विद्यालयहरूले मेसै पाएनन् । नितान्त शैक्षिक विषय पनि दलको छनोटमा हुने स्थिति बन्यो । उदाहरणका लागि नमुना विद्यालय पनि दलले छाने । त्यसले गर्दा भित्रैदेखि विद्यालय उकास्न लागेका कतिपय प्रधानाध्यापक निरुत्साहित हुने अवस्था बन्यो ।
राम्रो गर्न विद्यालयले जुनसुकै तरिकाबाट पनि राम्रो गर्दै रहेछन् । बुटवलको कालिका माविले पिटी खेलाउने बेलामै अभिभावकदेखि सबैलाई सिकाउँदो रहेछ । सीप आर्जन गर्ने तरिका पनि सिकाउँदो रहेछ । स्रोतसाधनका लागि कतिपय विद्यालयले शुल्क उठाएका पनि छन् । विद्यालय सुधार्ने इच्छा भए, जसरी पनि गर्न सकिँदो रहेछ ।
अहिले सरकारले सबै दलका कुरालाई एकैठाउँमा ल्याएर शिक्षकमा, प्रविधिमा र भौतिक सुविधाकेन्द्रित हुने भनेको छ, यो राम्रो हो । अब त्यसको स्रोत कसरी व्यवस्थापन हुन्छ हेर्नु छ । शिक्षामा निर्णय गर्दा सरकारले आफै सबैथोक जान्दछु भन्यो भने बिग्रिन्छ । सबै पक्ष विचार गरेर निर्णय गरियो भने लागू गर्न पनि सकिन्छ र प्रभाव पनि पर्छ । (कुराकानीमा आधारित)
नेपालकै सबैभन्दा ठुलो सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि
मधेशमै पहिलो, देशभर दोस्रो ठुलो विद्यालय जनता नमुना प्राविधिक मावि
शान्ति नमुना माध्यमिक विद्यालय : अटिजममैत्री कक्षादेखि प्राविधिक शिक्षासम्म
प्राविधिक शिक्षामा अग्रणी नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय
अभिभावकको विश्वास जित्दै पद्मोदय मावि
पूर्वी क्षेत्रकै उत्कृष्ट विद्यालय सुकुना मावि
शिक्षा र सीपमा अब्बल त्रिजुद्ध
उत्कृष्ट नतिजाले बनेको नमुना विद्यालय विश्व निकेतन
निजी विद्यालय छाडेर आउने विद्यार्थीको पहिलो रोजाइ ज्ञानोदय मावि
आइएसओप्राप्त पहिलो सामुदायिक विद्यालय कान्ति मावि