२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

श्रीलंका टप्पुमा पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

Nada
२०८१ साउन २१ गते १५:४५
Shares
श्रीलंका टप्पुमा पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

धरान : सुनसरीको बराहक्षेत्रस्थित श्रीलंका टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए ।

ncell

उनले भने, ‘केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।’

गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरुको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरु बताउँछन् । छ वर्ष अघिसम्म श्रीलंका टप्पुका किसानले धान खेती गर्दैन थिए ।

चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्यो। बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए। तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन् ।

यहाँका अधिकांश कृषकले कोशीपारिका बजार भागलपुर, रामपुर र चक्रघट्टीबाट ल्याएर धानको बियाड राखेका थिए । गरैया कृषि सहकारीले पनि १९ बोरा (छ सय ६५ केजी) धानको बीउ कृषकलाई वितरण गरेको सहकारी संस्थाका अध्यक्ष बद्री राईले जानकारी दिए ।

बराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलंका टप्पु दुई वटा वडाले छोएको छ । वडा न ९ मा सात सय घरधुरी छन् भने वडा न ६ मा दुई सय घरधुरी छन् । हाल कृषकले यहाँ एक सय बिघाहभन्दा बढी क्षेत्रफलमा धान खेती गरेका छन् ।

‘पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपो सुक्न थालेको छ”, कृषक रामभुवन राय यादवले भने । कृषि सहकारीले धानबालीका लागि पाँच सय बोरा मल मौज्दात राखेको छ । विगत वर्षमा मलको अभाव भोग्नुपरेकाले यसवर्ष मल मौज्दात गरिए पनि पानी नपरेकाले खपत हुन नसकेको सहकारीले जनाएको छ ।

‘पानी परेपछि धानबालीमा मल हाल्नुपर्छ, पानी नपरेकै कारण कृषकले सहकारीबाट मल लगेका छैनन्’, गरैया कृषि सहकारीका कोषाध्यक्ष गोल्छा झाले भने । कृषक पानी पर्ने आशामा बसेको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर