२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नारायणी नदी तटबन्धनमा बजेट अभाव

Nada
२०८१ साउन २२ गते ११:०२
Shares
नारायणी नदी तटबन्धनमा बजेट अभाव

चितवन : नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।

ncell

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

आयोजना सबै सम्पन्न गर्न रु तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म रु दुई अर्ब भुक्तानी गरिएको छ । निर्देशक साहले भने, “यस आर्थिक वर्षको असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने छ, तर बजेट छैन ।” चालु आवका लागि विनियोजन गरिएको रकम गत वर्षको भुक्तानीमा गइसकेकाले यस वर्ष काम गर्नका लागि बजेट नभएको उनको भनाइ छ ।

उनले भने, “चालु आवमा ठेक्काअनुसार काम सम्पन्न गर्न कम्तीमा रु एक अर्ब ९५ करोड आवश्यक छ ।” तटबन्ध गरिएका क्षेत्रमा नदीले कटान नसकेको जनाउँदै उनले यही अवस्थामा निर्माण कम्पनीलाई काम लगाउन आफूले नसकेको उनले बताए । आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्को एउटाको भुक्तानी दिन बाँकी छ । नवलपरासीतर्फ छवटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ । यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ ।

आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । दुई जिल्लामा गरी ११ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ प्याकेजमा ठेक्का लगाइएको थियो ।

निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताए। निर्माण कम्पनीहरूले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उनले बताए ।  उनले भने, “समयमा भुक्तानी गर्न नसक्दा काम लगाउन सकिएको छैन ।” नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव पाँच किलोमिटर तटबन्ध गर्न लागिएको हो । तटबन्धको काम गरिएसँगै काम भएका क्षेत्रमा बाढीबाट जोगिएका छन् । 

ताजा खबर

सम्बन्धित खबर