
प्रधानमन्त्री वालेन्द्र शाहले सत्ताको बागडोर सम्हालेको करिब एक महिना बित्दै गर्दा, नेपाली राजनीतिको रंगमञ्चमा शंखध्वनिसहितको शपथ ग्रहणको प्रतिध्वनि विस्तारै मत्थर हुँदै छ । ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझैं, कार्यभार सम्हालेकै दिन पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई हतकडी लगाउने मन्त्रिपरिषद्को निर्णयले सत्ताधारी दल पुराना शक्तिविरुद्ध ‘महाभारतको युद्ध’ नै छेड्न उद्यत रहेको सन्देश दिएको थियो । महाभारतमा शंखघोषलाई युद्धको सुरुआत र अन्त्य दुवैको संकेत मानिन्थ्यो । तर, सरकारको यो कदम युद्धको शंखघोषभन्दा पनि सस्तो लोकरिझ्याइँ मात्र थियो भन्ने कुरा तब प्रमाणित भयो, जब अदालतले ती नेताहरूलाई कि त सप्रमाण मुद्दा चलाउन, कि थुनामुक्त गर्न आदेश दियो । भदौ २३ गतेको घटनामा जोडिएका उनीहरूलाई अन्ततः मुद्दा नचलाई रिहा गरिनुले राज्य संयन्त्र न्यायप्राप्तिको हुटहुटीले भन्दा पनि प्रतिशोधको कच्चा भावनाले निर्देशित रहेको घामजस्तै छर्लंग भएको छ । राज्यसत्ता सबैको अभिभावक बन्नुपर्नेमा ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं आफ्ना कमजोरी लुकाउन प्रतिशोधको तरबार उजाउन थालेपछि भोलिका दिनमा कुशासनको नयाँ शृंखला नथपिएला भन्न सकिन्न ।
विश्व इतिहास र समाजशास्त्रले के प्रमाणित गरेको छ भने कुनै पनि देशको समाजमा मुख्यतया तीनवटा शक्तिहरू– यथास्थितिवादी, रूपान्तरणवादी र पुनरुत्थानवादी बीच निरन्तर संघर्ष चलिरहेको हुन्छ । जब रूपान्तरणका वैधानिक र प्रजातान्त्रिक ढोकाहरू बन्द गरिन्छन्, तब समाजमा विस्फोट अवश्यम्भावी हुन्छ । सन् २०१०को अरब वसन्त, ०२२ को श्रीलंकाको विद्रोह, २०२४को बंगलादेश र २०८२ भदौको नेपाली विद्रोह पनि त्यसैको ज्वलन्त उदाहरण थियो । लामो समयदेखि नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरू लेउ लागेर गन्हाउने जमेको पोखरीमा परिणत भएका थिए, जहाँ स्वच्छ पानीको प्रवाह र मुहान दुवै ठप्प थियो । यी दलका नेतृत्वले ‘आलोपालो सत्ता’ र पदलोलुपतालाई नै लोकतन्त्रको पर्याय ठान्दा नागरिकको धैर्यको बाँध टुट्यो । परिणामस्वरूप, विद्रोहको आँधीबेहरीले यथास्थितिवादी पर्खालहरूलाई भत्काएरै छाड्यो र समाज लामो समय पछाडि फर्कन नसक्ने गरी नयाँ मार्गमा मोडियो ।
यसै राजनीतिक हुरीबतासका बीच नेपाली कांग्रेसले २०८२ पुसमा विशेष महाधिवेशन गरेर ‘बदलिएको कांग्रेस’को नारा तन्कायो । तेस्रो पुस्ताका नेताहरूले सामाजिक सञ्जालको सतही ‘लाइक, कमेन्ट र सेयर’लाई नै जनताको असली जनमत सम्झिने भयंकर भुल गरे । ‘आकाशको फल आँखा तरी मर’ भनेझैं, विनाधरातलीय यथार्थ सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उनीहरूले महाभारतको ‘कृष्ण’ बनेर चमत्कार गर्ने दिवास्वप्न देखे । तर, परिणाम कस्तो आयो भने कांग्रेसको हैसियत २०१६ सालको गोर्खा परिषद्भन्दा पनि तल खुम्चिन पुग्यो । जनताले कांग्रेसलाई धुलो चटाइदिए । यद्यपि, यो लज्जास्पद पराजय कांग्रेसको लोकतान्त्रिक सिद्धान्तप्रतिको अस्वीकृति थिएन, बरु उनीहरूको अहंकार, अलोकप्रिय नेतृत्व र सत्ता–उन्मादप्रतिको निर्मम प्रहार थियो ।
भदौ २४ गतेको विध्वंश र त्यसपछिको राजनीतिक परिणामलाई केवल राजनीतिक असन्तुष्टिको चस्माले मात्र हेरेर पुग्दैन । नेपाली समाजको मनोविज्ञानमा अर्को एउटा खतरनाक रोग सुषुप्त अवस्थामा छ– त्यो हो ‘ईष्र्यावाद’ । ‘आफू पनि नगर्ने, अरूले गरेको पनि देखिनसहने’ परम्परागत डाहले गर्दा देशलाई कर तिर्ने, हजारौंलाई रोजगारी दिने र अर्थतन्त्र धान्ने सयौं उद्यमीका कारखाना, व्यापारिक प्रतिष्ठान, निजी निवास र अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरू खरानी बनाइए । पुँजीपति र उद्यमीहरूलाई सम्मान गर्नुको साटो जसरी लुटपाट मच्चाइयो, त्यसले नेपालबाट उद्यमशीलता नै पलायन हुने भयावह स्थिति सिर्जना गर्यो ।
फागुन २१को निर्वाचन परिणाम पुराना दलहरूप्रतिको मौन तर शक्तिशाली विद्रोहको उपज थियो, जसमा विदेशमा पसिना बगाइरहेका युवा र उनीहरूमा आश्रित परिवारको निर्णायक भूमिका रह्यो । यो निर्वाचनले नेपालको राजनीति अब रेमिट्यान्स पठाउने हातहरूले उतैबाट नियन्त्रण गर्न थालेका छन् भन्ने स्पष्ट सन्देश दिएको छ । अहिलेको पुस्ता ‘इन्स्ट्यान्ट’ परिणाम र तत्काल निर्णय खोज्ने ‘क्षणिकवादी’ बनेको छ । रास्वपा र वालेन्द्र शाहको उदय यही लोकप्रियतावादी छालको परिणाम हो, जहाँ विचार र सिद्धान्तभन्दा पनि तत्काल देखिने ‘एक्सन’ पहिलो रोजाइमा पर्छ ।
यतिबेला वर्तमान सरकार आफ्नो ‘मधुमास’ (हनिमुन पिरियड) मनाइरहेको छ । तर, यो सरकार कुनै ठोस सैद्धान्तिक धरातल र दीर्घकालीन दूरदृष्टिमा उभिएको छैन । सस्तो लोकप्रियताका लागि चालिने कदम र स्टन्टबाजीले केही समय सामाजिक सञ्जालमा ताली त पक्कै पाउला, तर देशको जटिल अर्थतन्त्र र कूटनीति यसरी चल्न सक्दैन । कूटनीतिक अपरिपक्वता, जनतासँगको संवादहीनता र लघुताभासबाट ग्रसित सरकारी कार्यशैलीले भोलिका दिनमा गम्भीर संकट निम्त्याउने संकेत गरिसकेका छन् । ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ भनेजस्तो, जनताको दैनिक जीवनस्तरमा तात्विक परिवर्तन नआएसम्म सत्तामा को पुग्यो र कसले शंख बजायो भन्ने कुराले कुनै दीर्घकालीन अर्थ राख्दैन । अहिलेको क्षणिकवाद र लोकप्रियतावादको आयु कति लामो छ र यसले जनताका आकांक्षालाई कति सम्बोधन गर्छ, त्यो त भविष्यको गर्भमै छ । तत्कालका लागि भने धैर्यताका साथ ‘पर्ख र हेर’को नीति अपनाउनुको विकल्प हामीसँग छैन ।