२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

विचारको उज्यालो छोडेर गएका खप्तड बाबा

Nada
नारायणबहादुर बस्नेत
२०८३ मंसिर ९ गते ०६:००
Shares
विचारको उज्यालो छोडेर गएका खप्तड बाबा

मानिस इतिहासमा दुई तरिकाले बाँच्छ– एउटा शरीरले, अर्को विचारले । शरीर समयसँगै समाप्त हुन्छ, तर विचार पुस्तौंसम्म बाँच्छ र नयाँ पुस्तालाई बाटो देखाइरहन्छ । खप्तड बाबा त्यस्तै व्यक्तित्व थिए, जसको जीवन एउटा सन्तको कथा मात्र होइन, ज्ञान, साधना, दर्शन र मानव कल्याणप्रतिको समर्पणको उदाहरण पनि हो ।

म स्वयं खप्तडी बस्नेत वंशसँग सम्बन्धित व्यक्ति भएकाले खप्तड क्षेत्र, खप्तड बाबा र त्यससँग जोडिएका ऐतिहासिक तथा आध्यात्मिक विषयबारे लेख्नु आफ्नो दायित्व ठान्छु । खप्तड मेरो लागि एउटा भौगोलिक क्षेत्र मात्र होइन, इतिहास, संस्कृति र आध्यात्मिक चेतनासँग जोडिएको महत्त्वपूर्ण विरासत हो । यही भूमिलाई आफ्नो तपोभूमि बनाएर खप्तड बाबाले नेपाली समाजलाई विचार र दर्शनको अमूल्य सम्पदा दिए ।

विभिन्न स्रोतमा उल्लेख भएअनुसार खप्तड बाबा भारतको कस्मिरमा बसोबास गर्ने परिवारमा जन्मिएका थिए । उनले कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेका र बेलायतबाट शल्यचिकित्सासम्बन्धी उच्च शिक्षा हासिल गरेका थिए । चिकित्सा क्षेत्रमा स्थापित हुन सक्ने क्षमता र अवसर हुँदाहुँदै उनले भौतिक सफलताको बाटो छाडेर आत्मिक ज्ञानको खोजी रोजे । शरीरको उपचारमा दक्ष चिकित्सकका रूपमा सुरु भएको उनको यात्रा अन्ततः मन, विचार र चेतनाको अध्ययन गर्ने साधकको यात्रामा बदलियो ।

काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शनको अध्ययन र अध्यापनपछि उनी साधनाको खोजीमा नेपाल आए । विक्रम संवत् १९८६ सालतिर नेपाल प्रवेश गरेका उनले अन्ततः सुदूरपश्चिमको खप्तड क्षेत्रलाई आफ्नो साधनास्थल बनाए । झन्डै पाँच दशक खप्तडमा बिताएका उनी स्वामी सच्चिदानन्द सरस्वतीका नामले पनि चिनिए । उनको साधना, सादा जीवन र गहन चिन्तनका कारण खप्तड क्षेत्रले आध्यात्मिक पहिचान पायो ।

खप्तड बाबाको योगदान ध्यान र तपस्यामा मात्र सीमित थिएन । उनले जीवन, समाज, स्वास्थ्य, कर्तव्य र मानवीय सम्बन्धबारे गहिरो चिन्तन प्रस्तुत गरे । ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’, ‘म र मेरो कर्तव्य’, ‘स्वास्थ्य विज्ञान’लगायत झन्डै डेढ दर्जन पुस्तक उनका वैचारिक योगदानका प्रमाण हुन् । ती कृतिमार्फत उनले अध्यात्मलाई कर्मकाण्डमा सीमित नराखी मानिसको दैनिक जीवन र व्यवहारसँग जोड्ने प्रयास गरे ।

उनको चर्चित पुस्तक ‘विचार विज्ञान’मा मानिसको जीवन निर्माणमा विचारको भूमिकालाई विशेष महत्त्व दिइएको छ । उनको भनाइ थियो, ‘मानसिक स्वतन्त्रता मनुष्यको सबभन्दा ठुलो जित हो ।’ मानिस बाहिरबाट स्वतन्त्र देखिए पनि भय, लोभ, क्रोध, द्वेष र नकारात्मक सोचको बन्धनमा छ भने वास्तविक स्वतन्त्रता प्राप्त गर्न सक्दैन भन्ने सन्देश यसमा लुकेको छ ।

खप्तड बाबाले विचारलाई मानिसको कर्म र भाग्य निर्माण गर्ने आधार माने । ‘यदि तिमी आनन्द, आरोग्य र ऐश्वर्य चाहन्छौ भने विचारहरूलाई शुद्ध बनाउने अभ्यास गर’ भन्ने उनको भनाइले सकारात्मक चिन्तनको महत्त्व बुझाउँछ । उनका अनुसार मन खेतजस्तै हो । त्यसमा जस्ता विचारका बीउ रोपिन्छन्, जीवनमा त्यस्तै परिणाम देखिन्छन् । त्यसैले मनमा प्रेम, दया, क्षमा, परोपकार र आशाका विचार रोप्नुपर्छ ।

उनले आत्मविश्वासलाई पनि सफल जीवनको आधार माने । ‘म समर्थ छु, जुनसुकै काम पनि जब म हातमा लिन्छु, त्यसलाई अवश्य पूरा गर्नेछु’ भन्ने उनको प्रेरणादायी मन्त्रले मानिसलाई आफ्नै क्षमतामाथि विश्वास गर्न सिकाउँछ । उनले मौनता, एकान्तमा आत्मविश्लेषण, वाणीको संयम र मनको शुद्धतालाई पनि उत्तिकै महत्त्व दिए । निर्धन र दुःखीको सेवामा भगवान् देख्नुपर्ने तथा शत्रुप्रति पनि क्षमाभाव राख्नुपर्ने उनको शिक्षाले मानवतावादी दृष्टिकोण प्रस्तुत गर्छ ।

उनले मानिसको अहित हात वा वचनले मात्र नभई मनले पनि गर्न सक्ने चेतावनी दिएका थिए । नराम्रो विचारले पहिले आफैंलाई र त्यसपछि अरूलाई क्षति पु¥याउँछ भन्ने उनको मान्यता थियो । त्यसैले विचारको शुद्धता व्यक्तिगत शान्तिका लागि मात्र होइन, सामाजिक सद्भावका लागि पनि आवश्यक छ ।

आज मानिससँग सुविधा र प्रविधि बढेका छन्, तर मानसिक शान्ति र आत्मसन्तुष्टिको खोजी पनि उत्तिकै छ । यस्तो समयमा खप्तड बाबाका विचारले मानिसलाई आफूभित्र फर्केर हेर्न, सोच सुधार्न र अरूप्रति मानवीय व्यवहार गर्न प्रेरित गर्छन् । उनको योगदानको महत्त्व यहीँ छ– उनले मानिसलाई बाहिरी उपलब्धिभन्दा आन्तरिक विकासतर्फ ध्यान दिन सिकाए ।

खप्तड बाबा शरीरले हामीबीच छैनन्, तर उनका विचार, पुस्तक र शिक्षाले उनलाई जीवित राखेका छन् । उनको जीवनले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ– मानिसको वास्तविक सम्पत्ति उसले कति जोड्यो भन्ने होइन, उसले समाज र मानवताका लागि कस्तो विचार र योगदान छाडेर गयो भन्ने हो । खप्तड बाबाले छाडेको विचारको उज्यालो यही अर्थमा पुस्तौंसम्म फैलिरहनेछ ।

laxmi recruitement

सम्बन्धित खबर