२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

कूटनीतिमा परिणामको खोजी

Nada
आरपी गैरे
२०८३ मंसिर ९ गते ०६:०५
Shares
कूटनीतिमा परिणामको खोजी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई सामान्य कूटनीतिक औपचारिकताका रूपमा मात्र बुझ्नु उचित हुँदैन । नेपालको नयाँ राजनीतिक परिस्थितिमा भएको यस भ्रमणले दुई देशबीचको सम्बन्ध कुन दिशामा अघि बढ्ने भन्ने प्रश्नलाई बहसमा ल्याएको छ । परिवर्तनको नारासहित सत्तामा आएको नेतृत्वले परम्परागत कूटनीतिभन्दा परिणाममुखी सम्बन्ध निर्माण गर्न सक्छ कि सक्दैन भन्ने चासो यससँग जोडिएको छ ।

पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि भारत रोज्नु अर्थपूर्ण छ । भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, खुला सीमा, व्यापारिक निर्भरता तथा धार्मिक–सांस्कृतिक सम्बन्धले भारतलाई नेपालको विशिष्ट साझेदार बनाएको छ । नेपालको अर्थतन्त्र, व्यापार, ऊर्जा, पारवहन र क्षेत्रीय कूटनीति भारतसँग प्रत्यक्ष जोडिएका छन् । त्यसैले सम्बन्ध सन्तुलित, सम्मानजनक र परिणाममुखी बनाउनु नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो ।

यसपटक सार्वजनिक भएका १९ उपलब्धि र संयुक्त दृष्टिकोण दस्ताबेजले सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने सम्भावना देखाएका छन् । तर कूटनीतिक दस्ताबेजमा उपलब्धि थपिनु र जनताको जीवनमा परिवर्तन आउनु फरक कुरा हुन् । मुख्य प्रश्न सहमतिहरूले कति छिटो र प्रभावकारी रूपमा परिणाम दिन सक्छन् भन्ने हो ।

ऊर्जा, पूर्वाधार र पारवहनसम्बन्धी सहमति नेपालको आर्थिक भविष्यसँग प्रत्यक्ष जोडिएका छन् । तल्लो अरुण जलविद्युत् परियोजना, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण, सिलिगुडी–झापा पाइपलाइन, झापामा पेट्रोलियम भण्डारण गृह, रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण र थप बन्दरगाह पहुँचले आर्थिक गतिविधिलाई नयाँ आधार दिन सक्छन् । धार्चुला–दार्चुला मोटरेबल पुल, सीमा पूर्वाधार, एकीकृत जाँचचौकी तथा अयोध्या–जनकपुर सम्पर्कले आवागमन सहज बनाउन सक्छन् ।

तर पूर्वाधार निर्माण आफैंमा समृद्धि होइन । सडकले उत्पादन बजारसम्म पु¥याउनुपर्छ, रेलमार्गले व्यापार र यात्रालाई सस्तो बनाउनुपर्छ, पाइपलाइनले आपूर्ति सुरक्षा र लागतमा सुधार ल्याउनुपर्छ । जलविद्युत् उत्पादनसँगै बजार सुनिश्चित हुनुपर्छ । पूर्वाधारलाई उत्पादन, उद्योग, व्यापार र रोजगारीसँग जोड्न नसकिए आर्थिक प्रतिफल सीमित हुन्छ ।

भारतले घोषणा गरेको भारु १५ हजार करोडको आर्थिक सहयोग प्याकेजमा भारु ३ हजार ५०० करोड अनुदान र भारु ११ हजार ५०० करोड ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण समावेश छन् । यो महत्त्वपूर्ण अवसर हो । तर ऋण तथा अनुदानको सदुपयोग, परियोजना छनोट, लागत नियन्त्रण र प्रतिफल सुनिश्चित गर्नु नेपालको जिम्मेवारी हो । बाह्य सहयोगले विकासको ढोका खोल्न सक्छ, त्यसलाई परिणाममा बदल्ने क्षमता आफ्नै हुनुपर्छ ।

नेपालको चुनौती आर्थिक निर्भरतालाई साझेदारीमा बदल्नु हो । भारत नेपालको ठुलो व्यापारिक साझेदार र नेपाली वस्तुको महत्त्वपूर्ण बजार भए पनि निर्यातको तुलनामा आयात ठुलो छ । यसले व्यापार घाटा र स्वदेशी उत्पादनको कमजोर अवस्था देखाउँछ । भारतसँगको सम्बन्धलाई वस्तु आयात र सहयोग प्राप्त गर्ने सीमामा राख्नु हुँदैन ।

कृषि प्रशोधन, जडीबुटी, फलफूल, दुग्धजन्य पदार्थ, चिया, कफी, हस्तकला, सूचना प्रविधि र पर्यटनमा संयुक्त लगानीको वातावरण बनाउन सकिन्छ । सीमावर्ती क्षेत्रमा कृषि प्रशोधन उद्योग र औद्योगिक ग्राम विकास गर्न सकिन्छ । नेपाली कच्चापदार्थ, श्रम र सम्भावनालाई भारतीय पुँजी, प्रविधि तथा बजारसँग जोड्न सके दुवै देशले लाभ लिन सक्छन् ।

ऊर्जा नेपाल–भारत आर्थिक सम्बन्धको सम्भावनायुक्त आधार हो । नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतको ऊर्जा माग, बजार तथा प्रसारण पूर्वाधारबीच सहकार्य भए विद्युत् निर्यातबाट आम्दानी हुन सक्छ । तर ऊर्जा व्यापार निर्यातमा मात्र सीमित हुनु हुँदैन । आन्तरिक खपत बढाउने, विद्युतीय यातायात विस्तार गर्ने र उद्योगलाई सस्तो ऊर्जा उपलब्ध गराउने नीति पनि आवश्यक छ । नेपालले विद्युत् बेच्ने मात्र होइन, त्यसको उपयोगबाट उत्पादन र रोजगारी सिर्जना गर्ने अर्थतन्त्र बनाउनुपर्छ ।

भ्रमणमा संस्थागत तथा प्राविधिक सहकार्यका विषय पनि समेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय, राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत संस्थाबीचको सहकार्यले प्रशासन तथा सुरक्षा संयन्त्रलाई आधुनिक बनाउन सक्छ । स्वास्थ्य, आयुर्वेद, पशुपन्छी तथा मत्स्य विकास, सुशासन, दिगो सहरी विकास र भू–उपग्रह सञ्चारका पहल पनि महत्त्वपूर्ण छन् । तर यस्ता सहकार्य हस्ताक्षर समारोहमा सीमित हुनु हुँदैन । नेपाली कर्मचारीले कस्तो तालिम पाउने, कुन प्रविधि भित्रिने र नागरिकले प्रत्यक्ष लाभ कसरी पाउने भन्ने स्पष्ट हुनुपर्छ ।

दुवै देशले साझा रूपमा सामना गरिरहेका विपद् र जलवायु परिवर्तनका चुनौतीलाई पनि प्राथमिकता दिनुपर्छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमताल विस्फोटको जोखिम, बाढी, पहिरो र नदीको बहावमा परिवर्तनले दुवै देश प्रभावित हुन्छन् । मौसम पूर्वानुमान, नदीको जलस्तर मापन, पूर्वसूचना प्रणाली, उद्धार तथा राहतका संयुक्त अभ्यास र जोखिम न्यूनीकरणमा सहकार्य आवश्यक छ । विपद्पछि राहत दिनुभन्दा जोखिम पहिचान र क्षति न्यूनीकरणमा जोड दिनुपर्छ ।

सहकार्यसँगै राष्ट्रिय हित र सार्वभौमिकताका प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् । खुला सीमा, सीमा व्यवस्थापन, व्यापारिक असन्तुलन, पारवहन र विगतका सन्धि–सम्झौतासँग जोडिएका विषयमा नेपालको आफ्नै संवेदनशीलता छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद नेपालको राष्ट्रिय सरोकार हो । यस्ता विषय बेवास्ता गरेर सम्बन्ध बलियो भएको मान्न सकिँदैन ।

नेपालले आफ्नो राष्ट्रिय अडान स्पष्ट राख्दै संवादबाट समाधान खोज्नुपर्छ । भारतले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र समान सम्मानको भावनालाई व्यवहारमा आत्मसात् गर्नुपर्छ । असल छिमेकी सम्बन्धको आधार शक्ति र आकारको असमानता होइन, पारस्परिक सम्मान र विश्वास हो । नेपालले स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ भने भारत पनि नेपाललाई सुरक्षा र रणनीतिक चासोबाट मात्र हेर्ने सोचबाट माथि उठ्नुपर्छ ।

प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनलगायत विगतमा उठेका विषयलाई संवादबाट सम्बोधन गर्नु आवश्यक छ । विगतका असहमति समाधान गर्दै भावी पुस्ताका लागि नयाँ समझदारी निर्माण गर्न सके सम्बन्धले स्थायित्व पाउँछ । दुवै देशले आगामी दशकका लागि व्यापार, ऊर्जा, शिक्षा, प्रविधि, पर्यटन, सुरक्षा र जलवायु सहकार्यको साझा मार्गचित्र बनाउनुपर्छ ।

प्रधानमन्त्री शाहको भ्रमण करिब २५ घण्टाको थियो । यति छोटो समयमा सबै विषय समेट्न सम्भव थिएन । तथापि भारतका प्रमुख राज्यका नेतृत्व, उद्योगी, लगानीकर्ता, शैक्षिक तथा प्राविधिक संस्थाका प्रतिनिधि र प्रवासी नेपाली समुदायसँग थप संवाद हुन सके आर्थिक तथा सामाजिक प्रभाव अझ व्यापक बन्न सक्थ्यो । विशेषगरी उत्तर प्रदेश, बिहार र सीमावर्ती राज्यसँग व्यापार, पर्यटन, शिक्षा तथा सांस्कृतिक सम्बन्ध संस्थागत गर्ने अवसर बाँकी छ । यस्ता संवादलाई प्रधानमन्त्री तहमा मात्र सीमित नराखी प्रदेश, निजी क्षेत्र र नागरिक तहसम्म विस्तार गर्नुपर्छ ।

अब महत्त्वपूर्ण जिम्मेवारी नेपाल सरकारकै काँधमा छ । सहकार्यका क्षेत्र विस्तार गर्ने भारतीय प्रतिबद्धताको लाभ लिन नेपालले प्रशासनिक क्षमता, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, नीतिगत स्थिरता र निजी क्षेत्रप्रतिको विश्वास बलियो बनाउनुपर्छ । यी आधार कमजोर भए बाह्य सहयोगले अपेक्षित प्रतिफल दिन सक्दैन । सम्झौताहरूको कार्यान्वयनमा समयसीमा तोक्ने, जिम्मेवार निकाय निर्धारण गर्ने, नियमित अनुगमन गर्ने र प्रगति सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्छ । सरकार परिवर्तन भए पनि राष्ट्रिय हितका परियोजना निरन्तर सञ्चालन हुने संस्थागत आधार आवश्यक छ ।

भ्रमणको सफलता १९ उपलब्धिको संख्याले निर्धारण गर्ने छैन । नेपाली युवाले स्वदेशमै रोजगारी पाउने अवस्था कति सुधारियो, नेपाली उत्पादनले बजार कति पायो, विद्युत् व्यापारबाट आम्दानी कति बढ्यो, सीमा पूर्वाधार कति प्रभावकारी बने, व्यापार घाटा घटाउन कस्तो प्रगति भयो र संवेदनशील विषयमा कति विश्वास निर्माण भयो भन्ने आधारमा यसको मूल्यांकन हुनेछ । कूटनीतिक उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब नागरिकले त्यसको अनुभूति दैनिक जीवनमा गर्न सक्छन् ।

नेपालले अवसर उपयोग गर्ने क्षमता विकास गर्नुपर्छ र भारतसँगको सम्बन्धलाई सहयोग प्राप्त गर्ने माध्यमबाट आर्थिक रूपान्तरणको साझेदारीमा बदल्नुपर्छ । भ्रमणले सम्भावनाको ढोका खोलेको छ । अब त्यो ढोकाबाट अघि बढ्ने जिम्मेवारी दुवै देशको नेतृत्वमा छ । नेपालका लागि यो घोषणा र सम्झौतामा रमाउने होइन, कार्यान्वयनबाट विश्वास आर्जन गर्ने समय हो । कूटनीतिक सम्बन्धको वास्तविक उचाइ नेताहरूका अभिव्यक्तिले होइन, नागरिकले पाउने अवसर, सुविधा र समृद्धिले निर्धारण गर्छ ।

(गैरे लेखक तथा पत्रकार हुन् ।)

laxmi recruitement

सम्बन्धित खबर