
केही समयअघि इलन मस्क (स्पेसएक्स र टेस्लाका मालिक)ले भनेका थिए कि आगामी २० वर्षभित्र कृत्रिम बुद्धिमत्ताका कारण मानिसलाई काम गर्नुपर्ने आवश्यकता नै रहने छैन । मानिसले काम केवल रुचिका लागि मात्र गर्नेछन् । मस्कभन्दा अगाडि, एआईका ‘गडफादर’ मानिने जेफ्री हिन्टनले बारम्बार चेतावनी दिँदै आएका छन् कि भविष्यमा ठुलो संख्यामा रोजगारी समाप्त हुनेछन्, तर यति धेरै बेरोजगारका लागि कुनै पनि सरकारसँग ठोस योजना हुने छैन ।
जहाँ हिन्टन यो अवस्थालाई गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्छन्, त्यहीँ मस्क यसलाई मानौं सुनौलो भविष्यको संकेतजस्तो देखाउँछन्, खाऊ, पिऊ, रमाऊ, काम गर्नै पर्दैन । मेसिनहरू, जसले अहिलेसम्म सोच्न सक्दैनथे, अब मानिसभन्दा अघि सोच्ने र सबै प्रकारका काम गर्ने अवस्थामा पुग्नेछन् ।
यसबीच केही मानिसहरूले गम्भीर चिन्ता पनि व्यक्त गरेका छन्, कहीँ यस्तो नहोस् कि मेसिनहरूले मानिसविरुद्ध नै विद्रोह गरून् र मानव सभ्यतामै संकट आउन सकोस् । हलिउडका धेरै फिल्महरूले यस्तै कल्पना प्रस्तुत गरिसकेका छन्, जहाँ मेसिनहरू मानवलाई समाप्त गर्न उद्यत देखिन्छन् । केही वर्षअघि दुई कम्प्युटरहरूले आफ्नै कोड भाषा विकास गरेको घटना पनि चर्चामा आएको थियो, जसलाई वैज्ञानिकहरूले तुरुन्तै रोकेका थिए । हिन्टन त यहाँसम्म भन्छन् कि भविष्यमा एआईले के सोचिरहेको छ भन्ने कुरा बुझ्नै गाह्रो हुन सक्छ ।
यदि मस्कको भविष्यवाणी २० वर्षमा सत्य भयो भने, त्यसले निकै डरलाग्दो तस्बिर देखाउँछ । जब मानिससँग कुनै काम नै हुँदैन, तब उसले गर्ने के ? किसानले खेती गर्दैनन्, पसलेले पसल चलाउँदैनन्, कारखानामा मानिस हुँदैनन् । गाडी, रेल सबै आफैं चल्छन् । अस्पतालमा डाक्टर पनि मेसिन नै हुन्छन् । यस्तो अवस्थामा पढाइ–लेखाइ वा नयाँ कुरा सिक्ने आवश्यकतासमेत किन रहने ? अनि विश्वका आठ अर्बभन्दा बढी मानिसहरूको जीवन कसरी चल्ने ?
मानव विकासको इतिहास हेर्दा, एक समय मानिससँग पुच्छर र सिङजस्ता अंगहरू थिए भन्ने भनाइ छ । तर, जब ती आवश्यक रहेनन्, प्रकृतिले आफैं हटाइदियो । आज पनि कहिलेकाहीँ यस्ता अंगसहित जन्मिएका शिशुहरू समाचार बन्छन् । भनिन्छ, गर्भावस्थाको सुरुआती चरणमा शिशुमा पुच्छरजस्तो संरचना देखिन्छ, तर समयसँगै हराउँछ । अर्थात्, आवश्यक नभएका अंगहरू प्रकृतिले हटाउँदै जान्छ । के भविष्यमा हाम्रो मस्तिष्कसँग पनि यस्तै हुनेछ ? यदि हामीले कुनै सीप लामो समयसम्म प्रयोग गरेनौं भने, त्यो बिर्सिंदै जान्छौं । के हजारौं वर्षमा सिकिएका ज्ञान र सीपहरू हराउनेछन् ?
अर्कोतर्फ, यदि मानिससँग कुनै काम छैन– खाने, बस्ने र सुत्ने मात्र त्यो जीवन कति समय स्वस्थ रहला ? ऊ विभिन्न रोगको सिकार बन्न सक्छ । चिकित्सकहरू भन्छन्– जागा हुँदा केही न केही सक्रिय रहनुपर्छ । खाएको ऊर्जालाई काममार्फत खर्च गर्नु आवश्यक हुन्छ । जब केही गर्नैपर्दैन भने, मानिसले भविष्यबारे किन सोच्ने ? परिवार किन बसाल्ने ? सन्तानप्रति जिम्मेवारी किन लिने ?
यति मात्र होइन, जब सबै मानिस खाली हुन्छन्, तब साना–साना कारणमा पनि विवाद र झगडा बढ्न सक्छ । भनिन्छ– खाली दिमाग सैतानको घर हो ।
कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित अर्को महत्वपूर्ण प्रश्न पनि छ । धेरै कम्पनीहरूले खर्च बचत गर्न मानिसको सट्टा एआई प्रयोग गरिरहेका छन् । एआईलाई न त तलब चाहिन्छ, न बिदा, न बोनस, न गुनासो । तर जब अधिकांश मानिस बेरोजगार हुन्छन्, उनीहरूसँग खर्च गर्ने पैसा हुँदैन, क्रय शक्ति घट्छ– त्यस अवस्थामा उत्पादन गरिएका वस्तु कसले किन्छ ? मेसिनलाई न खाना चाहिन्छ, न साबुन, न अन्य कुनै वस्तु । त्यसैले जस मुनाफाको सपना देखिएको छ, त्यो टिकाउ हुनेछ कि हुँदैन, यो गम्भीर प्रश्न बनेको छ ।
प्रविधि विकास अपरिहार्य छ, तर यसको प्रभावबारे सोच्नु र सन्तुलन कायम गर्नु झन् महत्वपूर्ण छ । मानव जीवनको अर्थ केवल काम होइन, तर कामविहीन जीवन पनि अर्थपूर्ण रहन्छ कि रहँदैन, यो प्रश्न हामी सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ । अमर उज्यालाबाट