
बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भयो । २०८२ माघ २२ मा गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसारा डाँगी घाँस काट्न जंगल गएका बेला चितुवाको शिकार बने । घटनापछि आक्रोशित स्थानीयले प्रशासन घेराउ गर्दै चितुवा नियन्त्रण र राहतको माग गरे । प्रशासनले मृतक परिवारलाई जनही १० लाख रुपैयाँ, बालबालिकाको शिक्षा/रोजगारीको व्यवस्था गर्ने सहमति गरेपछि आक्रोश मत्थर भयो ।
तर यो घटना नयाँ होइन । बर्दिया र बाँकेमा यस्तै प्रकृतिका घटनाहरू पुनरावृति भइरहेका हुन्छन् । सयौं बस्तीहरू वर्षौंदेखि वन्यजन्तुको त्रासमा बाँचिरहेका छन् । यस्तो त्रासदी रोकिने तत्काल कुनै सम्भावना पनि देखिँदैन । वन्यजन्तुबाट घाइते हुने, पशु–बालीमा क्षति हुने, ज्यान जाने क्रम घटनुको साटो बढीरहेको छ । चालु आवमा मात्र बर्दियामा १० र बाँकेमा ३ जनाको वन्यजन्तु आक्रमणबाट मत्यू भइसकेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व, वन्यजन्तुबाट जोगिने र जोगाउने उपाय, रोकथाम, अभ्यास र दीर्घकालीन समाधानबारे यहाँ छोटो चर्चा गरिएको छ ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व
जैविक विविधतायुक्त नेपालमा वन्यजन्तु र मानवबीचको द्वन्द्व अझै बढी देखिन्छ । वन्यजन्तुबाट चितवन, बर्दिया, कञ्चनपुर (शुक्लाफाँटा)जस्ता संरक्षित क्षेत्रहरू नजिक बस्ने स्थानीयहरू बढी प्रभावित छन् । हात्ती, बाघ, चितुवा, गैंडा, जंगली बँदेल र अन्य जनावरहरूले बालीनाली खाइदिने, नष्ट गरिदिने, घर भत्काइदिने, घरपालुवा जनावरमाथि आक्रमण गर्ने, खाइदिने र कहिलेकाहीँ मान्छेकै ज्यान लिइदिने घटनाहरू भइरहेका छन् । मानिसले वन फँडानी, खेती विस्तार, सडक निर्माण, बस्ती विस्तार, अव्यवस्थित फोहोर व्यवस्थापन र अवैध शिकार गरेर वन्यजन्तुको बासस्थान खोस्दैछ । वन क्षेत्र घट्दै जाँदा हात्ती, बाघ जस्ता ठुला जनावरहरूले खानेपानी, आहार र सुरक्षित ठाउँ गुमाउँदै गएका छन् । जंगलमा प्राकृतिक शिकार कम हुँदा चितुवा र बाघले गाईबस्तु मार्ने र कहिलेकाहीँ मानिसलाई आक्रमण गर्ने जस्ता घटनाहरू दोहोरिरहेका छन् । जलवायु परिवर्तनले पनि जनावरहरूलाई नयाँ क्षेत्रमा सर्न बाध्य बनाएको छ । नेपालको तराई आर्क ल्यान्डस्केप (TAI) मा हात्तीले ४२ प्रतिशतभन्दा बढी द्वन्द्व घटना निम्त्याउने गरेको अध्ययनले देखाएको छ । जनावर (आमा)ले बच्चा बचाउन पनि मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ । वन्यजन्तुबाट मान्छेको ज्यान जाने अवस्था आइरहदा अहिले वन्यजन्तुबाट मान्छे जोगाउने कि मान्छेबाट वन्यजन्तु ? भन्ने सवाल पनि उब्जिरहेको छ । तर दोषी वन्यजन्तु मात्रै होइन, हामी मानिस पनि हौं । वन क्षेत्रमा उनीहरूको रजगज चल्नु स्वभाविक हो । तर हामी त्यहाँ पुगेर पनि आफनो कानून लागु गर्न खोज्छौं, अनि द्वन्द्व सुरु हुन्छ । मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्वलाई न्यूनीकरण र रोकथाम गर्न मान्छे नै अघि सर्नपर्ने बाध्यात्मक अवस्था छ । दुवैको जीवन सम्मानयोग्य छ । मानव र वन्यजन्तुबीच द्वन्द्व होइन, सहअस्तित्वको आवश्यकता छ । वन्यजन्तुको बासस्थान संरक्षण गर्दै, मानिसलाई सुरक्षित राख्ने प्रभावकारी निति चाहिएको छ । यदि हामीले प्रकृति र वन्यजन्तु जोगाउन सकेनौं भने, आफैंलाई पनि जोगाउन सक्दैनौं । तसर्थ प्रकृति, वन्यजन्तु र मानवको संरक्षणमा ध्यान दिइनु अनिवार्य छ । ।
व्यक्तिगत सुरक्षा उपाय
वन्यजन्तुबाट जोगिन सबैभन्दा सरल तर प्रभावकारी उपाय भनेको सतर्कता र पूर्व तयारी हो । जंगल वा संरक्षित क्षेत्र नजिक हिंड्दा विभिन्न कुराहरू ध्यान दिनुपर्छ ।
जंगलमा हिंड्दा गीत गाउने, कुराकानी गर्ने वा घण्टी (बेल) बजाउने । जसले गर्दा जनावरलाई मानिसको उपस्थिति थाहा देओस् तर जनावर देखिएमा चिच्याउने काम गर्नु हुँदैन, ताकि जनावरले शिकार नठानोस् । जंगलमा एक्लै नहिँड्ने, जंगली जनावरको नजिक नजाने, कम्तीमा ५० देखि सय मिटर दूरी कायम राख्ने, हात्ती देखिएमा अगाडि नबढ्ने, बिस्तारै पछाडि हट्ने । क्याम्पिङ वा घर नजिक खानेकुरा, फलफूल वा फोहोर खुला नराख्ने । यसले जनावरहरूलाई आकर्षित गर्न सक्छ । खानेकुरा एयरटाइट कन्टेनरमा राख्ने र क्याम्पबाट टाढा पकाउने गर्नु पर्दछ । जनावरहरू राति र बिहान सक्रिय हुने भएकाले सो अवधिमा सकभर नहिँडने, टर्चलाइट र लौरो बोकेर निस्किने । बच्चाहरूलाई घरबाहिर एक्लै नछोड्ने, बाघ वा चितुवा देखिएमा पछाडि हट्ने तर नभाग्ने, आवाज निकाल्ने उपायहरू अपनाउने आदि गर्नुपर्छ ।
सामुहिक सुरक्षा उपाय
व्यक्तिगत सुरक्षा प्रयासले मात्रै सुरक्षित रहिन्छ भन्ने छैन, समुदायस्तरमा सामूहिक प्रयास पनि आवश्यक छ । प्रभावकारी अभ्यासहरूलाई अवलम्बन गरिनुपर्छ । सोलार/इलेक्ट्रिक फेन्सिङ, मेश–वायर फेन्सिङ र खाडल खन्ने आदि पनि गर्न सकिन्छ । हात्ती रोक्न विद्युतिय तारवार (इलेक्ट्रिक फेन्सिङ) प्रभावकारी मानिएको छ । चितुवा र बाघबाट बच्न कोरल (सुरक्षित गोठ) बनाउने । यो उपायले गाईबस्तुको क्षति निकै घटाएको छ । फसल पाक्ने बेलामा मचान बनाएर रातभरि पहरा दिने । समुदाय मिलेर पालो मिलाउने । यसले हात्ती र जंगली बँदेलबाट बालीनाली जोगाउँछ ।
जनावरलाई मन नपर्ने बाली (जस्तै अदुवा, लसुन, लेमनग्रास) रोप्ने । वा खेती क्षेत्र वरिपरि काँडेदार, बोटबिरुवा रोप्ने । गोठमा जनावर थुन्ने, गार्डियन कुकुर पाल्ने र चरन क्षेत्रमा सँगै हिंडाउने । राति गोठमा मात्र राख्ने । क्यामेरा ट्र्याप, रेडियो कलर वा मोबाइल एपमार्फत जनावरको गतिविधि ट्र्याक गर्ने । यी उपायहरूले द्वन्द्व र क्षती घटाउन मद्दत गर्छन् ।
नेपाल सरकारले वन्य जन्तु क्षति राहत निर्देशिका लागू गरेको छ जसअन्तर्गत बालीनाली, गाईबस्तु र मानवीय क्षतिको क्षतिपूर्ति दिने व्यवस्था छ । तर ब्यूरोक्रेटिक झन्झट र कम रकमका कारण प्रभावकारी छैन । हाल BIOFIN जस्ता परियोजनाले बीमा योजना पाइलट गर्दै छन्, जसले बजार मूल्यअनुसार क्षतिपूर्ति दिन्छ । संरक्षित क्षेत्र व्यवस्थापनमा बफर जोन कार्यक्रमअन्तर्गत स्थानीयलाई पर्यटन, होमस्टे जस्ता वैकल्पिक जीविकोपार्जन दिने काम भइरहेको छ ।
दीर्घकालीन समाधान
द्वन्द्व रोक्न दीर्घकालीन उपाय आवश्यक छ । वन पुनस्र्थापना र व्यवस्थापनको निति ल्याइनुपर्छ । वन्य जन्तु करिडोर संरक्षण गरिनुपर्छ । बाघ र चितुवाका लागि जंगली जनावर बढाइनुपर्छ । मानव बस्ती र खेती क्षेत्रलाई वनबाट अलग राखिनुपर्छ । कृषि क्षेत्रमा जनावर आकर्षित नहुने तरिकाले विकास गरिनुपर्छ । स्थानीय समुदायलाई वन्य जन्तु व्यवहार, सुरक्षा उपाय र संरक्षणको महत्वबारे प्रशिक्षण दिने । स्कुल र गाउँ स्तरमा सचेतता कार्यक्रम गर्ने । पर्यटनबाट लाभ, वैकल्पिक जीविकाबारे पर्याप्त सचेतना र कार्यक्रम सञ्चालन गर्ने । ड्रोन, पूर्व सूचना प्रणाली पनि लागू गर्ने । राहत प्रक्रिया सरल बनाउने, स्थानीय सरकारलाई अधिकार दिने र अन्तर्राष्ट्रिय सहयोग बढाउने आदि गर्नुपर्छ । । संघीय सरकारले वन्यजन्तुको आक्रमणमा परेर ज्यान गुमाउनेका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने व्यवस्था गरे पनि जोखिम न्यूनीकरणको प्रभावकारी उपाय अपनाइएको छैन । वन्यजन्तुबाट हुने मानव, पशुधन र बालीनालीको क्षति न्यूनीकरण गर्न र प्रभावितलाई समयमै राहत उपलब्ध गराउन प्रभावकारी बिमा/क्षतिपूर्तिको वयवस्था अपरिहार्य छ ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका महाशाखाका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा फागुनसम्म एक करोड एक लाख ५८ हजार रुपैयाँ खर्च भइसकेको छ । मानव र वन्यजन्तुबीच सहअस्तित्व निर्माणका लागि नीतिगत सुधार र उच्च जोखिममा रहेका बस्तीको स्थानान्तरण पहिलो प्राथमिकता हुनुपर्दछ । साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ लाई समयानुकूल संशोधन गर्नु आवश्यक छ । नेपालमा बाघ संख्या तेब्बर बढेसँगै द्वन्द्व पनि बढेको छ । मानव र वन्यजन्तुले शान्तिपूर्ण रूपमा बस्न सक्ने बातावरण बनाइनुपर्छ ।
निष्कर्ष
वन्यजन्तुबाट मानवलाई जोगाउनु भनेको द्वन्द्व रोक्नु मात्र होइन, दिगो सहअस्तित्व कायम गर्नु हो । व्यक्तिगत सतर्कता, सामूहिक प्रयास, सरकारी नितिको कार्यान्वयन र दीर्घकालीन संरक्षणले मात्र वन्यजन्तुबाट मानवलाई र मानवबाट वन्यजन्तुलाई जोगाउन सम्भव छ । जैविक विविधताको संरक्षण हाम्रो राष्ट्रिय गौरव हो र यसको संरक्षणका साथै स्थानीय बासिन्दाको सुरक्षा पनि पहिलो प्राथमिकता हो । यदि हामी आजैदेखि सचेत र जिम्मेवार बन्ने हो भने आउने पुस्ताले वन्यजन्तु र मानव दुवैको खुसी र सहअस्तित्व देख्न सक्नेछन् । जंगलमा फोहोर नफाल्ने, अवैध शिकार रोक्ने र संरक्षणमा सहयोग गर्ने बानी बसाल्यौं भने हामी आफ्नै र प्रकृतिको सुरक्षामा योगदान पुर्याउन सक्छौं ।