
दोहा, कतार : नेपाली सुगम संगीत तथा पार्श्व गायनका सुप्रसिद्ध नक्षत्र, 'नेपाली तारा' दीपक लिम्बू सांगीतिक प्रस्तुति दिन कतार आउने भएका छन् । कतारको नेपाली समुदायमाझ लोकप्रिय रहेको 'इन्फिनिटी क्लब'को निमन्त्रणामा उनी कतार आउन लागेका हुन् ।
"दीपक लिम्बू लाइभ इन दोहा" नामक यो कार्यक्रम आगामी शुक्रवार साँझ इन्फिनिटी क्लबमा साँझ ६ बजेबाट १० सम्म चल्नेछ । कार्यक्रममा लिम्बूले आफ्ना चर्चित गीतहरूमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् । गायक लिम्बूका मुटु जलिरहेछ, बिर्सूं भन्छु, कहाँ छ र सुखको गाउँ, गौँथली, झिमिक्क गाजलु आँखैले, तिम्रो यादमा कति आँसु,को हौ तिमी, मैले त्यही भएर मन पराको लगायतका गीतहरू हिट छन् ।
कतारमा कार्यरत नेपालीहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी हुन चाहने दर्शकहरूका लागि विशेष व्यवस्था गरिएको र शुक्रबारको साँझलाई अविस्मरणीय बनाउन सम्पूर्ण तयारी पुरा भइरहेको कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्ह दानिकलाई जानकारी दिए ।
लामो समयदेखि नेपाली संगीतमा सक्रिय लिम्बुको प्रस्तुतिलाई कतारमा रहेका नेपाली संगीत प्रेमीहरूले निकै चासोका साथ पर्खिरहेका छन् । स्ट्राटो होटेल टोयोटा सिग्नल नजिकै रहेको यस क्लबको कार्यक्रमका लागी ४ बजेबाट ढोका खुल्नेछ भने थप जानकारीका लागी ७०६६५६४४/५२०७४५८२ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
