काठमाडौं : वैदेशिक रोजगार विभागले मेरिगोल्ड ओभरसिज प्रा.लि.का सञ्चालक तथा कर्मचारीविरूद्ध करिब ३ करोड रूपैयाँ ठगीको अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा युक्रेन पठाई ठगी गरेकोे विषयमा वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार वैदेशिक रोजगार न्यायाधिकरणमा बिगो, पचास प्रतिशत हर्जना र कैद माग गर्दै ठगीको मुद्दा दायर गरेको विभागले बताएको छ ।
विभागले इजाजत पत्र नम्बर ६६८/०६३/६४ भएको उक्त ओभरसिजका सञ्चालकहरू रविन्द्र कुमार श्रेष्ठ, भवानी प्रसाद कोइराला, ओम बहादुर कार्की र कर्मचारी अमिर थुलुङले राजेन्द्र डोटेल लगायतका ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रूपैयाँ लिएको दाबी गर्दै उनीहरूलाई ऐनको दफा ४४ तथा गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले दफा ४३ अनुसारको कसुर गरेकोे पुष्टि भएको भन्दै न्यायाधिकरणमा मुद्दा दायर गरेकोे हो ।
विभागले पीडितबाट १ करोड ८६ लाख १५ हजार २ सय रूपैयाँ ठगी गरेकोे भन्दै त्यसको हर्जना ५० प्रतिशतले हुने ९३ लाख ७ हजार ६ सय गरी २ करोड ७९ लाख २२ हजार ८ सय असुल उपर हुनुपर्ने दाबी गरेको छ ।
ऐनको दफा ४४ मा म्यानपावर कम्पनीले विभागबाट स्वीकृति नलिई विदेश कामदार पठाए वा पठाउँछु भनी प्रलोभन दिई रकम उठाएमा लिएको रकम र त्यसको ५० प्रतिशत हर्जना भराई म्यानपावर कम्पनीको सञ्चालकलाई तीन लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँ जरिवाना र तीन वर्षदेखि सात वर्ष कैद गरी इजाजतपत्र रद्द गर्ने व्यवस्था छ । तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सामान्यतः थुनामा बसेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने कानूनी व्यवस्था छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies