२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सभापति गगनले थाले असन्तुष्ट नेताका निवासमै पुगेर संवाद

पुरानै गन्थनमा बित्यो नेतात्रयको डेढ घण्टा

Nada
जीवन शर्मा
२०८३ वैशाख २३ गते १६:२८
Shares
सभापति गगनले थाले असन्तुष्ट नेताका निवासमै पुगेर संवाद

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटारस्थित निवासमा पुगे । विशेष महाधिवेशनपछि बुधबार पहिलो पटक भेट गरेका नेतात्रयबीच करिब डेढ घण्टा लामो छलफल भयो । संवादमा आन्तरिक एकताको विषयमा चर्चा भएपनि अधिकांश समय विगतमा पार्टीभित्र र बाहिरको राजनीतिमा देखापरेका घटनाक्रमका बारे पुनःस्मरण भयो । 

ncell

भेटमा पार्टीभित्र पछिल्लो केही समययता भएका घटनाक्रमको स्मरण गर्दै आगामी दिनमा पार्टीलाई कसरी एकढिक्का बनाएर लग्न सकिन्छ भन्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । विशेष महाधिवेशनकै कारण आम निर्वाचनमा लज्जाजनक हारको परिणाम व्यहोर्नुपरेको पूर्वउपसधापति खड्काले बताउँदै आएका छन् । यो छलफलमा पनि उनले विगतकै कमीकमजोरीलाई बढी स्मरण गराएको बताए । 

‘विगतको समीक्षात्मक कुराकानीमा बढी समय बित्यो,’ नेता खड्काले मध्यान्हसँग भने, ‘सभापति गगन र उपसभापति विश्वजी आउनुभएको थियो । उहाँहरूले आफ्ना कुरा राख्नुभयो, मैले पार्टीभित्र एकता कामय राखेर जानेकुरामा गम्भीर हुन आग्रह गरें ।’ तर अधिकांश समय विगतका घटानाक्रमका बारेमा छलफल भएको उनले बताए । अब कसरी जाने भन्ने विषयमा ठोस कुरा केही नभएको उनको भनाइ छ । 

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्व परिवर्तन भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । जेनजी आन्दोलनका क्रममा पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमण भएसँगै देउवाले खड्कालाई पार्टीको जिम्मेवारी दिएर उपचार र आरामको यात्रामा लागेका थिए । देउवा सक्रिय राजनीतिबाट बाहिर निस्किएर खड्कालाई कार्यवाहक दिएपछि पार्टीमा आन्तरिक झगडा थप झाँगियो । प्रतिनिधिसभा निर्वाचनपूर्व विशेष महाधिवेश गर्ने गगन–विश्वप्रकाश पक्ष र निर्वाचनपछि नियमित महाधिवेशन गर्ने भन्ने पूर्णपक्षको लडाइँकाबीच अन्ततः विशेष महाधिवेशन भएरै छाड्यो । ५७ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएर विशेष महाधिवेशनले नीति र नेतृत्व बदलेको नेताहरूको दाबी छ । तर औचित्यतामाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनलाई अवैधानिक घोषणा गरेका पूर्णबहादुर पक्षले निर्वाचन आयोगदेखि सर्वोच्च अदालतको समेत ढोका ढकढक्याउन पुगेका थिए । यद्यपि अदालतले विशेष महाधिवेशन र सोही अनुसार आएको गगन थापाको नेतृत्वलाई नै मान्यता दियो । त्यसपछि खड्का समूह बेलाबखत थप रणनीतिक छलफलमा जुट्दै गरेको देखिन्छ ।  

संस्थापन इतरका नेताहरू आगामी यात्राका बारेमा अलमलमा छन् । सो समूहका केही नेताहरूले नयाँ पार्टी नै बनाएर जानुपर्ने धारणा राखेपनि नेता खड्काले त्यस्तो प्रस्तावलाई स्वीकार गरेका छैनन् । नयाँ पार्टी बनाएर जाँदा नागरिकस्तरमा अपत्यारिलो बन्ने र राजनीतिक जीवनमा पाएको सम्मान समेत गुम्ने खतरा नेता खड्काले देखेका छन् । पुराना दलप्रति आम नागरिकको वितृष्णा कायमै रहिरहेको अवस्थामा पुराना दलका पुराना नेताहरू मिलेर पार्टी बनाउँदैमा कार्यकर्ता र जनताको आकर्षणमा नपरिने कतिपय नेताहरूले बताएका छन् ।

खड्का आफैं समन्वयकारी भूमिकामा राम्रो दख्खल राख्ने नेता हुन् । तर मूल नेतृत्व हाँक्ने विषय भने विगतको उनको कार्यशैलीले चुनौतीपूर्ण देखिएको विश्लेषकहरू बताउँछन् । पार्टीमा मिलेर जाने अवस्थाको सिर्जना गर्न वर्तमान सभापति थापा र उपसभापति शर्माले शीर्ष नेताहरूसँगको संवादलाई बाक्लोब बनाउँदै लगेका छन् । मंगलबार मात्रै थापा र शर्माले नेता डा. शेखर कोइरालासँग भेटेर छलफल गरेका थिए । पार्टीभित्रको विवाद समाधान गर्दै एकताबद्ध कांग्रेस निर्माणका लागि सभापति थापासहितका नेताहरूले असन्तुष्ट पक्षका नेताहरूसँग भेटवार्ता जारी राखेका हुन् । विगतका नेतृत्वले असन्तुष्ट नेताका घरघरै पुगेर संवाद गर्ने परम्परा थिएन । थापाले भने विषेश महाधिवेशनको विषयमा असन्तुष्ट बनेर बोलचाल बन्द गरेका आफूभन्दा वरिष्ठ नेताहरूको निवासमै पुगेर संवाद गर्ने परम्पराको थालनी गरेका हुन् ।

सम्बन्धित खबर