
समाजमा कहिलेकाहीँ यस्ता विश्वासहरू जन्मिन्छन्, जसले केवल राजनीतिक शक्ति मात्र होइन, नैतिक आधारसमेत निर्माण गर्छन् । वामपन्थी राजनीति पनि त्यस्तै एक विश्वासको परिणाम थियो– असमानता अन्त्य गर्ने, शोषित वर्गलाई सशक्त बनाउने र समाजलाई न्यायपूर्ण दिशामा अघि बढाउने प्रतिबद्धता । तर, जब यस्ता विश्वासहरू व्यवहारमा परीक्षित हुन्छन्, त्यतिबेला मात्र तिनको वास्तविकता प्रकट हुन्छ । आजको सन्दर्भमा हेर्दा, वामपन्थी आन्दोलनको मूल समस्या बाह्य चुनौतीभन्दा बढी आन्तरिक विचलनमा देखिन्छ ।
सबैभन्दा पहिले बुझ्नुपर्ने विषय, कुनै पनि सिद्धान्त यदि समय, समाज र सन्दर्भअनुसार रूपान्तरण हुन सकेन भने त्यो स्थिर पानीजस्तै बन्छ । बाहिरबाट शान्त देखिए पनि भित्रभित्रै सड्न थाल्छ । वाम राजनीति यही अवस्थाबाट गुज्रिरहेको पाइन्छ । सिद्धान्तको कठोरता र व्यवहारको असंगतिले गर्दा जनतामा बढ्दो निराशा बन्यो । एकातिर समानता र वैज्ञानिक सोचको कुरा गरियो भने अर्कोतिर निर्णयहरू लोकप्रियता, परम्परा वा तत्कालीन फाइदामा आधारित कदमहरू चालिए ।
विश्व इतिहासले पनि पटक–पटक देखाएको छ कि कुनै राजनीतिक धार स्थायी हुँदैन । परिवर्तन नै स्थायित्वको आधार हो । पूर्वी युरोपका समाजवादी शासनहरूको पतन, सोभियत संरचनाको विघटन र त्यसपछि उदाएको नयाँ विश्व व्यवस्थाले एउटा स्पष्ट पाठ दिएको छ– सत्ता टिकाउन केवल आदर्श पर्याप्त हुँदैन, परिणाम आवश्यक हुन्छ । चीनले आफ्नो आर्थिक मोडेल परिवर्तन गर्दै बजारमुखी सुधार अपनायो, जसले उसलाई विश्व अर्थतन्त्रको केन्द्रतर्फ उभ्यायो । यसले देखाउँछ कि विचारधाराको अस्तित्व बचाउन पनि कहिलेकाहीँ त्यसलाई पुनःपरिभाषित गर्नुपर्छ ।
नेपालमा वाम आन्दोलनको यात्रा संघर्षपूर्ण रह्यो । राजनीतिक परिवर्तनमा वाम आन्दोलनको योगदान निर्विवाद छ । तर, संघर्षपछि प्राप्त अवसरलाई संस्थागत गर्न नसक्नु यसको ठूलो कमजोरी बन्यो । सत्ता प्राप्तिपछि देखिएको व्यवहारले जनअपेक्षासँग मेल खान सकेन । सामाजिक रूपान्तरणको एजेन्डा क्रमशः कमजोर हुँदै गयो र व्यक्तिगत तथा समूहगत स्वार्थ हावी हुन थाले । यहीँबाट विश्वासको क्षय सुरु भएको हो ।
राजनीतिक दलहरू केवल नीतिगत संस्था मात्र होइनन्, तिनले समाजको दिशा निर्धारण गर्छन् । जब नेतृत्व स्वयं स्पष्ट दृष्टिकोणविहीन हुन्छन्, त्यसको प्रभाव सम्पूर्ण संरचनामा पर्छ । आज वामहरूमा देखिएको समस्या पनि त्यही हो– नीति र कार्यान्वयनबीच तालमेलको अभाव । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत विषय प्राथमिकतामा पर्नुपर्ने हो, तर व्यवहारमा ध्यान अन्यत्र मोडिएको देखिन्छ । यसले विकासको गति मात्र होइन, राजनीतिक विश्वसनीयता पनि कमजोर बनाउँछ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि वामपन्थी दलहरूले फरक–फरक बाटो रोजेका छन् । केहीले सामाजिक लोकतन्त्रको मार्ग समातेका छन्, जहाँ बजार अर्थतन्त्रसँगै सामाजिक सुरक्षा सुदृढ गरिएको छ । स्क्यान्डिनेभियन देशहरू यसको उदाहरण हुन्, जहाँ समानता र समृद्धि सँगसँगै अघि बढेका छन् । यसको विपरीत, कतिपय देशहरूमा कठोर विचारधारात्मक अडानले आर्थिक र राजनीतिक संकट निम्त्याएको छ । यसले देखाउँछ कि सफलता कुनै एक सूत्रमा निर्भर हुँदैन, बरु सन्तुलन र व्यावहारिकतामा आधारित हुन्छ ।
विचारधाराको अर्को चुनौती भनेको नयाँ पुस्तासँगको सम्बन्ध हो । आजको युवा पुस्ता सूचना प्रविधिसँग जोडिएको छ, उनीहरूको अपेक्षा तर्कसंगत र परिणाममुखी छ । उनीहरू नाराभन्दा उपलब्धि हेर्छन्, भाषणभन्दा कार्यान्वयन खोज्छन् । यदि कुनै राजनीतिक शक्तिको भूमिका नागरिकको अपेक्षासँग मेल खान सकेन भने त्यो क्रमशः अप्रासंगिक बन्छ । वामपन्थी राजनीतिले यो यथार्थलाई समयमै बुझ्न आवश्यक छ ।
सामाजिक न्याय, समान अवसर र समावेशीताजस्ता मूल्यहरू आज पनि उत्तिकै महत्वपूर्ण छन् । तर, ती मूल्यहरू प्राप्त गर्ने उपाय पुरानै हुनुपर्छ भन्ने छैन । लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता, उत्तरदायित्व र आर्थिक दक्षता यी सबैलाई समेटेर नयाँ दृष्टिकोण निर्माण गर्नुपर्ने देखिन्छ । विचारधारालाई जोगाउने नाममा व्यवहारलाई बेवास्ता गर्नु दीर्घकालीन रूपमा आत्मघाती हुन्छ ।
राजनीतिक परिवर्तनको इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ, जनता अन्ततः परिणामबाट प्रभावित हुन्छन् । उनीहरूलाई आदर्शभन्दा जीवनस्तर सुधार महत्वपूर्ण हुन्छ । यदि कुनै शक्ति त्यो सुधार दिन असफल हुन्छ भने उसले आफ्नो वैधता गुमाउँछ । यही अवस्था दोहोरिन नदिन वामपन्थी राजनीतिले आफ्नो प्राथमिकता पुनःनिर्धारण गर्नुपर्छ ।