२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

शान्ति र विकासका लागि युवा

Nada
२०८३ वैशाख २५ गते ०६:००
Shares
शान्ति र विकासका लागि युवा

शान्ति भनेको केवल युद्धविराम होइन, समाजमा स्थिरता, सुरक्षा तथा आन्तरिक–बाह्य सन्तुलन कायम भएको अवस्था हो । जब समाजमा शान्ति रहन्छ, तब व्यक्तिहरू सहज र सुरक्षित महसुस गर्छन् । विकास भनेको व्यक्तिगत, सामाजिक तथा आर्थिक प्रगति हो, जसले जीवनलाई समृद्ध र सहज बनाउँछ । शान्ति र विकास दुवै एकसाथ भए मात्र राष्ट्र समुन्नत बन्न सक्छ ।
तर, शान्ति र विकास कुनै जादुई सूत्रबाट सम्भव हुँदैन । यो कुनै एक व्यक्ति वा समूहको मात्र जिम्मेवारी पनि होइन । यसका लागि मुख्यगरी युवा वर्गको सक्रिय भूमिका अपरिहार्य हुन्छ । युवाहरू ऊर्जा, उत्साह र नवीन सोचले भरिएका हुन्छन्, जसले समाजलाई परिवर्तनतर्फ डोर्‍याउने क्षमता राख्छन् ।

ncell

नेपालको इतिहासमा युवाको साहस र बलिदानले नै राजनीतिक तथा सामाजिक रूपान्तरण सम्भव भएको छ । २००७ सालको क्रान्तिदेखि २०६२–६३को जनआन्दोलन र जेनजी आन्दोलनसम्म युवाको सक्रियता निर्णायक रह्यो । विद्यार्थी आन्दोलन, जनआन्दोलन वा लोकतान्त्रिक संघर्ष, हरेक परिवर्तनमा युवाको नेतृत्वले समाजलाई नयाँ दिशा दिएको छ । यसले के स्पष्ट गर्छ भने राष्ट्रको भविष्य निर्धारण गर्न युवालाई सही मार्गदर्शन र अवसर दिनु अनिवार्य छ । 

युवाहरू समाज निर्माण, शान्ति स्थापना तथा आर्थिक विकासमा संलग्न हुन सके मात्र राष्ट्र निर्माणको सपना साकार हुन सक्छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन तथा सूचना प्रविधिजस्ता क्षेत्रमा युवाको सिर्जनशीलता र दक्षता प्रयोग गर्न सकिए देश आत्मनिर्भर र समृद्ध बन्न सक्छ । शान्ति र विकासका लागि युवाहरूले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छन् । शिक्षित र दक्ष जनशक्तिले आधुनिक प्रविधि तथा नयाँ सोचको प्रयोग गरी कृषि, उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन ल्याउन सक्छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउनुका साथै रोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याउँछ ।

सामाजिक रूपान्तरणमा युवाको योगदान अझ महत्वपूर्ण छ । उनीहरूले जातीय विभेद, लैंगिक असमानता, अन्धविश्वास तथा भ्रष्टाचारविरुद्ध नेतृत्व लिन सक्छन् । सचेतना अभियान, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा सुशासन प्रवर्धनमा युवाको सक्रियताले समाजलाई सकारात्मक दिशातर्फ लैजान सक्छ । भ्रष्टाचार र अन्यायविरुद्ध युवाको नेतृत्व निर्णायक हुन्छ । जब युवाहरू भ्रष्टाचारविरोधी अभियानमा संलग्न हुन्छन् र समाजसेवामा सक्रियता देखाउँछन्, तब मात्र सुशासन कायम हुन सक्छ । सरकारले बेरोजगार युवालाई अवसर दिन, व्यावसायिक सीप विकास गर्न तथा स्वरोजगार कार्यक्रम विस्तार गर्न आवश्यक छ । यसरी युवालाई सक्षम र सशक्त बनाएर मात्र राष्ट्र निर्माणको अभियान बलियो बनाउन सकिन्छ ।

देशका दुर्गम क्षेत्रमा विकास तथा संरचना निर्माणमा युवाको सहभागिता अनिवार्य छ । हुम्ला, जाजरकोट, कर्णालीजस्ता स्थानमा युवाले सक्रिय रूपमा काम गर्नुपर्छ । जब युवाहरू दुर्गम क्षेत्रमा पुगेर विकास निर्माणमा सहभागी हुन्छन्, तब मात्र देश समृद्ध बन्न सक्छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि युवाको योगदान अत्यन्त महत्वपूर्ण छ । दुर्गम गाउँमा शिक्षाको स्तर सुधार गर्न, स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्न तथा ग्रामीण समुदायलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन युवाको सक्रियता आवश्यक हुन्छ । डिजिटल युगमा युवाले प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई अघि बढाएर प्रशासन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहजता ल्याउन सक्छन् । कृत्रिम बुद्धिमत्ता, ब्लकचेनजस्ता आधुनिक प्रविधिको प्रयोगले देशलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन सहयोग पुर्‍याउँछ ।

राष्ट्र निर्माणका लागि आत्मनिर्भरता प्रमुख आधार हो । आज धेरै युवा शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि विदेश जान बाध्य छन् । यस अवस्थालाई रोक्न सरकारले देशमै अवसर तथा उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ । कृषि, उद्योग, पर्यटन तथा अन्य सम्भावित क्षेत्रमा रोजगार सिर्जना गरेर युवालाई स्वदेशमै योगदान दिन प्रेरित गर्न आवश्यक छ ।

समग्रमा, राष्ट्र निर्माणका लागि युवाको जोस, साहस तथा सिर्जनशीलता नै प्रमुख आधार हुन् । सरकार र समाजले उनीहरूलाई सही मार्गदर्शन तथा अवसर दिनुपर्छ । युवाले पनि आफ्नो जिम्मेवारी पहिचान गर्दै शान्ति, विकास तथा सुशासनमा सक्रिय योगदान दिनुपर्छ । यसरी मात्र नेपाललाई बलियो, आत्मनिर्भर तथा समृद्ध राष्ट्रका रूपमा उभ्याउन सकिन्छ । समाजका हरेक क्षेत्रमा युवाको सहभागिता अनिवार्य छ । सरकारको दायित्व युवालाई सही अवसर प्रदान गर्नु र उनीहरूको सिर्जनशीलता तथा उत्साहलाई राष्ट्र निर्माणतर्फ अभिमुख गराउनु हो ।

ताजा खबर

सम्बन्धित खबर