– लेखराज रेग्मी
बाले सधैँ पढ्न भन्थे
नतिजामा सधैँ प्रथम हुन भन्थे
हिसाब र अंग्रेजी सिपालु हुन भन्थे
तर वास्तै गरिएन कहिल्यै
क्लास चढ्ने गरियो तर
स्कुल नियमित गइयो तर
विदेश पढ्ने कोटामा परिएन
व्यवसायिक बन्न सकिएन
लोकसेवाको वैतर्णी तरिएन
सबैले लम्फु भनेर गिज्याए तर
भाग्य कसरी उदाउँदो रहेछ मैलाई थाहा भएन
चुनावमा जसलाई जिताइयो उ मन्त्री भयो
म टोले नेता, परगन्ने नेता हुँदै एकदिन आयो
चुनाव आयो र मान्निए भैयो सुदिन आए ।
बाले भनेको मानेको भा
शिक्षकले भनेको मानेको भा
म कि त सरकारी कारिन्दा हुन्थे
कि त शिक्षक हुन्थे या वकिल इन्जिनियर
वा विदेशीयर पराया मुलुकमा हुन्थें तर
आज म नेता बनेको छु, हजार सलामी छन्
नमस्तेको भीडभाड चलिरहन्छ
रवाफ छ मान छ, सम्मान छ
खुशी छन् बा आमा र आफन्त
अगाडि पछाडि छन् हिजो जिस्काउने साथीहरु
चाहना बढिरहेको छ राष्ट्रिय स्तरको बन्ने
एकपटक मन्त्री बनेर झण्डा हल्लाउँदै
घर, गाउँ जोरीपारी र आफन्तबाट प्रशंसा पाउने
आशिर्वाद पाउने र बुढौतीको सुकुन जुटाउने
देश विदेश सैरसपाटा मस्ती र शानसौकत
बस के छ र जिन्दगीमा पाउनु यत्ति न हो
आखिर बिरबलकै भाग्य रहेछ मेरो
पढ्ने मन नलागेको त सरस्वतीले नपत्याए होइन
लक्ष्मीले आफुतिर तानेको पो हो रहेछ
म धन्य छु, कृतज्ञ छु र प्रफुल्ल छु
मलाई छुँदैन विपक्षका घोचपेचले
म जस्तै त हुन् उनीहरु
यस्तै होलान् रहरहरु
बाँकी मिठा भाषण त दाउपेच न हो
यस्तै गर्दैछन् उनीहरु
यस्तै गर्दैछौँ हामीहरु
त्यसैले फरक–फरक दल र राजनीति
यो देखाउने बात न हो
हामी त उस्तै–उस्तै न हो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies