तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : किरात राई यायोख्या शाखा कतारले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।
संस्थाका अध्यक्ष शंकरमान राईको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनजाति महासंघ कतारमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
किरात राईहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनुवारले यायोख्या कतारले गरेका विभिन्न कार्यहरूको प्रशंसा गरेका थिए । किराँत राईहरूको भाषा, धर्म, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै आफ्नो हक, अधिकार र पहिचानको निम्ति प्रवासमा रहेर पनि सक्दो योगदान पुर्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले किराँतहरुको उद्गम थलो खोटाङ भएको बताउँदै किरात प्रदेशको माग गर्दै गर्दा त्यहाँ बस्ने अन्य जातजातिको अपनत्व कायम हुनु पर्ने विचार राखेका थिए । वक्ताहरूले किराँत थर नभई सभ्यता रहेको बताउँदै आफ्नो अस्तित्वको लडाईं नसकिएको बताए ।
"इतिहास,भूगोल, सभ्यता र संस्कृतिको सम्मान, १ नं. प्रदेश "किराँत प्रदेश" समग्र प्रदेशवासीको आह्वान" भन्ने मूल नारामा ऐक्यबद्धता जनाउँदै औपचारिकरूपमा शुरुवात गरिएको कार्यक्रममा किराँती कलाकारहरूले (हामी हौँ किराँती) बोलको गीतमा स्वागत नृत्य तथा अन्य थुप्रै कलाकारहरूले कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए ।
द्वित्तीय उपाध्यक्ष राजकुमार राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव पूर्णबहादुर राईले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति राईले किराँतहरुको आफ्नै गर्विलो इतिहास रहेको बताउँदै आफ्नो संस्कार र सभ्यता बचाई राख्न कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies