काठमाडौं : नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्रीविरुद्ध पार्टी पंक्ति नै खनिएको छ । पूर्वमन्त्री झाक्रीको अभिव्यक्तिलाई लिएर पार्टीका नेता तथा कार्यकर्ताले उनको विरोध जनाइरहेका छन् । झाक्रीले अध्यक्ष माधवकुमार नेपालको विरोध जनाएको भन्दै उनको विरोध भइरहेको हो ।
गृहजिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले हचुवाको भरमा परियोजना उद्घाटन गरेको अभिव्यक्ति झाक्रीले दिएकी थिइन् । लगत्तै सहरी विकास मन्त्रालयबाटै खण्डन गर्दै उक्त आयोजना रहेको जनाएको छ । त्यही पत्र र झाक्रीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा राखेर एकीकृत समाजवादीका कार्यकर्ताहरुले प्रचार गरिरहेका छन् ।
अध्यक्ष नेपाल र सचिव झाक्रीबीच केही समय यता सम्बन्ध चिसिएको छ । स्थानीय चुनाव लगत्तै मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएपछि झाक्री पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेकी छन् । पार्टीले पूर्व जानकारी नै नदिइ मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेको आरोप झाक्रीले लगाएकी छन् । एकीकृत समाजवादीले पार्टीको पूर्व निर्णय भन्दै मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएको थियो ।
त्यसमा मन्त्रीबाट फिर्ता बोलाइएकाहरुले चर्को असन्तुष्टि जनाएका थिए । उनीहरुको असन्तुष्टिकै कारण एक महिनासम्म एकीकृत समाजवादीको निर्णय कार्यान्वयन भएन । अन्ततः एकीकृत समाजवादीको निर्णय कार्यान्वयन भयो । रामकुमारीसहित विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आले सरकारबाट फिर्ता भए । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको भने बढुवा भयो ।
उनी नै स्वास्थ्यमन्त्री भए । जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर मन्त्री भए भने हिरा केसी स्वास्थ्य राज्यमन्त्री छन् । यसपछि चिसिएको झाक्री र अध्यक्ष नेपालको सम्बन्ध सुध्रन सकेको छैन । बरु थप तिक्तता बढेको छ ।
झाक्री मात्रै नभएर पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् । खनालले भने पार्टीको नीतिगत निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले मार्गदर्शक सिद्धान्तप्रति फरक मत राखेका थिए । अध्यक्ष नेपाल जनताको बहुदलीय जनवाद (जबज)कै पक्षमा छन् भने नेता खनालले भने अब समाजवादी कार्यक्रम ल्याउनुपर्ने पक्षमा छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे त पार्टी निर्णय नै पालना गरेनन् । खनालले एमसीसीको विपक्षमा मतदान गरे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालमा पनि एमसीसीको विपक्षमा थिए । तर एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदनको पक्षमा उभिदा नेता खनालले भने बिमती जनाए ।
स्थानीय चुनावमा नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन गर्ने निर्णयमा पनि उनको बिमती थियो । कांग्रेस सहितको गठबन्धन नभएर वाम गठबन्धन गर्नुपर्ने खनालको तर्क छ । स्रोतका अनुसार, खनाल निकट नेताहरु अहिले अध्यक्ष नेपालसँग असहमत छन् । झाक्री पनि खनाल निकट नेता हुन् । यसले एकीकृत समाजवादीमा सैद्धान्तिक र संगठनात्मक संरचना पाइनसक्दै विभाजनको खतरा बढेर गएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies