
काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित भएपछि नेपाली कांग्रेसका प्रमुख नेताहरू पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका छन् । संस्थापनइतर (देउवा) समूहको अवरोधले पार्टी नेतृत्वलाई सुदूरपश्चिम प्रवेशमा अवरोध थियो । जसकारण प्रतिनिधिसभाको चुनावी कार्यक्रम र चुनावपछिको समीक्षासमेत रोकिँदै आएको थियो । पटक–पटकको प्रयासपछि शनिबार सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेसहितका नेता धनगढीको कैलालीमा पुगेका हुन् ।
निवर्तमान सभापति देउवाको गृहप्रदेश पुगेका पार्टी सभापति थापालाई शनिबार धनगढी विमानस्थलमा देउवापक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह र उनका मन्त्रीहरूले भव्य स्वागत गरे । तर, पार्टीको आन्तरिक समीकरणका कारण यो स्वागत र भेला पूर्ण रूपमा विवादरहित भने रहन सकेन । थापालाई स्वागत गर्न मुख्यमन्त्री विमानस्थल पुगे पनि सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायत नेताले कार्यक्रम नै बहिष्कार गरे । उनीहरू देउवापक्षका मानिन्छन् ।
प्रदेश सभापति बलायरसहित जिल्ला सभापतिहरूले शीर्ष नेताहरूलाई चुनावअघि रोक्दै आएका थिए । त्यसबेला उम्मेदवारले समेत चुनावी अभियानमा पार्टी सभापति थापालागयतको नेतृत्व सहभागी हुँदा वातावरण थप बिग्रिने भन्दै रोकेका थिए । त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लामा वैशाख ५ गते गर्ने भनिएको चुनावी समीक्षासमेत संस्थापनइतरको असहयोगका कारण स्थगन भएको थियो ।
चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सातवटै प्रदेशमा निर्वाचन समीक्षा तथा १५औं महाधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । रोकिएको कार्यक्रमलाई समेत सम्बोधन गर्नेगरी शनिबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए । केन्द्रदेखि प्रदेश र जिल्ला तहका धेरैजसो नेतालाई एउटै मञ्चमा राख्न सक्नुलाई संस्थापन पक्षका नेताहरूले सकारात्मक रूपमा लिएका छन् । तर, प्रदेश सभापति र कैलाली जिल्ला सभापति कार्यक्रममा सहभागी नहुनुले कांग्रेसमा अझै वैमनश्य रहेको सन्देश दिएको छ । यद्यपि, नेपाली कांग्रेसलाई एकताबद्ध गरेर लैजानुको विकल्प नभएको बताउँछन्, पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर । ‘कांग्रेसमा अझै केही समस्याहरू देखिएकै छन् । कानुनी हिसाबले कांग्रेसको प्रक्रिया टुगिंइसकेको छ,’ उनले भने, ‘तर न्यायोचित हिसाबले समस्या छन् । नेतृत्वले सबैको भावना समेटेर जाने भन्नुभएको छ, त्यो उहाँको दायित्व पनि हो ।’
पुसको २७ देखि माघ १ गते सम्पन्न विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व परिवर्तन गरेसँगै पार्टीभित्र दुईतिहाइ बहुमत लिएर बसेका तत्कालीन सभापति शेरबहादुर देउवा राजनीतिबाटै पलायन हुन पुगे । नयाँ नेतृत्वले देउवालाई टिकट नदिने निर्णय लिएपछि उनी चुनावको पूर्वसन्ध्यामा सिंगापुर हिँडे । त्यसको असर समग्र सुदूरपश्चिममा परेको छ । कांग्रेसका प्रदेशबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अझै स्वीकार गर्न सकेका छैनन् । कानुनी हिसाबले कांग्रेसको वैधानिक विवाद टुंगिए पनि न्यायोचित हिसाबले कांग्रेसमा एकता हुन नसकेको संस्थापन इतरपक्षका नेताले दाबी गरेका छन् । आन्तरिक समस्याकै कारण अघिल्लो प्रतिनिधिसभामा १६ सिट जितेको सुदूरपश्चिममा कांग्रेसले तीन सिट मात्रै ल्याएको छ । बाजुराबाट जनकराज गिरी, अछाम–१ बाट भरतकुमार स्वाँर र डोटीबाट भरतबहादुर खड्का गरी तीनजनाले चुनाव जितेका हुन् । गगन थापालाई सभापति स्वीकार गर्दै टिकट लिएर गएका कतिपय नेताले नै अहिले असहयोग गर्दै आएको संस्थापन पक्षका नेताहरूले बताएका छन् ।
शनिबारको कार्यक्रममै सहभागी भएका कतिपय नेताले विगतको कुरा कोट्याएर असन्तुष्टि जनाएका छन् । कार्यक्रममा सहभागी कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको सम्मान नभएको भन्दै नेतृत्वसँग जवाफ मागेका छन् । उनले भने, ‘आज आदरणीय नेता शेरबहादुर देउवाको स्थान, हैसियत र सम्मानको बारेमा नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट पारियोस् । म सोध्न चाहन्छु— उहाँलाई किन टिकटबाट वञ्चित गरियो ? यसको जवाफ सुदूरपश्चिमका कार्यकर्ता र जनतालाई चाहिन्छ ।’ शाहले कांग्रेसले इतिहासमै पहिलोपटक यति धेरै मतले हार व्यहोर्नुपरेकोमा चिन्ता व्यक्त गरे । जनताको साथ किन पाउन सकेनौं भन्ने कुराको संकेत बुझ्न पार्टी नेतृत्वलाई उनले आग्रह गरे । मुख्यमन्त्री शाहले पार्टीको आगामी नेतृत्वका सन्दर्भमा भने अबको १० वर्षसम्म गगन थापा नै सभापति हुने पक्का गरे । ‘मैले देखेको अबको १० वर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुने कुरा निश्चित छ, यसमा कसैको दुई मत छैन,’ उनले भने ।
प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताए । ‘गगनजी या विश्वप्रकाश, अरू साथीहरूको उमेर जति राजनीति गरिसक्नुभएका सुदूरपश्चिमको भूगोलका नेतालाई पनि सँगसँगै हामी यात्रामा लिन जान चाहन्छौं,’ उनले भने, ‘कांग्रेस नेतृत्वले कसैकाप्रति पनि पूर्वाग्रह राख्नुहुँदैन । त्यो नेतृत्वले यो वा त्यो कारणले, कोणले, रंगले हेर्ने, पूर्वाग्रह राख्ने बिल्कुल हुँदैन ।’शर्माले पार्टीलाई बलियो बनाएर अगाडि लैजाने सन्दर्भमा सबै एकताबद्ध हुन जरुरी रहेको बताए ।