
नेपालमा कम्युनिस्ट पार्टीको इतिहास गौरवपूर्ण छ । जनता र राष्ट्रको मुक्तिका खातिर नेपालका कम्युनिस्ट नेता–कार्यकर्ताले धेरै ठुला–ठुला बलिदान दिएका छन् । धेरै जेल, नेल र यातना भोगेर नेपाली जनतालाई राजनीतिक अधिकारको लडाइँमा एक हदसम्म सफलता पनि दिलाएका छन् । त्यति मात्र होइन, प्रगतिशील सुधारमार्फत जनताका जनजीविकाका क्षेत्रमा र भौतिक विकासका क्षेत्रमा ठुला सुधारका काम पनि गरेका छन् । जस्तै : ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम, ‘नौ स’ कार्यक्रम, वृद्ध भत्ता, अपांग भत्ताजस्ता जनताका जनजीविकाका सवालमा प्रत्यक्ष प्रभाव पार्ने र सामाजिक सुरक्षाका हिसाबले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । जनअधिकारको सवालको कुरा गर्ने हो भने, पिस्कर, छिन्ताङ, हर्रे–बर्रे, झापा विद्रोहजस्ता बलिदानीपूर्ण संघर्ष गरेका छन् भने पटक–पटकका जनआन्दोलन र जनयुद्धमार्फत धेरै प्रजातान्त्रिक अधिकार प्राप्त गरेका छन् । तर, यी सकारात्मक कुराहरू हुँदाहुँदै केही नकारात्मक कुरा पनि भएका छन् । यी नकारात्मक कुराबाट शिक्षा लिएर असल नीति लिन सकेको खण्डमा हामीलाई लाल झण्डा फहराउन कुनै शक्तिले रोक्न सक्दैन ।
फुट, विभाजन र एकता प्रक्रिया
२००८ सालमै विनामहाधिवेशन संस्थापक महासचिवलाई हटाइयो । २०१४ सालमा भएको दोस्रो महाधिवेशनमा निर्वाचित डा. केशरजंग रायमाझीद्वारा राजाका निरंकुश गतिविधिलाई समर्थन गर्न पुग्नुले विवादले उग्र रूप लिएको पाइन्छ । २०१७ सालमा भारतको दरभंगामा भएको प्लेनममा पुष्पलाल, तुलसीलाल र मोहनविक्रम सिंहले ल्याएका तीनवटा विचार र संविधानसभाको चुनावको कार्यनीति पास भएपछि विवाद बढ्दै गयो । २०१९ सालमा भएको तेस्रो महाधिवेशनमा आएको राष्ट्रिय प्रजातन्त्रको नीतिपछि पार्टीभित्र गम्भीर विवादको विकास भएको पाइन्छ । तत्कालीन नेतृत्वको निष्क्रियता र सांगठनिक अराजकताका कारणले गर्दा पुष्पलालले २०२५ सालमा पार्टी पुनर्गठन गर्नुपर्यो ।
२०२८–२०३१मा तत्कालीन पार्टीको पूर्वकोशी प्रान्तीय कमिटीअन्तर्गत झापा जिल्ला कमिटीले चीनमा भएको सांस्कृतिक क्रान्ति र भारतको पश्चिम बंगालको नक्सलबाडीमा क. चारु मजुमदारको नेतृत्वमा भएको किसान आन्दोलनदेखि प्रभावित भएको नीतिअन्तर्गत सशस्त्र संघर्षको कार्यनीतिसहित संगठन विस्तार गर्यो । जसको नाम अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (कोके) थियो ।
२०३२ सालमा निर्मल लामा, मोहनविक्रम सिंह, मोहन वैद्यसहित भएर चौथो महाधिवेशन गरे, जसको नाम पछिसम्म ‘चौम’ रहन गयो । यता, कोके र देशका विभिन्न भागमा छरिएर रहेका क्रान्तिकारीहरू, जस्तै ः पूर्वको रातो झन्डा, दाङको सन्देश समूह जस्ता समूहहरू एकता भएर २०३५ सालमा सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) गठन भयो भने अगाडि नै नेकपा चौममा विवाद भएर नेकपा मशाल र चौम दुईवटा पार्टी भए । पछि नेकपा मशालमा पनि विवाद भएर मोहन वैद्यको नेतृत्वमा मशाल, मोहनविक्रमको नेतृत्वमा मसाल र निर्मल लामाको नेतृत्वमा चौम भए । पछि रूपलाल विश्वकर्माको नेतृत्वमा सर्वहारावादी श्रमिक संगठन गठन भएको पाइन्छ ।
२०३९ सालमा आएर नेकपा (माले)मा पनि तत्कालीन कार्यनीतिक नारा ‘पार्टी स्वतन्त्रता’ र ‘राजनीतिक स्वतन्त्रता’ बीचको विवादले ठुलो रूप लिँदै विनामहाधिवेशन, विनासम्मेलन सिपी मैनालीलाई जबरजस्ती राजीनामा दिन लगाएर झलनाथ खनाललाई महासचिव बनाइयो । २०४६ साल भदौमा सिराहामा नेकपा (माले)ले चौथो महाधिवेशन गर्यो । माओ विचारधारा त्याग्नुका साथै बहुदलवादको नीति ल्यायो । मदन भण्डारी महासचिव भए ।
वीरताको विरासत
२०३०को दशकमा अर्घाखाँचीमा भएको हर्रे–बर्रे संघर्ष, २०२८ देखि नै झापाबाट सुरु गरिएको वर्ग–शत्रु सफाया आन्दोलन, जसमा किसानहरूको प्रत्यक्ष सहभागिता थियो । २०३६ सालमा धनकुटा जिल्लाको किसान संघर्ष, जो छिन्ताङ काण्डको रूपमा चिनिन्छ । २०४० सालमा सिन्धुपाल्चोकको पिस्करमा स्थानीय जनताको अधिकारका लागि संघर्ष भयो, जसमा धेरै सहिद भए । जुन घटनालाई कुख्यात पिस्कर काण्डको रूपमा चिनिन्छ । २०३१ सालमा जेल सार्ने नाममा गरिएका नेत्र घिमिरेलगायतको हत्या तथा २०३५ सालमा इलाममा रत्न बान्तवाजस्ता होनाहार युवाहरूले सहादत प्राप्त गरेका थिए ।
२०४८ देखि २०५१ सालको बीचमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालामा वाम आन्दोलनमा लागेको आधारमा देशभरका शिक्षक–कर्मचारीमाथि व्यापक दमन गरियो । राज्यबाट दिने सेवाहरूमा वाम पार्टीमा लागेबापत वञ्चित गरियो । वाम पार्टीका नेता तथा कार्यकर्तालाई झुटा मुद्दामा फसाउने काम गरियो । तर पनि संगठन विकास र सुदृढीकरण, वैचारिक प्रशिक्षणको यात्रामा एमालेका कार्यकर्ताहरू भोक भोकै, थकाइ–निन्द्राको प्रवाह नगरी निरन्तर रूपमा लागिरहे ।
वाम पार्टीका कार्यकर्ता तथा न्यायप्रेमी जनतामाथि देशभर भएका दमन, राज्यका निकायबाट दिने सेवामा गरिएका पक्षपात र विकृति–विसंगतिको विरुद्धमा २०५२ फागुनदेखि नेकपा माओवादीले छेडेको संघर्षमा हजारौं नेपाली जनता सहिद भए । यी र यस्ता वीरतापूर्ण संघर्षहरू, जो जनतासँग प्रत्यक्ष रूपमा जोडिएर गरिएका थिए, जसका कारण नेपालमा कम्युनिस्ट पार्टी मजबुत भएको थियो र संसारका धेरै देशका पुँजीवादी शासकहरूले पूर्वी युरोपमा कम्युनिस्ट सत्ता ढल्दै गर्दा नेपालमा कार्ल मार्क्सको जन्म भएको कुरामा चासो राखेका थिए ।
स्खलनको सुरुवात
२०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार बनेको थियो । जुन सरकारको मन्त्रिमण्डल पहिले नौ सदस्यीय मात्र बनाएर पछि राज्य र सहायक स्तरलाई जोडेर १५ सदस्यीय बनाइयो । छरितो मन्त्रिमण्डल, ‘आफ्नो गाउँ आफैं बनाऊँ’, ‘नौ स’ अभियानजस्ता लोकप्रिय कार्यक्रम र स्वच्छ तथा संघर्षपूर्ण छविका कारण लोकप्रिय भएको थियो । सोही कारणले नेपाली कांग्रेस, राप्रपालगायत पार्टीहरूको पहलमा अविश्वासको प्रस्ताव राखेर पारित गरेपछि सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाइयो ।
जुन कुरालाई लिएर बनेको जनप्रभावलाई समेटेर जनता संगठित गर्ने, जनविरोधी क्रियाकलापको विरुद्धमा संघर्ष गर्ने अनि नयाँ कार्यकर्ताहरूलाई वैचारिक प्रशिक्षण दिनुपर्नेमा सत्ताको जोडघटाउमा नेतृत्व लाग्न पुग्यो । अनि सांसद खरिद–बिक्री, सुरा–सुन्दरीसमेतका घटना भए । जसका कारण ‘कम्युनिस्टहरू पनि उस्तै हुन्’ भन्न जनताले सुरु गर्न लागे । अराजनीतिक खिचातानी, सरकारको पटक–पटक हेरफेर अनि माओवादी विद्रोहको जबरजस्त प्रभाव आदि कारणले गर्दा तत्कालीन राजा ज्ञानेन्द्रबाट २०६१ माघ १९मा शासन आफ्नै हातमा लिएपछि पुनः वाम पार्टीहरूलाई नजिक ल्याउने काम गर्यो ।
जसका कारण पुनः २०६२÷६३ सालको आन्दोलनपछि २०६४ सालमा संविधानसभाको चुनाव भयो, जसमा नेकपा माओवादी, नेकपा एमाले, नेकपा मसाल, नेमकिपा, नेकपा मालेलगायतले दुईतिहाइभन्दा बढी मत ल्याए । २०७० सालको दोस्रो संविधानसभापछि बनेको २०७२ सालको संविधानमा कम्युनिस्टहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिका र त्यसपछि भारतले लगाएको नाकाबन्दीमा नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले लिएको चट्टानी अडान र नेपाली जनताको साथले नेकपा एमालेलाई थप लोकप्रिय बनायो ।
२०७४ सालमा भएको वाम गठबन्धनसहितको निर्वाचनमा वाम पार्टीहरूले करिब दुईतिहाइ सिट र लोकप्रिय मतको हिसाबमा पनि दुई तिहाइभन्दा बढी मत प्राप्त गरे । संयुक्त सरकार अनि पार्टी एकीकरणसमेत भएर शक्तिशाली सरकार निर्माण भयो ।
विग्रहको निरन्तरता
वाम पार्टीहरूको दुई तिहाइभन्दा बढी मतले नेपाली जनतालाई निकै उत्साहित बनायो र अत्यन्त बढी महत्वाकांक्षी पनि बनायो । सँगै, विकास–निर्माणका काम नभएका हैनन्, धेरै ठुला तथा दीर्घकालीन विकासका काम पनि भए । राष्ट्रियताको सवालमा पनि चट्टानी अडानसहित ऐतिहासिक पारवहन सम्झौता भए । तर, सुशासनका पार्टीभित्र तथा बाहिरका कुरामा पार्टी बेखबर रह्यो । नेतृत्वको ध्यान सुशासन र जनजीविकाका क्षेत्रमा भन्दा गुटगत रूपमा आफ्ना मान्छेलाई महत्वपूर्ण मन्त्रालय र राजनीतिक नियुक्तिमा केन्द्रित रह्यो ।
जनतासँगको सम्बन्ध त टाढा हुने नै भयो, पार्टीका काममा लाग्ने कार्यकर्ताबीच नै विभेद हुन थाल्यो । वर्गविहीन साम्यवादी समाजको सैद्धान्तिक मान्यता बुझेर आएका कम्युनिस्ट नेता–कार्यकर्ताहरूले आफ्नै पार्टीमा कडा खालको वर्गीय विभेद प्रत्यक्ष महसुस गर्न पाए । त्यसपछि टुटफुट–विभाजनका खेल तीव्र बने ।
‘जहाँ पातलो त्यहीँ क्षीण पर्छ’ र ‘तातेको बेलामा पिट्नुपर्छ’ भन्ने मान्यताअन्तर्गत कतिपय पुराना यथास्थितिवादी, पश्चगामी तथा विदेशी शक्तिहरू एकपछि अर्को घटना घटाउन लागि परे । चैत १५ गतेको तीनकुने घटनालाई उदाहरण मान्न सकिन्छ । सँगै, मौकामा सामाजिक सञ्जालमा भएको अराजकताको विरुद्ध तथा विदेशी संस्थाहरूलाई नेपालमा आएर गतिविधि गर्दा करको दायरामा ल्याउनुपर्छ भन्ने असल नियतले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले तमाम विकृति–विसंगति र बेथितिको विरुद्धमा विस्फोटको रूप लियो । बलेको आगोमा घिउ थप्ने काम उक्त घटनाले गर्यो । त्यहीबीच ‘जेनजी’ नामको आन्दोलन भयो ।
सच्चिने कि सकिने ?
हाम्रो समाज सामन्ती संरचनाले जकडिएको समाज हो । कम्युनिस्टहरू पनि यही समाजका उपज भएकाले नसा–नसामा सामन्तवादी सोच र चिन्तन हुनु स्वाभाविक हो । तर, कम्युनिस्ट हुँ भनेपछि कम्युनिस्टअनुसारका व्यवहार प्रदर्शन नगर्नु अर्को विडम्बना बन्यो । अब सच्चिने हो भने सबै कम्युनिस्टहरूले आफ्नो आचरण र व्यवहार फेर्नुपर्छ । नेतृत्वमा आमूल पुनर्गठन गर्न तयार हुनुपर्छ । अमूक नेताको पछि लागेर पार्टी र आन्दोलनलाई सिध्याउनुहुँदैन ।
जसका लागि विगतको निर्मम समीक्षा गर्दै आगामी बाटो स्पष्ट पारिनुपर्छ । नेतृत्वमा नयाँ पुस्तालाई अघि ल्याउनैपर्छ । नेता तथा कार्यकर्तालाई कम्युनिस्ट आन्दोलनबारे राम्रो प्रशिक्षण गराउनुपर्छ । गलत प्रवृत्तिका पात्रलाई पार्टीबाट बिदा गरिनैपर्छ । तलदेखि माथिसम्मै जनवादी केन्द्रीयताको माध्यमबाट विधिसम्मत रूपमा नेतृत्व छनोट गरिनुपर्छ ।
नेपाली राष्ट्र र जनताको मुक्तिका खातिर महान् तथा बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेर आएका कम्युनिस्टहरूले अब पनि यी काम गर्न नसकिने भन्ने हुँदैन । आउनुस्, सबै मिलेर पुनः कम्युनिस्ट आन्दोलनको रक्तरञ्जित झन्डालाई माथि उठाऔं । गौरवपूर्ण इतिहासलाई पुनर्जागरण गरौं । सच्चिने कि सकिने हाम्रै हातमा छ ।
(भट्टराई, नेकपा (एमाले)का नेता हुन् ।)