२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ओलीको आशीर्वाद खोज्न गुण्डु पुगेकी विद्याको ‘पार्टी प्रेम’

Nada
जीवन शर्मा
२०८३ वैशाख २८ गते १४:०२
Shares
ओलीको आशीर्वाद खोज्न गुण्डु पुगेकी विद्याको ‘पार्टी प्रेम’

काठमाडौं : कुनै समय केपी शर्मा ओली र विद्यादेवी भण्डारीलाई नेकपा एमालेभित्र मात्रै होइन, समग्र नेपाली राजनीतिमै एकअर्काका सबैभन्दा विश्वासिला सहयात्रीका रूपमा हेरिन्थ्यो । पार्टीभित्र निर्णयदेखि राज्यसत्तासम्म उनीहरूबीचको समझदारीलाई असाधारण मानिन्थ्यो । राष्ट्रपति पदमा रहँदा समेत भण्डारीले एमाले अध्यक्ष ओलीप्रति देखाएको राजनीतिक निकटताबारे धेरै टिप्पणी र आलोचना पनि भए ।

ncell

तर समयसँगै यही सम्बन्ध प्रतिस्पर्धा र अविश्वासमा बदलियो । शीतल निवासबाट बाहिरिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत गरिन् । एमालेभित्रको एउटा समूहले उनलाई ओलीको विकल्पका रूपमा अघि सार्न खोज्यो । त्यही क्षणदेखि दुई नेताबीच दूरी बढ्न थालेको बताइन्छ ।

ओलीकै समर्थनमा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी एमाले नेतृत्वमा फर्कन चाहन्थिन् । उनका निकट नेताहरूले ११औं महाधिवेशनमार्फत ओलीलाई नेतृत्वबाट हटाएर भण्डारीलाई केन्द्रमा ल्याउने रणनीति बनाएको चर्चा पार्टीभित्र चल्यो । त्यतिबेलाको एमाले विधानले अध्यक्षका लागि दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था गरेको थियो । यसले स्वाभाविक रूपमा ओलीको पुनरागमनमा अवरोध सिर्जना गर्ने देखिन्थ्यो ।

तर ओलीले नेतृत्व छाड्ने मनस्थितिमा आफूलाई नराखेपछि एमालेभित्र शक्ति संघर्ष खुला रूपमा सतहमा आयो । केन्द्रीय कमिटीमा आफ्नो बहुमत प्रयोग गर्दै उनले विधान नै संशोधन गराए । दुई कार्यकाल र उमेरहदको व्यवस्था हटाइयो र ओली पुनः अध्यक्षको प्रतिस्पर्धामा उत्रिए ।

यसको विरोधमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलगायतका नेताहरू उभिए । उनीहरूले पार्टीमा विधि, विधान र संस्थागत प्रणाली कमजोर बनाइएको आरोप लगाए । भण्डारी स्वयं पनि अप्रत्यक्ष रूपमा यही धारमा देखिइन् । तर अन्ततः ओली पक्ष हावी भयो ।

विवाद झन् चर्किंदै जाँदा भण्डारीको पार्टी सदस्यता नै निष्क्रिय बनाइयो । त्यसपछि उनी ११औं महाधिवेशनको प्रतिस्पर्धाबाट बाहिरिइन् । भण्डारी निकट नेताहरूले ईश्वर पोखरेललाई ओलीविरुद्ध अध्यक्षमा उठाए पनि परिणाम आफ्नो पक्षमा पार्न सकेनन् ।

यता, एमालेभित्रको आन्तरिक असन्तोष र बाह्य राजनीतिक दबाबले ओली नेतृत्वमाथि निरन्तर प्रश्न उठिरहे । विशेषगरी गत भदौमा भएको जेनजी आन्दोलन र त्यससँग जोडिएको राजनीतिक तनावले एमालेभित्रको संकट थप गहिरियो । त्यही आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा अनुसन्धान आवश्यक रहेको भन्दै झन्डै दुईतिहाइ बहुमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ओलीलाई पक्राउ गर्‍यो । सरकार गठन भएको २४ घण्टा नबित्दै भएको पक्राउलाई लिएर राष्ट्रिय राजनीति नै तरंगित बन्यो ।

१३ दिनपछि अदालतको आदेशमा रिहा भएका ओली त्यसयता स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । पक्राउकै दिनदेखि अस्पतालमा रहेका उनको पछि पित्तथैलीको शल्यक्रिया गरिएको थियो । अहिले स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको बताइन्छ ।

यही संवेदनशील राजनीतिक र व्यक्तिगत परिस्थितिमा भण्डारी ओलीलाई भेट्न गुण्डु पुगिन् । अस्पतालमा एकपटक भेटेकी उनले आइतबार निवासमै पुगेर दोस्रो पटक लामो छलफल गरिन् । एमाले नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र पछिल्ला राजनीतिक घटनाक्रमबीच भएको यो भेटलाई सामान्य शिष्टाचार भेटका रूपमा मात्रै हेरिएको छैन ।

ओलीको सचिवालयका अनुसार दुई नेताबीच करिब दुई घण्टा छलफल भएको थियो । औपचारिक रूपमा स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको भनिए पनि कुराकानी त्यतिमै सीमित नरहेको एमाले वृत्तमा चर्चा छ । एमालेको वर्तमान अवस्था, पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्व संकट र देशको समग्र राजनीतिक परिस्थितिबारे समेत गम्भीर संवाद भएको स्रोतहरूको दाबी छ ।

भण्डारीले पछिल्लो समय आफू एमालेको विकास र विस्तारमा पुनः सक्रिय हुन चाहेको संकेत लगातार दिँदै आएकी छन् । यद्यपि उनको सदस्यता अझै निष्क्रिय अवस्थामै छ । अर्कोतर्फ एमालेभित्रकै केही नेताहरू ओलीलाई विश्राम दिएर पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको देखिन्छ । उनीहरूले वैकल्पिक नेतृत्वका रूपमा भण्डारीसँग समेत पटकपटक छलफल गरिरहेको बताइन्छ ।

एमालेभित्र अहिलेको नेतृत्वपंक्तिबाट सर्वस्वीकार्य विकल्प नदेखिएको निष्कर्ष निकाल्ने समूह पनि सक्रिय छ । त्यस्ता नेताहरू अन्तरिमकालीन सहमतिको नेतृत्व भण्डारीले लिन सक्ने तर्क गर्न थालेका छन् । भण्डारी स्वयं पनि एकपटक पार्टी नेतृत्व सम्हाल्ने इच्छामा रहेको चर्चा नौलो होइन । तर त्यसका लागि ओलीको समर्थन र सहमति अपरिहार्य हुने उनले राम्रोसँग बुझेकी छन् ।

यही कारण पछिल्लो समय ओली–भण्डारी सम्बन्ध फेरि न्यानो बन्दै गएको विश्लेषण हुन थालेको छ । एक समय कटु राजनीतिक प्रतिस्पर्धामा उत्रिएका यी दुई नेताबीचको बढ्दो संवादले एमालेभित्र नयाँ शक्ति समीकरणको संकेत दिएको कतिपयको बुझाइ छ ।

ओलीको विकल्प खोज्ने बहस तीव्र भइरहेका बेला भण्डारीले फेरि पार्टीभित्र प्रभावशाली पुनरागमनको आधार तयार गर्न खोजेको आकलन पनि भइरहेको छ । 

सम्बन्धित खबर