
उदयपुर : वरिष्ठ पत्रकार तथा इतिहासकार कौशल चेम्जोङद्वारा लिखित ‘नेपालको इतिहासमा उदयपुर’ पुस्तक सार्वजनिक गरिएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा, त्रियुगा प्रज्ञा प्रतिष्ठान र नगरपालिका अनुसन्धान केन्द्रको समन्वयमा शुक्रबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेललगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए । कार्यक्रममा प्राध्यापक, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, साहित्यकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
लोकार्पणसँगै पुस्तकमाथि समीक्षा समेत गरिएको थियो। वक्ताहरूले ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ ले जिल्लाको इतिहास, भौगोलिक अवस्था, शासन प्रणाली, शिक्षा, न्याय व्यवस्था, विकास निर्माण, सामाजिक–सांस्कृतिक जीवन, आर्थिक अवस्था, उत्पादन, व्यापार र पर्यटनलगायत विविध पक्ष समेटेको उल्लेख गरे ।
पुस्तकमा उदयपुरको समग्र ऐतिहासिक तथा संरचनागत पक्षहरूलाई तथ्यगत रूपमा प्रस्तुत गरिएको छ । यसअघि चेम्जोङका ‘भूत’ (लघुकथा संग्रह), ‘उदयपुरको पर्यटन विकास: सम्भावना र चुनौती’, ‘जीवनका रंगहरू’, ‘उदयपुरको इतिहास’ तथा ‘उदयपुरको साहित्य’ प्रकाशित भइसकेका छन् ।
यसै अवसरमा त्रियुगा प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा कार्यसमिति पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थियो ।
