
काठमाडौं : कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा, स्वास्थ्य, फेसन तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै दोस्रो संस्करणको ‘ग्लोबल स्टार अवार्ड–२०२६’ राजधानीमा सम्पन्न भएको छ ।
दक्ष इन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा सुकेधारास्थित होटल मक्र्युरमा आयोजित समारोह विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी, उद्यमी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो ।
समारोहमा नेपाली कला, संगीत र सञ्चार क्षेत्रका अग्रजदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई सम्मान गरिएको थियो । आयोजकका अनुसार समाजमा सकारात्मक प्रभाव पारिरहेका व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान उर्मिला श्रेष्ठलाई प्रदान गरिएको थियो भने नेपाली चलचित्र इतिहासमा योगदान पुर्याएकी वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई ‘चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६’ प्रदान गरिएको थियो ।
लोकसंगीत, सञ्चार र साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ लोकगायक तथा पत्रकार रामप्रसाद खनाललाई ‘लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६’ प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ गायिका सुनिता लुइटेललाई संगीत क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै ‘संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान’ प्रदान गरियो । भजन गायक रेशम सापकोटालाई ‘संगीत रत्न सम्मान’ प्रदान गरिएको थियो ।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका अखण्ड भण्डारी, कल्पना शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम तथा उदयराज शर्मालाई विशेष पत्रकारिता सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
समारोहमा चलचित्र, संगीत, मोडलिङ, सौन्दर्य व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक अभियान तथा उद्यमशीलता क्षेत्रमा सक्रिय दर्जनौं व्यक्तित्व र संस्थालाई विभिन्न विधागत अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा लोकसंगीत, फेसन डिजाइन, मेकअप, ब्युटी ट्रेनिङ, सामाजिक नेतृत्व, अभिनय, मोडलिङ, म्युजिक भिडियो निर्देशन, सिनेमेटोग्राफी, पत्रकारिता, आध्यात्मिक गीत सिर्जना, पञ्चेबाजा संरक्षण तथा शैक्षिक नेतृत्वजस्ता विधामा अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा अभिनेता पल शाहलाई ‘ग्लोबल स्टार अफ द डिकेड (मोडल)’ अवार्ड प्रदान गरिएको थियो भने गायक यम बराललाई ‘लेगेसी एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै एमके इन्जिनियरिङ कलेज तथा स्वर्ण दीप सेकेन्डरी स्कुललाई सम्मान गरिएको थियो ।
त्यस्तै परम्परागत संस्कृति र मौलिक ज्ञानको संरक्षणमा योगदान पुर्याएको भन्दै विनोद कार्कीलाई सम्मान प्रदान गरिएको थियो भने लोकसंगीत तथा गायन क्षेत्रमा सक्रिय विभिन्न कलाकारहरू पनि अवार्डबाट सम्मानित भएका थिए । सामाजिक सचेतनामूलक गीत, आध्यात्मिक सिर्जना तथा पञ्चेबाजा संरक्षणमा सक्रिय स्रष्टाहरूलाई समेत विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।
सौन्दर्य तथा फेसन क्षेत्रमा सक्रिय मेकअप आर्टिस्ट, फेसियल विशेषज्ञ, स्किन केयर प्रशिक्षक, नेल आर्टिस्ट, फेसन डिजाइनर तथा ब्युटी उद्यमीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । विभिन्न प्रदेशमा सञ्चालन भइरहेका ब्युटी पार्लर, सलुन तथा ट्रेनिङ सेन्टरहरूलाई समेत उत्कृष्ट सेवा र प्रशिक्षणका आधारमा अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
समारोहमा प्रमुख अतिथिका रूपमा अभिनेता निर शाह सहभागी थिए भने हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा पूर्व उपसभामुख इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना, वरिष्ठ पत्रकारहरू, शिक्षा उद्यमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि निर शाहले नेपाली कला, संस्कृति र सञ्चार क्षेत्रलाई योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने बताए । पूर्व उपसभामुख इन्दिरा राना मगरले विभिन्न क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गर्नु सकारात्मक सामाजिक अभ्यास भएको उल्लेख गर्दै आयोजक संस्थाको प्रशंसा गरिन् ।
कार्यक्रम निर्देशक राजेन्द्र लुइटेलले ‘ग्लोबल स्टार अवार्ड’ समाजमा सकारात्मक प्रभाव पारिरहेका प्रतिभाहरूलाई सम्मान गर्ने साझा अभियानका रूपमा अगाडि बढाइएको बताए । उनका अनुसार आगामी संस्करणहरूलाई अझ व्यापक र प्रभावकारी बनाइनेछ ।
आयोजक समितिका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, सञ्चारकर्मी, प्रायोजक संस्था तथा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र स्तरिय कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा सम्मान वितरणसहित सम्पन्न समारोहमा देशभरबाट कलाकार, सञ्चारकर्मी, समाजसेवी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।