विराटनगर : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मोरङको कानेपोखरीमा रहेको शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
बुधबार कानेपोखरी गाउँपालिका वडा नम्बर २ दलेलीमा रहेको विद्यालयको नवनिर्मित १० कोठे भवनको सभापति पोखरेलले रिबन काटेर उद्घाटन गरेका हुन् ।
सो अवसरमा उनले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिए । नवनिर्मित भवनको अधिकतम उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई उनले अनुरोध गरे ।
पोखरेलले शिक्षा क्षेत्रमा विकास गर्न सकेमात्र भोलिको भविष्य निर्माण गर्न सकिने बताए ।
उक्त भवन २ करोड ७३ लाखको लागतमा निर्माण भएको गाउँपालिकाकी अध्यक्ष राजमती इङनामले जानकारी दिइन् ।
कार्यक्रममा पोखरेलसहित गाउँपालिका अध्यक्ष इङनाम, उपाध्यक्ष भोला अधिकारी, वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।