२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : 'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र

Nada
२०८३ जेठ १० गते १६:५२
Shares
तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : 'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ। आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

ncell

यसैगरी चलचित्र ‘जेरी अन टप’बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ । कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ । यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्पानित गरियो ।

आफ्नो जीवनको पहिलो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै अभिनेत्री जसिता गुरुङले उक्त अवार्ड सम्पूर्ण दर्शकप्रति समर्पण गरिन्। ‘सोसियल आइकन एक्टर अवार्ड’बाट सम्मानित अभिनेता पल शाहले यस अवार्डले आफूलाई थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि आफ्नो संस्था मार्फत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका नवीन चौहानले कामको मूल्यांकन भएकोमा आयोजकलाई धन्यवाद दिँदै आफू निकै खुसी भएको बताए ।

महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण “इतिहासलाई फर्केर हेर्दा– पहिलो चलचित्र अवार्ड संवाद” रहेको थियो । वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल बोलाएर पहिलो पटक ‘नेपाल चलचित्र अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद सम्पन्न भएको थियो । वरिष्ठ निर्देशक तथा नेपाली चलचित्रका इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको सो अन्तरक्रियामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्नो गौरवमय अनुभव साटेका थिए । समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ र महोत्सवकी संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली चलचित्रको माध्यमबाट विश्वसामु चिनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको र कलाको सम्मान सँगसँगै चलचित्रलाई पर्यटन प्रवर्धनसँग जोड्न आयोजक प्रयासरत रहेको प्रष्ट पारे। त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले चलचित्र र पर्यटनको सम्भावना तथा त्यसमा पर्यटन बोर्डको भूमिकाबारे मन्तव्य राखेका थिए ।

समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार तथा निर्देशक/निर्माता रेखा थापा, अभिनेता दिल श्रेष्ठ, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, कलाकार पवित्रा साँकी (मिस पबि), गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

महोत्सवकी संरक्षक भवानी राणाले आयोजक संस्था ‘रेड चेरी मिडिया’लाई महोत्सवको निरन्तरताको लागि शुभकामना दिइन् भने सल्लाहकार डा. महेन्द्रकुमार मल्लले आगामी वर्षहरूमा महोत्सवलाई थप परिष्कृत र जिम्मेवार रूपमा आयोजना गरिने जनाए । यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट शुभारम्भ भएको थियो । तत्पश्चात् यसै महोत्सवको स्थानीय संस्करणको रूपमा सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर