
काठमाडौं : लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्कीको स्वरमा सजिएको नयाँ गीत ‘बैगुनी मायालु’ सार्वजनिक भएको छ । प्रेम, पीडा, बिछोड र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर तयार पारिएको गीतले सार्वजनिक भएसँगै संगीतप्रेमी दर्शक तथा श्रोतामाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।
गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरेले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने गीतको लय स्वयं मोतिराज खनालले तयार पारेका हुन् । संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सागर बाजुरालीको रेकर्डिङ तथा खडक बाजुरालीको मिक्सिङ रहेको छ ।
गीतको म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे र विशेष घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन विश्वास घिमिरेले गरेका हुन् भने ड्रोन दृश्य चोप सिलवालले कैद गरेका छन् । छायांकन तथा सम्पादनको जिम्मेवारी सन्जय पाठकले सम्हालेका छन् । भिडियोमा गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको प्राकृतिक दृश्य तथा प्रेम र बिछोडको पीडालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । भावनात्मक कथा प्रस्तुति र कलाकारहरूको अभिनयले भिडियोलाई अझ प्रभावशाली बनाएको बताइएको छ ।
लोक तथा आधुनिक संगीतप्रेमी दर्शकका लागि ‘बैगुनी मायालु’ भावनाले भरिएको सांगीतिक कोशेलीका रूपमा आएको निर्माण टिमको भनाइ छ । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय रहेका गायक मोतिराज खनालका दर्जनौं गीत लोकप्रिय बनिसकेका छन् ।
वि.सं. २०६१ सालदेखि सांगीतिक यात्रामा सक्रिय खनालले गीत–संगीतमार्फत मनोरञ्जनसँगै सामाजिक सन्देश र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएका छन् । उनका ‘सुपा देउराली भजन’, ‘मालारानी भजन’, ‘यो दिलसँग त्यो दिल गाँसौंला’, ‘लालीगुराँस फुल्यो मायालु’, ‘आउ बस आडैमा’, ‘क्या राम्री पुतली’ लगायतका गीत नेपाली संगीत बजारमा रुचाइएका सिर्जना मानिन्छन् । विशेषगरी अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटन प्रवर्धनका लागि तयार पारिएका ‘सुपा देउराली भजन’ र ‘मालारानी भजन’ ले स्थानीय पर्यटन प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याएका छन् ।