२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

महिला हिंसा न्यूनीकरण गर्न डिजिटल सुरक्षा अभियान सुरु

Nada
बिन्द्र राई
२०८३ जेठ १६ गते २०:५८
Shares
महिला हिंसा न्यूनीकरण गर्न डिजिटल सुरक्षा अभियान सुरु

उदयपुर : उदयपुरमा किशोरी तथा महिलामाथि हुने डिजिटल तथा अनलाइन हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ‘डिजिटल सुरक्षा अभियान’ कार्यक्रमको शुभारम्भ गरिएको छ ।

ncell

महिला सशक्तीकरण स्रोत केन्द्र, उदयपुर युवा महिला सञ्जाल र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्य तथा ओरेकलगायत विभिन्न संस्थाको सहयोगमा सामुदायिक रेडियो उदयपुरको १८औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रम सुरु गरिएको हो । 

प्रदेशसभा सदस्य तथा उपसभामुख सिर्जना दनुवारलगायत अतिथिहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले डिजिटल प्रविधिको प्रयोग दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गइरहेको उल्लेख गर्दै यसको सुरक्षित प्रयोगमा विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सामाजिक सञ्जाल, बैंकिङ सेवा तथा अन्य विभिन्न कार्यमा डिजिटल माध्यमको प्रयोग बढ्दो क्रममा रहेकाले प्रयोगकर्ताहरू सचेत र सुरक्षित हुनुपर्नेमा जोड दिइन् । 

उनले डिजिटल तथा प्रविधिको दुरुपयोग नभई सही ढंगले सदुपयोग गर्न सके यसले समाज र व्यक्तिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखिन् । 

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिबिलाश पोखरेलले डिजिटल माध्यमको प्रयोगमा अनुशासन, मर्यादा र जिम्मेवारी आवश्यक रहेको बताउँदै यसको दुरुपयोगबाट बच्न सबै पक्ष सचेत हुनुपर्ने बताए । 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा महिला डिजिटल हिंसासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गीत, नाटक र कथामार्फत सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

सम्बन्धित खबर