
काठमाडौं : अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित ‘दोस्रो किड्स ट्यालेन्ट सो २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी (इनास) मेरिल्यान्डद्वारा आयोजित उक्त कार्यक्रममा प्रवासमा हुर्किरहेका नेपाली मूलका बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्दै नेपाली भाषा, कला र सांस्कृतिक पहिचानप्रतिको लगाव प्रदर्शन गरेका हुन् ।
बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्ने लक्ष्यका साथ आयोजित कार्यक्रममा गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकला प्रतियोगिता समावेश गरिएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले उत्साहजनक प्रस्तुति दिँदा हलभरि उपस्थित दर्शकहरूले उनीहरूलाई भरपुर हौसला दिएका थिए ।
कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत शरद राज आर्यन प्रमुख अतिथिका रूपमा सपरिवारसहित सहभागी भएका थिए । त्यसैगरी मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी तथा ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यवाहक राजदूत आर्यनले कार्यक्रम नेपाली भाषा र संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै यस्ता गतिविधिले प्रवासमा जन्मिएका तथा हुर्किएका बालबालिकामा नेपालीपनको भावना विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको सफल आयोजनाका लागि इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । स्वागत, समन्वय तथा व्यवस्थापनमा उनको सक्रियताले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाएको सहभागीहरूको भनाइ थियो । कार्यक्रम संयोजक सुशील पंगेनी र अमृता नेपालको सञ्चालन शैली तथा बालबालिकासँग नेपाली भाषामै गरिएको आत्मीय संवादले दर्शकको विशेष प्रशंसा पाएको थियो ।
प्रतियोगितामा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्व निर्णायक मण्डलमा रहेका थिए । गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान र भगवान भण्डारी, नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द र सारंगा श्रेष्ठ तथा नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी साक्य, कवि सुनिता बस्नेत र कवि नीर थापाले प्रतिस्पर्धीहरूको मूल्यांकन गरेका थिए ।
प्रतिस्पर्धामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल विजेता घोषित भए । उनीहरूले उत्कृष्ट प्रस्तुतिमार्फत निर्णायक तथा दर्शक दुवैको मन जित्न सफल भएका थिए ।
त्यसैगरी निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी र मिरन लिम्बु ‘टप १० फाइनलिस्ट’मा छनोट भएका थिए ।
कार्यक्रममा नृत्य, गायन र भाषण विधामा सहभागी दर्जनौं बालबालिकाले आफ्नो क्षमता प्रदर्शन गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै नेपाली भाषा र संस्कृतिप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख प्रायोजक तथा संस्थापक सल्लाहकार अमर छन्त्याल र सह–प्रायोजक इन्द्र थापाले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए । इनास मेरिल्यान्डका निवर्तमान अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल पनि व्यवस्थापनमा सक्रिय रूपमा संलग्न रहेका थिए ।

यस अवसरमा मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारीले नेपाली भाषा, कला, संस्कृति र समुदायप्रति पुर्याएको योगदानको कदरस्वरूप इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी तथा कार्यक्रम संयोजक सुशील पंगेनीलाई मेरिल्यान्ड जेनेरल एसेम्ब्लीबाट सम्मानपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा सहभागी सबै बालबालिकालाई नेपाली झण्डासहितको खादा, प्रमाणपत्र, मायाको चिनो तथा जनही ५० अमेरिकी डलर प्रदान गरिएको थियो । त्यस्तै ‘टप १० फाइनलिस्ट’लाई १०० डलर तथा प्रत्येक विधाका विजेतालाई ५०० डलर नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमकै अवसरमा इनास मेरिल्यान्डले दीर्घकालीन सांस्कृतिक अभियानको घोषणा पनि गरेको छ । अध्यक्ष शान्ति भण्डारी, कार्यक्रम संयोजक सुशील पंगेनी तथा निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रूपमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा गरेका हुन् ।
उक्त कला केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा तथा जुम्बा कक्षाहरू सञ्चालन गरिने जनाइएको छ । नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्दै उनीहरूको प्रतिभा विकास गर्ने उद्देश्यका साथ केन्द्र स्थापना गर्न लागिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सह–संयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा, इनास भर्जिनिया अध्यक्ष विश्व पौडेल, सल्लाहकार राजु केसी लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा आयोजक इनास मेरिल्यान्डले प्रायोजक, निर्णायक, पत्रकार, फोटोग्राफर, स्वयंसेवक, अभिभावक तथा सहभागी सम्पूर्ण बालबालिकाप्रति आभार व्यक्त गर्दै नेपाली भाषा, कला र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ ।