२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

हातिमारा खोलाको विवरण संकलन गर्दै त्रियुगा नगरपालिका

Nada
बिन्द्र राई
२०८३ जेठ २० गते २१:३३
Shares
हातिमारा खोलाको विवरण संकलन गर्दै त्रियुगा नगरपालिका

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै अतिक्रमित हातिमारा खोलासम्बन्धी विस्तृत विवरण संकलन प्रक्रिया अघि बढाएको छ ।

ncell

देशभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, पहिचान तथा अतिक्रमण नियन्त्रणका लागि राज्यले अभियान तीव्र बनाइरहेका बेला त्रियुगा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिको खोजी तथा अभिलेखीकरण प्रक्रिया सुरु गरेको हो । 

यसै क्रममा नगरपालिकाले वडा नं. ९ र १० अन्तर्गत पर्ने हातिमारा खोलासम्बन्धी विगतका सम्पूर्ण अभिलेख, नक्सा, जग्गा दर्ता विवरण तथा सम्बन्धित निकायका सिफारिस र कागजात उपलब्ध गराइदिन भूमि प्रशासन कार्यालय उदयपुर र नापी कार्यालय उदयपुरलाई पत्राचार गरेको छ । 

नगर प्रमुख बसन्तकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा हातिमारा खोलाको वास्तविक अवस्था, खोलाक्षेत्रको जग्गा कुन–कुन व्यक्तिको नाममा र कहिले दर्ता भएको, त्यसमा संलग्न तत्कालीन सरकारी निकाय तथा पदाधिकारीहरूको विवरणसमेत माग गरिएको छ ।

नगरपालिकाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत यस विषयमा उजुरी परेको तथा स्थानीय तहमा पटक–पटक ध्यानाकर्षण गराइएकाले तथ्यगत अध्ययनका लागि अभिलेख आवश्यक परेको हो । 

नगर प्रमुख बसन्तकुमार बस्नेत ले सार्वजनिक सम्पत्तिमाथि कसैले अवैध कब्जा जमाउन नपाओस् भन्ने उद्देश्यले नगरपालिकाले अध्ययन प्रक्रिया अघि बढाएको बताए। उनका अनुसार हातिमारा खोलासम्बन्धी यथार्थ अवस्था सार्वजनिक गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पुराना अभिलेखहरूको अध्ययन गरिनेछ ।

नगरपालिकाले दशकौँ पुराना अभिलेख, नक्सा तथा जग्गा दर्तासम्बन्धी कागजातको खोजी गरी हातिमारा खोलाको वास्तविक इतिहास पत्ता लगाउने तयारी गरेको जनाएको छ। प्राप्त अभिलेखका आधारमा खोलाक्षेत्रको अवस्था, स्वामित्व तथा सम्भावित अतिक्रमणबारे विस्तृत अध्ययन गरिने नगरपालिकाको भनाइ छ । स्थानीय तहको यो पहललाई सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर