२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तमु समाज कतारको महिला विभागद्वारा दाजुभाइ सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ २४ गते १९:४२
Shares
तमु समाज कतारको महिला विभागद्वारा दाजुभाइ सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न

दोहा : कतारमा रहेका तमु (गुरुङ) समुदायको साझा संस्था तमु गुरुङ समाज कतारको संरक्षणमा स्थापित महिला विभागले वैशाख पूर्णिमाको अवसरमा ‘दाजुभाइ भेटघाट तथा सम्मान कार्यक्रम–२०२६’ सम्पन्न गरेको छ ।

ncell

शुक्रबार वेलफेयर रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक तथा संरक्षक सदस्यहरूलाई परम्परागत क्रेगी फेटाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा निर्देशक सल्लाहकार टौमाया गुरुङले वैशाख पूर्णिमाका अवसरमा चेलीहरूले माइतीसँग भेटघाट तथा सम्मान गर्ने परम्पराको महत्वबारे जानकारी गराएकी थिइन् ।

प्रवासमा रहेका माइती र चेलीबिचको सम्बन्धलाई थप आत्मीय, सुदृढ र सद्भावपूर्ण बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले यस्ता कार्यक्रमले पारिवारिक एकता, आपसी सद्भाव र समुदायबिच सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा तमु सांस्कृतिक परिवारमा आबद्ध एक दर्जनभन्दा बढी कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । गुरुङ समुदायको मौलिक संस्कृति झल्कने विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो। साहित्यकार पूर्ण कान्छा गुरुङ र तेज गुरुङले चेली–माइती सम्बन्धको महत्वबारे कविता वाचन गरेका थिए ।

सो अवसरमा चेलीहरूले माइतीहरूलाई टीका, टोपी तथा गलबन्दी अर्पण गर्दै सम्मान गरेका थिए भने समाजअन्तर्गतको खेलकुद विभागका प्रतिनिधिले चेलीहरूलाई कोसेली प्रदान गरेका थिए । समाजका अध्यक्ष चन्द्रप्रसाद गुरुङले प्रवासमा चेलीहरूले प्रदान गरेको माया, सम्मान र आत्मीयताले थप उत्साह तथा प्रेरणा मिलेको बताउँदै चेली–माइतीबिचको सम्बन्ध सदैव अटल रहने विश्वास व्यक्त गरे ।

महिला विभागकी संयोजक तिलमाया गुरुङले कार्यक्रमको समापन गर्दै तमु समुदायको परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रवासमा पनि माइतीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरिन् । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण माइती तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा तमु (गुरुङ) समाजका माइती तथा चेलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गुरुङ समुदायमा वैशाख पूर्णिमालाई धार्मिक पर्वका साथै चेली–माइती सम्बन्ध, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ ।

ताजा खबर

सम्बन्धित खबर