२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बजेट अभावले अलपत्र आधारभूत अस्पताल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २५ गते २१:३९
बजेट अभावले अलपत्र आधारभूत अस्पताल

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट चिदीचौर र मालारानी गाउँपालिका वडा नम्बर ३  मा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेका छ । भवन भएपनि अस्पतालमा जनशक्ति छैनन् । 

भूमिकास्थान नगरपालिका अर्घाखाँची र मालारानी गाउँपालिका अर्घाखाँचीले आर्थिक अभावका कारण भवन सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको  करोडौं रुपैयाँको लागतमा बनेका सुविधा सम्पन्न अस्पतालका भवन अलपत्र परेको हो । 

नगरपालिकाभित्र भवन निर्माण भएपनि आन्तरिक स्रोत न्यूनतम भएका यी दुई पालिकामा निर्माण भएका भवनहरु अस्पताल सञ्चालनका लागि वार्षिक रुपमा आवश्यक पर्ने न्यूनतम खर्च जुटाउने अवस्था स्थानीय सरकारसँग नभएपछि अस्पताल सञ्चालन गर्न नसकिएको भूमिकास्थान नगरपालिकाका नगरउपप्रमुख बालकृष्ण बन्जाडेले बताए । 

यी दुई पालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल  भवन सरकारले बनाएपनि  नगरपालिकाको आन्तरिक  स्रोतले  अस्पताल सञ्चालन गर्न नसकिने अवस्था आएकोले पटक–पटक संघीय सरकार प्रदेश सरकारलाई अनुरोध गरेपनि कुनै चासो नदिएको कारण सञ्चालन गर्न कठिन भएको भूमिकास्थान नगरपालिकाका  नगरप्रमुख झविलाल थापाले गुनासो गरे । 

थापाले भने,‘संघीय सरकारको सहयोगमा भवन निर्माण भयो, तर स्थानीय सरकारले त्यो बजेट  थेग्न सक्दैन । कसरी सञ्चालन गर्ने समस्या छ ।  सरकारको मापदण्ड र अस्पतालका लागि आवश्यक पर्ने  विषय विशेषज्ञ डाक्टरसहितको जनशक्ति, तोकिएको प्रयोगशाला लगायतका सेवा दिने गरी स्थानीय तहले थेग्नै सक्दैन । यसमा माथिल्लो सरकारको ध्यान जान जरुरी छ  ।’ 

भूमिकास्थान नगरपालिकाका पूर्वनगरप्रमुख रेशम थापाले केन्द्र सरकारबाट बजेट पारेर अस्पताल निर्माण गरेपनि सञ्चालनको सम्भावना र आवश्यकताको पूर्वयोजना नहुँदा सञ्चालन गर्न नसकिएको बताए । 

थापाले भने,‘अस्पताल सञ्चालनका लागि धेरै पहल गरिएकोले अब मुख्यमन्त्री यसै जिल्लाको भएपछि केही होला ?, केन्द्रका स्वास्थ्यमन्त्रीसँग चिट्ठीपत्र, डेलिगेसन गएर अनुरोध गरेका हौँ, तर छिन–छिनको सरकार परिवर्तनले पनि प्रभावित बनाएको छ । यो स्थानीय तहले मात्र सञ्चालन गर्न सक्ने अस्पताल होइन हामी सबैले पहल गर्नुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने पाँच, दश र पन्ध्र  शय्याका  अस्पतालको संरचना र सेवाको मापदण्ड तोकेको थियोे, सो मापदण्डअनुसार  १५ शय्याको अस्पतालका लागि नवौं  तह, दशौं  तहको मेडिकल जनरलिस्ट, फिजिसियन  चिकित्सक हुनुपर्छ र सेवा, उपचारात्मक सेवा, निदानात्मक सेवा, अस्पताल व्यवस्थापन (प्रशासन एकाइ) अनिवार्य आवश्यक पर्छ ।

यसैगरी  अस्पतालमा बहिरंग सेवा  प्रयोगशाला सेवा  ल्याब टेक्निसियन, सेवा  कविराज आयुर्वेद, रेडियोलोजिष्ट सेवा  आकस्मिक सेवा  अन्तरंग सेवा  र अस्पताल फार्मेसी हुनुपर्ने मापदण्डमा स्पष्ट उल्लेख्य गरिएको छ । 

सोही मापदण्ड अनुसार नगरपालिकाले सञ्चालन अस्पताल सञ्चालन गर्न नसक्दा निर्माण सम्पन्न भएका सुविधा सम्पन्न भवनहरु  अलपत्रमा परेका छन् । बिरामीहरु सामान्य उपचारका लागि सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यता छ ।

१५ शय्याको अस्पतालका लागि मेडिकल अधिकृत  तह, नवौ वा दशौं तहको एक जना, आठौँ तहको मेडिकल अधिकृत दुई जना, स्टाफ  नर्स ६ जना, हेल्थ असिस्टेन्ट चार, जना आयुर्वेद सहायक एक,जना  ल्याब टेक्निसियन,१ जना रेडियोग्राफर,१ जना फार्मेसी सहायक,१ जना डेन्टल हाइजिनिस्ट १ जना, एनेस्थेटिक सहायक १ जना, नायब सुब्बा प्रशासन एक जना  कार्यालय सहयोगी ६ जना र सरसफाइकर्मी तीन जना  गरी ३० जनाको दरबन्दी सरकारले अस्पताल सञ्चालनका लागि मापदण्ड तोकेको छ । गाउँपालिकाहरुमा सुविधा सम्पन्न भवन बनाउने अन्य श्रोत सरकारले व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालन गर्ने पालिकासँग क्षमता नभएको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराइले बताए । 

मालारानि गाउँपालिकामा पनि भू्मिकास्थान नगरपालिकाको जस्तै समस्या छ, भवन छ बिरामी जाँच्ने डाक्टर छैनन्, श्रोत छैन अस्पताल भवनको  स्याहार सुसार गर्ने जनशक्ति समेत नभएपछि यी अस्पताल सञ्चालन गर्न कठिन छ । अस्पताल भवन सञ्चालन हुन नसकेको विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण भएको लुम्बिनी प्रदेश सरकारको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise