
हामीले ‘सानैदेखि पैसा जोगाउनुपर्छ’, ‘अनावश्यक खर्च गर्नु हुँदैन’ र ‘पैसा रुखमा फल्दैन’ भन्नेजस्ता भनाइहरू सुन्दै आएका छौं । तर पैसाले कसरी काम गर्छ भन्ने आधारभूत ज्ञान नपाई नै धेरै बालबालिका युवावस्थामा प्रवेश गर्छन् । कक्षा १२ उत्तीर्ण गरिसकेका, जटिल गणितीय समस्या हल गर्न सक्ने विद्यार्थीलाई समेत बजेट, निक्षेप, ऋण, ब्याजदर, कर प्रणाली, मुद्रास्फीति, लगानी वा आर्थिक नीतिजस्ता विषयको व्यावहारिक ज्ञान नहुनु आजको वास्तविकता हो । यसले नेपालमा वित्तीय साक्षरताको अवस्था अझै कमजोर रहेको संकेत गर्छ ।
वित्तीय साक्षरता भनेको पैसालाई सही रूपमा व्यवस्थापन गर्ने क्षमता मात्र होइन, यो जीवनमा सही आर्थिक निर्णय लिन सक्ने दक्षता पनि हो । कमाएको वा उपलब्ध रकमलाई जोगाउने, खर्च गर्ने, सापटी लिने, लगानी गर्ने र भविष्यका लागि योजनाबद्ध रूपमा उपयोग गर्ने क्षमता नै यसको मूल सार हो । यस्तो सीपले व्यक्तिलाई दीर्घकालीन आर्थिक स्थिरता र आत्मनिर्भरतातर्फ अघि बढाउँछ ।
नेपालजस्तो विकासोन्मुख देशमा, जहाँ डिजिटल भुक्तानी, अनलाइन बैंकिङ र अनौपचारिक रोजगारी तीव्र रूपमा बढिरहेका छन्, वित्तीय साक्षरता अब वैकल्पिक विषय होइन, अनिवार्य आवश्यकता बनिसकेको छ । मोबाइल बैंकिङ र डिजिटल वालेटहरूले आर्थिक कारोबारलाई सहज बनाएका छन्, तर यिनका साथसाथै साइबर ठगी, अनधिकृत पहुँच र वित्तीय जोखिम पनि बढेका छन् । यस्ता जोखिमबाट बच्न र सुरक्षित रूपमा डिजिटल वित्तीय सेवा प्रयोग गर्न पनि वित्तीय ज्ञान आवश्यक हुन्छ ।
‘पकेट मनी’ व्यवस्थापन गर्न सक्ने, आवश्यकता र इच्छाबीचको भिन्नता बुझ्ने तथा खर्चलाई नियन्त्रण गर्न सक्ने बालबालिका भविष्यमा बढी अनुशासित आर्थिक व्यवहार गर्न सक्षम हुन्छन् । तर आजको पुस्तामा, विशेषगरी जेन–जी र जेन–अल्फा पुस्तामा, बचत गर्ने बानी कमजोर हुँदै गएको देखिन्छ । यसले भविष्यमा व्यक्तिगत आर्थिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने संकेत दिन्छ ।
वास्तविक जीवनमा आइपर्ने आर्थिक चुनौती सामना गर्न बजेट व्यवस्थापन, बैंकिङ प्रणाली, बिमा, लगानी, ऋण व्यवस्थापन र कर प्रणालीजस्ता विषयको आधारभूत ज्ञान अत्यन्त आवश्यक हुन्छ । यस्तो ज्ञान नभए साना आर्थिक समस्या पनि ठुुलो बोझजस्तो महसुस हुन सक्छ । त्यसैले विद्यालय तहबाटै व्यावहारिक वित्तीय ज्ञान दिनु अत्यावश्यक देखिन्छ ।
हाल डिजिटल युगमा वित्तीय कारोबार सजिलो भए पनि जोखिम पनि उत्तिकै बढेको छ । मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत पैसा केही सेकेन्डमै स्थानान्तरण गर्न सकिन्छ । तर, यही सहजताले गलत प्रयोग र ठगीको सम्भावना पनि बढाएको छ । त्यसैले प्रविधिको प्रयोगसँगै वित्तीय अनुशासन र सचेतना पनि उत्तिकै आवश्यक हुन्छ ।
नेपालको विद्यालय शिक्षामा वित्तीय शिक्षाको उपस्थिति अझै सीमित छ । अर्थशास्त्र विषय केही तहमा पढाइ भए पनि धेरै विद्यालयमा यसको पहुँच छैन । साथै पढाइएका विषयहरू पनि व्यावहारिक जीवनसँग पूर्ण रूपमा मेल नखाने भएकाले विद्यार्थीमा वास्तविक सीप विकास हुन सकेको देखिँदैन । नतिजामा राम्रो अंक ल्याए पनि धेरै विद्यार्थी व्यक्तिगत वित्त व्यवस्थापनमा कमजोर देखिन्छन् ।
वित्तीय साक्षरता प्रवर्धन गर्न छुट्टै विषय अनिवार्य गर्नैपर्छ भन्ने होइन, तर अनिवार्य र ऐच्छिक विषयमा यसको आधारभूत ज्ञान समावेश गर्न सकिन्छ । यसलाई केवल सैद्धान्तिक रूपमा होइन, व्यावहारिक अभ्याससँग जोडेर पढाउन सकियो भने मात्र यसको प्रभावकारिता देखिन्छ ।
निष्कर्षमा, वित्तीय साक्षरता केवल शैक्षिक ज्ञान होइन, यो जीवनोपयोगी सीप हो । यसले आत्मनिर्भरता, आर्थिक स्थिरता र भविष्यको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले विद्यालय तहदेखि नै वित्तीय शिक्षालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो, ताकि भावी पुस्ता आर्थिक रूपमा सचेत, सक्षम र जिम्मेवार बन्न सकोस् ।