२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसको भविष्य

Nada
प्रदीप सुनुवार
२०८३ असार ३ गते ०६:००
Shares
कांग्रेसको भविष्य

२०७९को निर्वाचनको केही समयअघिदेखि र निर्वाचनपछि नेपालको राजनीतिक दलहरू केही फुट्दै थिए भने केही फुटको संघारमा थिए । अहिलेसम्म आइपुग्दा लगभग राष्ट्रिय भनिने सबै दल छिन्नभिन्न भइसकेको अवस्था देखिन्छ । इतिहासमा पनि दलभित्र फरक धार राख्ने र गुटबन्दी हुने कुरा नयाँ होइन । तर वर्तमान अवस्थामा दल फुट्ने क्रमले नेपालको इतिहासकै कमजोर अवस्थामध्ये एकमा पुगेको स्पष्ट देखिन्छ ।

ncell

मुख्यतः नेपालको राजनीतिमा दुई धारका शक्तिको वर्चस्व रहँदै आएको थियो । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपालमा नयाँ शक्तिको उदय भएको देखिन्छ । सो घटनापछि भएको निर्वाचनबाट उक्त शक्तिले दुईतिहाइनजिकको बहुमतसहितको सरकार गठन गरेको छ । 

नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा लामो कालखण्ड पार गर्दै देशमा भएका हरेक राजनीतिक परिवर्तनमा अग्रस्थानमा रहेर नेतृत्व गर्दै आएको पार्टी हो । तर, भदौ २३÷२४को घटनापछि नेपाली कांग्रेसको राजनीतिमा पनि ठुलो भूकम्प गएको जस्तो अवस्था बनेको छ । भदौ २४मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नै सांघातिक आक्रमण भएको थियो । यद्यपि, यस्तो घटना हुँदा सिंगो पार्टी मौन बन्यो । सो घटनाबारे देउवाले पनि सार्वजनिक रूपमा कुनै स्पष्ट धारणा वा कडा निन्दा व्यक्त गरेको देखिएन । उनले आफ्नो पीडा आफैंसँग राख्नु उपयुक्त ठानेजस्तो देखिन्छ । जीवनभर समर्पण गरेको पार्टी र देशका लागि यस्तो परिस्थितिमा उनी देशी–विदेशी सबै पक्षबाट एकैपटक घेरिएको अवस्थाबाट गुज्रिनुपरेको बुझिन्छ ।

यो घटनाको असर तत्काल नभए पनि इतिहासले यसको मूल्यांकन अवश्य गर्नेछ । भविष्यमा यसलाई लिएर ठुलो पश्चातापको कथा बन्न सक्ने सम्भावना पनि देखिन्छ । राजनीतिक अस्थिरताको यस कालखण्डमा पार्टीभित्रैबाट विशेष महाधिवेशनको नाममा नेतृत्वमाथि प्रश्न उठाउने प्रक्रिया अघि बढेको आरोप पनि विभिन्न कोणबाट उठिरहेको छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र रहँदै आएको छ । तर नेतृत्वमाथि यति छिटो प्रश्न उठाउनु आवश्यक थियो कि थिएन भन्ने बहस आज पनि जारी छ । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति लोकतान्त्रिक प्रक्रियाबाटै आएको हो । सो कार्यसमितिमा स्वयं देउवा पनि अघिल्लो समयमा महामन्त्री भइसकेका थिए । त्यसैले प्रश्न किन केवल उनलाई मात्र लक्षित गरियो भन्ने चर्चा स्वाभाविक रूपमा उठ्छ ।

यदि जेनजी पुस्ताको माग नेतृत्व हस्तान्तरण नै हो भने पनि पछिल्ला निर्वाचन परिणामहरूले पार्टी नेतृत्व र फ्रन्टलाइन टिमले अपेक्षित सफलता प्राप्त गर्न नसकेको स्पष्ट संकेत देखिन्छ । आज नेपाली कांग्रेसमा देखिएका मुख्य समस्या वैचारिक शून्यता हो । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न नसक्नु र समयअनुसार परिमार्जन गर्न नसक्नु अर्को समस्या हो । सुरुदेखि नै पार्टीभित्र गुटबन्दी, खिचातानी र शक्ति संघर्ष रहिरह्यो । यद्यपि, सक्षम, योग्य र समावेशी नेतृत्वको चयन हुन सकेन । कांग्रेसमा समाजवादलाई व्यवहारमा रूपान्तरण गर्ने ठोस कार्यक्रम नै निर्माण हुन सकेन । कांग्रेस र कम्युनिस्ट विचारबीचको भिन्नता जनतालाई स्पष्ट रूपमा बुझाउन नसक्नु र वैकल्पिक शक्ति रूपमा आफूलाई स्थापित गर्न नसक्नु पनि अर्को समस्या रह्यो ।

निचोडमा, कांग्रेस केवल बिपीको नाम र इतिहासको विरासतले मात्र टिक्न सक्दैन । समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेमा यो पार्टी इतिहासका पानामा सीमित पनि हुनसक्नेमा द्विविधा छैन । बिपी कोइरालाले भनेका थिए– राष्ट्रियता भनेको माटो होइन, जनता हो । आज राजनीतिक दलहरूले जनभावना बुझ्न नसकेको कारण नै देश राजनीतिक अस्थिरता र दलगत संकटको वर्तमान अवस्थासम्म आइपुगेको स्पष्ट देखिन्छ ।

सम्बन्धित खबर