
काठमाडौं : वैदेशिक रोजगार विभागले पीडितका नाममा उजुरी लेख्ने लेखापढी व्यवसायीलाई प्रमाणमा आधारित हुन निर्देशन दिने भएको छ । विभागमा पर्ने उजुरीका समस्या समाधानका लागि जिम्मेवारी पाएका व्यवसायीले विभागमा दर्ता हुने अधिकांश उजुरी प्रमाणमा आधारित हुन नसकेको र लेखापढी व्यवसायीले जथाभावी रकम बढाएर लेखिदिँदा मिलापत्र गर्दा समस्या सिर्जना हुने गुनासो गरेपछि विभागले बुधबार लेखापढी व्यवसायीसँग छलफल गर्न लागेको हो ।
विभागका समस्या समाधानका लागि जिम्मेवारी पाएका संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले व्यवसायीहरू मिलापत्रका लागि सधैं तयारी अवस्थामा रहने, तर उजुरीमा अनावश्यक रूपमा रकम माग हुने भएपछि मिलापत्र गराउन कर्मचारीलाई पनि समस्या हुने गरेको बताए । उनले पीडितको वास्तविक रकम एकिन गरेर मात्र उजुरी लेख्ने व्यवस्था गराउन लागिएको बताए ।
त्यसैगरी उपाध्यक्ष पौडेलले वैदेशिक रोजगारीमा कामदार पठाउन स्वदेशी वा विदेशी विमानस्थल प्रयोग गरेको विवरण व्यवसायीले अनलाइनमार्फत पठाउन सक्ने र यसअघिको तीनदिने समयसम्बन्धी अवधि थप गर्ने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।