
अहिले संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आयोजनामा 'फिफा विश्वकप २०२६' भव्य रूपमा सञ्चालन भइरहेको छ । सिंगो विश्वको ध्यान यतिबेला विश्वकपतर्फ आकर्षित हुनु स्वाभाविकै हो । एक फुटबलप्रेमी भएका नाताले यो महाकुम्भप्रति मेरो पनि विशेष उत्सुकता र आकर्षण छ । अहिले पनि अनुकूल मिल्नासाथ म नियमित रूपमा विश्वकपका खेलहरू हेरिरहेको छु । यही माहोलका बीच, विश्वकप फुटबलसँग जोडिएका मेरा केही पुराना संस्मरणहरू यहाँ लिपिबद्ध गर्न मन लागेको छ ।
बाल्यकालदेखि नै विश्वकपको निकै चर्चा सुन्ने गरे पनि सुरुका दिनमा खेल प्रत्यक्ष हेर्ने अवसर मिलेन । सन् १९७० को दशकको अन्त्यतिर भिडियो रेकर्ड गरिएका क्यासेटहरू नेपाल भित्रिन थालेपछि मात्र हामीले 'भिडियो डेक' मार्फत टेलिभिजनको पर्दामा रेकर्डेड खेलहरू हेर्न पायौँ । विश्वकपका पुराना खेलहरू मैले त्यसरी नै हेरेको थिएँ । त्यतिबेलासम्म नेपालमा टेलिभिजनको प्रसारण सुरु भइसकेको थिएन । तर, विश्वकपका खेलहरू प्रत्यक्ष (लाइभ) हेर्ने चाहना म र मेरा समकालीन साथीहरूमा तीव्र रूपमा जागृत भइसकेको थियो ।
फलस्वरूप, सन् १९७८ मा अर्जेन्टिनामा भएको ११औँ विश्वकपका केही खेलहरू हामीले अनेक जुक्ति लगाएर प्रत्यक्ष हेर्न सफल भयौँ । त्यस बखत प्राविधिक ज्ञान भएका एकाध व्यक्तिहरूले मात्र घरको छानामा ठूलो छाता जस्तो 'डिस एन्टेना' जडान गरेर विदेशी च्यानलहरू समात्ने गर्थे । त्यस्ता व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौँको मैतीदेवी निवासी एकजना इन्जिनियरबारे जानकारी मिल्यो, जो रुसबाट पढेर फर्किएका थिए । उनीसँग सम्पर्क गरेर हामीले केही खेलहरू प्रत्यक्ष हेर्ने निधो गर्यौँ । फुटबलका चरम पारखी म, मेरा आदरणीय दाजु नेत्रबहादुर थापा (जो अहिले नेपाली सेनाको रथी पदबाट अवकाशप्राप्त भइसक्नुभएको छ) र मेरा अभिन्न मित्र एवं पूर्वमन्त्री दीपक बोहरा (जसको अहिले स्वर्गारोहण भइसकेको छ) राति अबेरसम्म नसुती मैतीदेवी पुग्ने गर्थ्यौँ । रात्रिको सन्नाटामा बसेर त्यसरी विश्वकपको प्रत्यक्ष प्रसारण हेरेको त्यो पल अहिले पनि मेरो मानसपटलमा मधुर स्मृतिका रूपमा ताजा छ ।
भाग्यवश, सन् १९८२ को विश्वकप फाइनल खेल भने मैले स्पेनको राजधानी म्याड्रिडस्थित रंगशालामै उपस्थित भएर हेर्ने सुवर्ण अवसर पाएँ । विक्रम संवत् २०३४ साल असोजमा तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनीत भएपछि २०३५ साल चैतमा मलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्ष हुने सौभाग्य मिल्यो । त्यतिबेला म मात्र २३ वर्षको ठिटो थिएँ र फुटबलको उदाउँदो खेलाडीका रूपमा सक्रिय थिएँ । म संकटा क्लबबाट फुटबल खेल्थेँ । संकटाबाट खेल्ने क्रममै मैले काठमाडौँको प्रतिष्ठित 'ए' डिभिजन सहिद स्मारक लिग र त्रिभुवन च्यालेन्ज शिल्ड जित्ने अवसर पाएको थिएँ । त्यस्तै, राष्ट्रिय स्तरको 'नर ट्रफी' प्रतियोगितामा नारायणी अञ्चलको तर्फबाट खेलेर हामी प्रथम भएका थियौँ । त्यतिबेला म भर्खरै नेपालको राष्ट्रिय टोलीमा समेत छनोट भइसकेको थिएँ । तर, अप्रत्याशित रूपमा एन्फा अध्यक्षको गम्भीर जिम्मेवारी काँधमा आएपछि मैले बिस्तारै मैदानको सक्रिय खेल जीवनबाट सन्यास लिएँ ।
यसैबीच, एन्फा अध्यक्षको हैसियतमा म एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यकारी समिति सदस्यमा समेत निर्वाचित भएँ । यी दुई जिम्मेवारीका कारण मलाई एसिया र विश्वका विभिन्न मुलुकमा हुने फुटबल गतिविधिमा सहभागी हुने अवसर मिल्दै गयो । यसै सिलसिलामा सन् १९८२ मा स्पेनमा १२औँ विश्वकप आयोजना भयो । सोही प्रतियोगिताको दौरान आयोजित 'फिफा कङ्ग्रेस' मा भाग लिने अवसर मैले पाएँ ।
विश्वकप आफैंमा एउटा महापर्व हो । स्पेनका विभिन्न सहरहरू उत्सवमय बनेका थिए । फाइनल खेल म्याड्रिडको प्रसिद्ध रंगशालामा तय भएको थियो । खेल सुरु हुनुभन्दा केही घण्टा अघिदेखि नै पूरा म्याड्रिड सहर फुटबलको रङमा रंगिएको थियो । सडकहरू दुलही झैँ सिँगारिएका थिए । रङ्गीचङ्गी पहिरनमा सजिएका, विभिन्न बाजागाजासहित फाइनलमा पुगेका टोलीका झण्डा र ब्यानर बोकेका समर्थकहरूको विशाल सागर जताततै देखिन्थ्यो । फिफाका प्रतिनिधि भएकाले हामी खेल सुरु हुनु एक घण्टा अगावै रंगशाला छिर्नुपर्ने नियम थियो, तर सर्वसाधारण दर्शकहरू त तीन-चार घण्टा अघिदेखि नै भित्र बसेर उत्सव मनाइरहेका थिए । रंगशालाभित्रको त्यो अभूतपूर्व माहोल, लाखौं दर्शकको गगनभेदी गर्जन र रङ्गीन वातावरणको कम्पन मेरो मनमस्तिष्कमा आज पनि उत्तिकै ताजा छ ।
त्यस ऐतिहासिक फाइनलमा विश्व फुटबलका दुई महाशक्ति– पश्चिम जर्मनी र इटाली आमनेसामने थिए । खेलमा जर्मनीले उत्कृष्ट प्रदर्शन गरेता पनि नतिजा इटालीको पक्षमा गयो । सो खेलमा इटालीका 'पाउलो रोसी' चम्किलो ताराका रूपमा उदाए । फाइनलको पहिलो गोल उनैले गरेका थिए । अन्ततः जर्मनीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै इटालीले विश्वकपको उपाधि चुम्यो ।
सन् १९८२ को विश्वकप फाइनल रंगशालामै हेरे पनि सन् १९८६ को मेक्सिको विश्वकप (१३औं संस्करण) भने मैले काठमाडौंमा साथीहरूकै माझ टेलिभिजनको पर्दामा हेरेँ । त्यतिबेला नेपालमा भर्खरै 'नेपाल टेलिभिजन' को स्थापना भएको थियो । स्थापनाको छोटो अवधिमै नेपाल टेलिभिजनले उक्त विश्वकपको प्रत्यक्ष प्रसारण गरेर नेपाली खेलकुद इतिहासमा एउटा ठूलो कीर्तिमान कायम गरेको थियो ।
यस पटकको सन् २०२६ को विश्वकप फुटबल इतिहासमै पहिलो पटक तीनवटा राष्ट्रहरूले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । सहभागिताको हिसाबले पनि पहिलो पटक ४८ मुलुकहरू यसमा भिड्दै छन् र खेलका केही नियमहरूमा परिमार्जन समेत गरिएको छ । यी सबै विशेषताका कारण यस पटकको विश्वकप अझ बढी रोचक र अविस्मरणीय रहने पक्का छ ।
यस विश्वकपमा मेरो व्यक्तिगत मनपर्ने (फेभरेट) टोली पोर्चुगल हो । क्रिस्टियानो रोनाल्डोको प्रशंसक (फ्यान) भएकाले उनको खेल जीवनमा एक पटक विश्वकपको ट्रफी उचालेको हेर्ने मेरो तीव्र चाहना छ । यसबाहेक, म इंग्ल्याण्ड र जर्मनीको पनि समर्थक हुँ । एसियाली मुलुकहरू मैदानमा उत्रिँदा भने मेरो स्वाभाविक समर्थन एसियाली राष्ट्रहरूतर्फ नै हुनेछ । यद्यपि, हालसम्मको खेल प्रदर्शन र सम्भावनाका आधारमा विश्लेषण गर्ने हो भने फ्रान्स, अर्जेन्टिना, ब्राजिल र स्पेन निकै उत्कृष्ट एवं बलिया दाबेदार देखिएका छन् ।