
काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले ऐन संशोधनको मस्यौदा आगामी ७ गतेभित्र कानुन मन्त्रालय पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
विद्यमान वैदेशिक रोजगार ऐनले विगत एक दशकदेखि क्षेत्रगत बेथिति निम्त्याएको स्वीकार गर्दै मन्त्री यादवले यसलाई लगाम बिनाको घोडाको संज्ञा दिए । उनले पुराना कमजोरीलाई सुधार नगरी अघि बढ्न नसकिने भन्दै नयाँ कानूनले ती समस्या सम्बोधन गर्ने दाबी गरे ।
उनले भने, ‘यो ऐन ल्याउन मलाई निकै हतारो छ । आवश्यक परे अध्यादेशमार्फत भएपनि ल्याउनुपर्ने स्थिति थियो तर अहिले हामीले यसलाई अन्तिम रूप दिएका छौं । आगामी ७ गतेभित्र मस्यौदा कानुन मन्त्रालय पठाउने तयारीमा छौं र त्यसपछि सदनमा विस्तृत छलफल हुनेछ ।’
नेपाली श्रमिकहरू विश्वका १७८ भन्दा बढी मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै मन्त्री यादवले नयाँ ऐनलाई अन्तर्राष्ट्रिय स्तरमा व्यावहारिक बनाउन सबै सरोकारवालाहरूसँग गहन परामर्श गरिएको जानकारी दिए ।
प्रस्तावित कानुनमा वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्यका लागि प्रविधिको प्रयोग (डिजिटलाइजेसन) र वेब पोर्टल मार्फत रिक्रुटमेन्ट इकोसिस्टम सुधार गर्ने दूरगामी योजनाहरू समावेश गरिएको उनले बताए ।
नयाँ कानुनी व्यवस्था लागू भएसँगै फ्रि भिसा, फ्रि टिकटको कार्यान्वयनमा देखिएका जटिलता र नीतिगत अन्योल पूर्णरूपमा अन्त्य हुने विश्वास समेत मन्त्री यादवले व्यक्त गरे ।