
काठमाडौं : मदरल्याण्ड ओभरसिज प्रालिले आफ्नो संस्थाको नाम जोडेर आएका विभिन्न भ्रम र चर्चाका सम्बन्धमा आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छ । संस्थाले आफ्नो कार्यालय स्थानान्तरण, अन्य संस्थासँगको सम्बन्ध र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विद्यमान समस्याका बारेमा आफ्नो धारणा स्पष्ट पारेको हो । मदरल्याण्ड ओभरसिजले काठमाडौंको टोखा नगरपालिका वडा नं. ७ मा रहेको आफ्नो कार्यालय करिब ३ महिनाअघि नै स्थानान्तरण गरिसकिएको जानकारी दिएको छ ।
ओभरसिजका अध्यक्ष टेकबहादुर पौडेलले एक विज्ञप्ति जारी गर्दै कार्यालय स्थानान्तरण गरिएका कारण इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रा.लि.मा आफू र आफ्नो परिवारका सदस्यको कुनै सेयर स्वामित्व नरहेको उल्लेख गरेका छन् । पौडेलले उक्त ट्रेनिङ सञ्चालन कार्यमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता नरहेको पनि दाबी गरेका छन् ।
ओभरसिजले आफू सधैं स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने बताउँदै जुनसुकै नाम वा आवरणमा हुने सिन्डिकेट र एकाधिकारको विरुद्धमा रहेको दृढता व्यक्त गरेको छ । हाल साउदी अरब जाने कामदारका लागि लागू गरिएको स्किल भेरिफिकेसन प्रोग्राम’को विषयमा पनि आफ्नो धारणा स्पष्ट पार्दै ओभरसिजले कुनै पनि प्रकारको एकाधिकारको विपक्षमा उभिने संकेत गरेको छ ।
नेपालस्थित साउदी अरेबियाको राजदूतावासले सीप परीक्षणका लागि तत्कालका लागि सामान लोड–अनलोड गर्ने, भरिया, ठेला चालक तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूले भिसा वा मास्टर्स कार्डमार्फत प्रमाणीकरण परीक्षाबापत ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यताबापत ५० अमेरिकी डलर गरी कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) तिर्नुपर्ने बताएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
हाल पाँच प्रकारका कामका लागि मात्र ‘स्किल सर्टिफिकेसन’ गरिने भनिए पनि भविष्यमा नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबिया जाने ट्रली र खेतीकिसानीमा काम गर्नेबाहेक सबै कामदारको अनिवार्य सीप परीक्षण गर्ने तयारी रहेको व्यवसायीहरूको दाबी छ ।