
भनिन्छ, विश्व राजनीति शक्तिशाली देशको चाहनाको पेरिफेरीमा घुम्छ । त्यही शक्तिशाली देशमध्ये एक हो, रुस । युएनमा भिटो पावर रहेको देश रुस केवल राजनीतिक केन्द्र मात्र होइन, यो त एसियाली क्षेत्रका लागि अर्थतन्त्रको ठुलो सहयोगकर्ता पनि हो । यहाँको प्रविधि, शिक्षा क्षेत्रमा देखिएको क्रान्ति र श्रेष्ठता सबैको सम्मिश्रणले रुसलाई विश्वशक्ति बनाउन सफल भएको हो । रुसको अर्थतन्त्र र यसले विश्वमा आवश्यक खाद्यान्नमा पुर्याइरहेको सहयोग एकातिर छ । त्योभन्दा पनि शिक्षा र प्राकृतिक सौन्दर्यले मलाई बढी छोएको छ । खासमा भन्नुपर्दा, विश्वलाई नै शिक्षित बनाउन रुसले खेलिरहेको भूमिका साँच्चै सराहनीय देखिन्छ । सयौं विद्यालय र विश्वविद्यालयले विश्वभरका विद्यार्थीलाई छात्रवृत्ति दिँदै ज्ञान र विज्ञानका क्षेत्र विकासमा ठुलो योगदान पु¥याएका छन् । नेपालबाटै सयौं विद्यार्थीले चिकित्सा क्षेत्रमा विज्ञता हासिल गरेका छन् ।
मुटुको खुला अप्रेसन नेपालमा पहिलोपटक डा.भगवान् कोइरालाको टिमले गरिरहँदा यसको श्रेय रुसले नै पाउँछ भन्दा आपत्ति छैन । चिकित्सा क्षेत्रमा सहयोगका अन्य पाटा त्यत्तिकै छन् । नेपालले सयौं फुड साइन्टिस्ट रुसको सहयोगले नै पाएको छ, जसले नेपालको जनजीवन र स्वास्थ्यमा प्रभावकारी भूमिका खेलेका छन् । यहाँका विश्वविद्यालय यस्ता छन्, यी खुला प्रयोगशाला हुन्, जसले विश्वको जीवनस्तर सुधारमा प्रत्यक्ष भूमिका खेलेका छन् । नेपालले यसबाट सधैं लाभ लिएको छ ।
नेपाल–रुस सम्बन्धको औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पुग्नै लाग्दा शिक्षा र आर्थिक सहकार्य दुवै क्षेत्र भविष्यका लागि अत्यन्त सम्भावनायुक्त देखिन्छन् । नेपालीले पाउन सक्ने अवसर र रुस सरकारको सहयोगका क्षेत्र पेरिफेरीमा चर्चा गर्दा परिदृश्य यस्तो देखिन्छ–
विद्यार्थीका लागि शैक्षिक अवसर
रुसी सरकारको छात्रवृत्ति रुसले गर्ने प्रमुख सहयोग हो । रुसी सरकारले हरेक वर्ष विभिन्न देशका विद्यार्थीलाई राज्य छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । नेपालका विद्यार्थीले पनि प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउँछन् । छात्रवृत्तिअन्तर्गत सामान्यतया शिक्षण शुल्क पूर्ण रूपमा छुट हुन्छ । अध्ययनपूर्वको रुसी भाषा तयारीको व्यवस्था गरिन्छ । विश्वविद्यालयको छात्रावासमा बस्ने सुविधा तुलनात्मक रूपमा सस्तो हुन्छ । रुसका विश्वविद्यालयहरू विशेषगरी चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, अन्तरिक्ष विज्ञान, आणविक विज्ञान तथा ऊर्जा, कृषि विज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा क्षेत्रीय अध्ययन, उच्च शिक्षा तथा अनुसन्धानमा अध्यापनलाई प्रमुख क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय परिचय बनाएका छन् ।
खासमा रुससँग आधारभूत विज्ञान, गणित, भौतिकशास्त्र, आणविक प्रविधि, एयरोस्पेस अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा जस्ता क्षेत्रमा बलियो अनुसन्धान परम्परा छ । त्यसैले नेपाली विद्यार्थी र अनुसन्धानकर्ताले संयुक्त अनुसन्धान, आदानप्रदान कार्यक्रम तथा स्नातकोत्तर अध्ययनका अवसर खोज्न सक्छन् । भाषा तथा सांस्कृतिक अध्ययन पनि रुसको बलियो पाटो हो । रुसी भाषा अध्ययनले कूटनीति, पर्यटन, व्यापार र अनुवाद क्षेत्रमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्छ । नेपालमा रुसी भाषा तथा रुसमा नेपाली अध्ययनसम्बन्धी शैक्षिक सहकार्य विस्तार गर्न सकिने सम्भावना छ ।
आर्थिक सम्बन्ध र सम्भावना
नेपाल र रुसबीचको आर्थिक सम्बन्ध हालसम्म अपेक्षाकृत सीमित छ । द्विपक्षीय व्यापारको परिमाण नेपालका प्रमुख व्यापारिक साझेदारहरूको तुलनामा सानो छ । तर, यसलाई विस्तार गर्न रुस सरकार सधैं तयार रहेको कुरा जुन ३ देखि ६ सम्म रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमार्फत सन्देश दिइसकेको छ । नेपालका व्यवसायी उपेन्द्र महतोलाई फोरममा नेपालसँगको आर्थिक सम्बन्ध र सम्भावनाबारे धारणा राख्न दिइएको अवसरले पनि यस कुरालाई पुष्टि गरेको छ । साथै, सम्मेलनमा पंक्तिकारलाई नेपालबाट प्रतिनिधिका रूपमा आयोजकले चयन गर्नु पनि अर्थसम्बन्धमा रुसले देखाएको चासोकै परिणाम हो । यस अवसरलाई परिणाममा बदल्न नेपालले मुख्यतः निर्यात गर्न सक्ने सम्भावित वस्तुहरू चिया, कफी, हस्तकला, ऊनी तथा पश्मिना सामग्री, जडीबुटीजन्य उत्पादन, पानी र ऊर्जा शक्ति व्यापार देखिन्छन् ।
साथै, रुसबाट नेपालले आयात गर्ने सम्भावित वस्तुहरू औद्योगिक मेसिनरी, रासायनिक उत्पादन, उर्वरक तथा विभिन्न प्रविधिजन्य सामग्री देखिन्छन् । यी क्षेत्रमा सहकार्य गरे नेपालको अर्थतन्त्रमा प्रत्यक्ष फाइदा देखिन्छ । हालसम्म नेपाल–रुस व्यापारले आफ्नो वास्तविक सम्भावनाअनुसार विस्तार हासिल गर्न सकेको छैन । तर, अब सम्भावनालाई साकार पार्नतर्फ नेपाल सरकारले ध्यान दिनु नै उचित हुने देखिन्छ ।
सहकार्य सम्भावनाका क्षेत्रहरू
रुस विश्वको ठुलो आउटबाउन्ड पर्यटक बजारमध्ये एक हो । नेपालले हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन, योग तथा ध्यान, बौद्ध तीर्थ पर्यटन क्षेत्रमा रुसी पर्यटक आकर्षित गर्न सक्छ । विशेषगरी नेपालमा रहेको लुम्बिनी रुसी बौद्ध तथा आध्यात्मिक पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण गन्तव्य बन्न सक्छ । साथै, कृषि र खाद्य प्रशोधनमा नेपालले अर्गानिक चिया, कफी, मसला, जडीबुटी, मह, पश्मिनाजस्ता उच्च मूल्यका उत्पादन रुसी बजारमा प्रवर्धन गर्न सक्छ । यसका लागि गुणस्तर प्रमाणीकरण, निर्यात मापदण्ड, प्रत्यक्ष व्यापारिक सम्पर्क विकास गर्न आवश्यक छ ।
अर्को महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र ऊर्जा तथा जलविद्युत् हो । रुससँग जलविद्युत्, विद्युत् प्रसारण, ऊर्जा इन्जिनियरिङ, आणविक ऊर्जा क्षेत्रमा लामो अनुभव छ । नेपालमा जलविद्युत् विकास, ऊर्जा पूर्वाधार तथा प्राविधिक तालिमका क्षेत्रमा सहकार्यको सम्भावना छ । यद्यपि हालसम्म रुसको नेपालका जलविद्युत् आयोजनामा उल्लेखनीय प्रत्यक्ष लगानी भएको छैन । यसलाई भित्र्याउने गरी नेपाल सरकारले योजनाबद्ध काम गर्नु उपयुक्त देखिन्छ । सूचना प्रविधि र डिजिटल अर्थतन्त्र अहिलेको सबैभन्दा बढी आवश्यक र सम्भावना बोकेको क्षेत्र हो । सफ्टवेयर विकास, साइबर सुरक्षा, डिजिटल शिक्षा, प्राविधिक जनशक्ति विकासजस्ता क्षेत्रमा विश्वविद्यालय–उद्योग सहकार्य सम्भव छ ।
स्वास्थ्य तथा औषधि उद्योग त झन् विगतदेखि कै सम्भावना रहेको क्षेत्र हो । चिकित्सा शिक्षा, स्वास्थ्य अनुसन्धान, फार्मास्युटिकल सहकार्य, चिकित्सक तथा विशेषज्ञ तालिम क्षेत्रमा सहकार्य विस्तार गर्न सकिन्छ । मानव संसाधन विकास वर्तमान विश्वसँग जोडिने प्रभावकारी कडी हो । रुसमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सक, इन्जिनियर, वैज्ञानिक र प्राविधिक जनशक्तिले नेपालमा विभिन्न क्षेत्रमा योगदान गरिरहेका छन् । यसलाई संस्थागत रूप दिँदै संयुक्त अनुसन्धान केन्द्र, प्राविधिक प्रशिक्षण, विश्वविद्यालय साझेदारी, शैक्षिक आदानप्रदान विस्तार गर्न सकिन्छ ।
यथार्थपरक रूपमा हेर्दा, नेपाल–रुस आर्थिक सम्बन्ध अझै प्रारम्भिक चरणमै छ र व्यापारको परिमाण सीमित छ । तर शिक्षा, पर्यटन, कृषि निर्यात, ऊर्जा, विज्ञान–प्रविधि र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना विद्यमान छ । आगामी दशकमा सरकारी तहको संवाद, निजी क्षेत्रको संलग्नता र शैक्षिक–प्राविधिक साझेदारीलाई संस्थागत गर्न सकिए नेपाल–रुस सम्बन्धले परम्परागत मित्रतालाई आर्थिक तथा ज्ञान–आधारित साझेदारीमा रूपान्तरण गर्ने वास्तविक अवसर प्राप्त गर्न सक्छ । यसका लागि नेपाल सरकारले सम्भावनायुक्त आफ्नो पुरानो साझेदार रुससँग रणनीतिक योजना बनाएर अघि बढे नेपालका लागि लाभदायी हुनेछ ।