२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कथा : परदेशिएका सन्तान र घरको आँगन

Nada
खिमराज गिरी
२०८३ असार ६ गते ०६:०५
Shares
कथा : परदेशिएका सन्तान र घरको आँगन

पहाडी जिल्लाको एक दुर्गम गाउँमा चन्द्रबहादुर र निरमायाको सानो, तर सुन्दर संसार थियो । धनले विपन्न भए पनि उनीहरू मनका धनी थिए । दुई छोरा सन्तबहादुर, मनबहादुर र सानी छोरी जानुकालाई हुर्काउने, पढाउने र ठुलो मान्छे बनाउने सपनामा उनीहरूको जीवनभरको संघर्ष लुकेको थियो । बिहान सबेरै उठेर चन्द्रबहादुर खेतबारीमा कुद्थे भने निरमाया डोको बोकेर भिर–पाखा चहार्थिन् । आफू पुराना टालाटुलीले शरीर ढाकेर पनि सन्तानलाई सधैं नयाँ कपडा किनिदिन्थे । तीन–तीनजना छोराछोरीको पढाइ, कापी–किताब र विद्यालयको खर्च धान्न हम्मे–हम्मे पथ्र्यो । तैपनि चन्द्रबहादुर सधैं भन्थे, ‘हामीले दुःख पाए पनि हाम्रा सन्तानले दुःख नपाऊन् ।’

ncell

समयको चक्रसँगै छोराछोरी पढाइमा अब्बल हुँदै गए । गाउँमा उनीहरूको प्रशंसा हुन थाल्यो । उच्च शिक्षाको समय आयो । जेठो छोरो सन्तबहादुर ऋणधन र मावलीको सहयोगमा अस्ट्रेलिया उड्यो । केही वर्षपछि कान्छो मनबहादुर क्यानडा गयो । छोरी जानुकाको विवाह भयो । उनी पनि अध्ययनकै सिलसिलामा अमेरिका पुगिन् ।

अन्ततः चन्द्रबहादुर र निरमायाका सबै सन्तानले डाँडा काटिसकेका थिए । विमानस्थलमा छोरीलाई बिदाइ गरेर फर्किएको दिन चन्द्रबहादुरले निरमायाको आँसु पुछ्दै ढाडस दिएका थिए, ‘अब हाम्रा दुःखका दिन गए निरमाया ! छोराछोरीले धन कमाएर पठाउलान् । राम्रो नाना, मीठो खाना र बस्ने राम्रो छानाको बन्दोबस्त गरौंला । पछि हामी पनि विदेश घुम्न जाऔंला नि !’

सुरुका वर्षहरू सुखद नै रहे । छोराछोरीले पैसा पठाउँथे, समय–समयमा आउने–जाने गर्थे । उनीहरूले आमाबाबुलाई विदेश पनि घुमाए । सम्भवतः चन्द्रबहादुरका दम्पती पहिलोपटक जहाज चढेका थिए । तर, समय सधैं एकनास रहेन ।

एकदिन चन्द्रबहादुर दाउरा काट्न जंगल जाँदै गर्दा बाघको फन्दामा परे । बाघको झम्टाइबाट बच्न उनी अग्लो कान्लाबाट हाम्फाले । ज्यान त बच्यो, तर उनको कम्मरको हड्डी मर्कियो । कैयौंपटक अस्पताल धाउँदा पनि उनको ढाड निको भएन । उनी अशक्त बने ।

बुढ्यौलीले छुँदै जाँदा चन्द्रबहादुरको कम्मर कुप्रिँदै गयो भने निरमायाको घुँडाको रोग बल्झियो । दुवैका आँखाका ज्योति धमिलिए । अब उनीहरूको जीवन ‘घरले जा जा, वनले आइज आइज’ भन्ने अवस्थामा पुगिसकेको थियो । एक समय खेतबारीमा दिनरात खट्ने पौरखी हातहरू अहिले शिथिल भइसकेका थिए । गाउँको त्यो ठुलो घर बिस्तारै विरानो बन्दै गयो । सुखसुविधा र सहरको मोहका कारण सिंगो गाउँ नै रित्तिँदै थियो । हुनेखाने र टाठाबाठा सहरतिर, जान्ने–बुझ्ने विदेशतिर, आखिर गाउँमा बस्ने को ?

एकदिन चन्द्रबहादुरले टोलाउँदै भने, ‘निरमाया, आजकल यो घर किन यतिबिघ्न रित्तो लाग्छ हँ ? सन्तान टाढा भएर हो कि ?’

निरमायाले लामो सुस्केरा हाल्दै भनिन्, ‘घर खाली भएको होइन बुढा, सन्तानको आवाज नहुँदा हाम्रो मन खाली भएको हो ।’

दुवै मौन रहे । भित्तामा झुन्डिएका छोराछोरीका तस्बिरहरू मुस्कुराइरहेका थिए, तर त्यो निर्जीव मुस्कानले आमाबाबुको एक्लोपन मेट्न सक्दैनथ्यो ।

दिनानुदिन चन्द्रबहादुरको अवस्था जटिल बन्दै गयो । एकदिन उनी गम्भीर बिरामी परेर अस्पताल भर्ना भए । अस्पतालको बेडमा लडिरहँदा पनि चन्द्रबहादुरका आँखा बारम्बार ढोकातिरै सोझिन्थे, मानौं उनी कसैको पाइलाको आवाज पर्खिरहेका छन् । अन्तिम अवस्थामा पनि उनको मन सन्तानकै मायाले पिरोलिएको थियो ।

निरमायाले अमेरिकामा रहेकी छोरीलाई रुँदै फोन गरिन्, ‘छोरी, बुबाको अवस्था अन्तिम छ, एकचोटि आउन मिल्दैन ?’

छोरीले उताबाट रुँदै भनिन्, ‘आमा, अहिल्यै आउन मिल्ने अवस्था छैन । बल्लतल्ल राम्रो काम पाएकी छु, कामको निकै दबाब छ । टिकट मिलाउन पनि गाह्रो भइरहेको छ ।’

त्यसपछि अस्ट्रेलिया र क्यानडामा रहेका छोराहरूलाई खबर गरियो । तर उनीहरूको जवाफ पनि व्यस्तताकै जालोमा अल्झिएको थियो । ‘आमा, म बिदा मिलाउने कोसिस गर्छु, बुवालाई सम्झाउनू,’ उनीहरू भन्थे । हाम्रो समाजमा एउटा उखान छ नि ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि ।’ बुढेसकालको यो कस्तो विडम्बना !

कान्छो छोरा मनबहादुरले बुबाको रेखदेखका लागि अस्पतालमा कुरुवाको जोहो गरिदिने र पैसा पठाइदिने कुरा गर्दा निरमाया छाँगाबाट खसेजस्तै भइन् । केही समयपछि एक अपरिचित व्यक्ति पैसा बोकेर अस्पताल आइपुग्यो । ऊ पैसामा खटिएको कुरुवा थियो, जसको रगतको नाता चन्द्रबहादुरसँग थिएन । जीवनको अन्तिम क्षणमा एउटा अपरिचित व्यक्ति सहारा बनेर उभिएको थियो ।

एकदिन छोराले भिडियो कल गर्‍यो, ‘बुबा, म मनबहादुर बोलेको, के छ हजुरलाई ?’

चन्द्रबहादुरका ओठहरू थर्थराए, तर बोली फुट्न सकेन । उनका आँखा मात्र बोलिरहेका थिए । उनी इसाराले भन्दै थिए, ‘माया भए एकपटक आइज न छोरा !’ उता मोबाइलको स्क्रिनमा मनबहादुर रोइरहेको देखिन्थ्यो । अमेरिका र अस्ट्रेलियाबाट पनि भिडियो कलमा बुवाको अन्तिम धड्कन हेरिरहेका थिए । तर, उनीहरू क्षितिजपारि यति टाढा थिए कि चाहेर पनि बुबाको हात छाम्न सक्ने अवस्थामा थिएनन् ।

मृत्युले चन्द्रबहादुरलाई बिस्तारै आफूतिर तानिरहेको थियो । निरमाया कुरुवाको सहारामा बेडको नजिक आइन् । अचानक चन्द्रबहादुरले मधुर स्वरमा भने, ‘निरमाया, राम्रोसँग बस्नू... जीवन यस्तै रहेछ, अन्तिम घडीमा पनि सन्तानको मुख देख्न पाइनँ ।’ आँखाबाट अन्तिम आँसु खसाल्दै, सुक्खा ओठहरूमा मन्द मुस्कान छाडेर उनको हात निष्प्राण भयो । जीवनभर परिवारका लागि संघर्ष गर्ने एउटा अभिभावकको यात्रा सदाका लागि टुंगियो । अस्पतालको कोठा रुवाबासीले स्तब्ध बन्यो ।

बाबु बितेको दुई दिनपछि छोराछोरी गाउँ आइपुगे । यदि दुई दिनअघि मात्रै आइदिएको भए चन्द्रबहादुरले सन्तानको अनुहार हेरेर मर्न पाउँथे होलान् ! मृत शरीर देखेपछि छोराछोरी रोए, चिच्याए । तर, उनीहरूको आवाज सुन्ने कान सधैंका लागि बन्द भइसकेका थिए । आफ्नो वर्तमान जलाएर सन्तानको भविष्य उज्यालो बनाउने बाबु अब केवल तस्बिरमा मात्र सीमित भएका थिए ।

तेह्रौं दिनको काजकिरिया सकिएपछि छोराछोरीहरू आ–आफ्नो बाटो लागे । गाउँको त्यो ठुलो घरमा निरमाया फेरि एक्ली भइन् । सन्तान बोकेको गाडी गाउँबाट ओझेल पर्दै गर्दा निरमायाले दैलोमा बसेर टोलाइरहिन् । उनले सोचिन्– अब जीवनमा बैंक खातामा पैसा होला, राम्रा लुगाफाटो होलान्, तर गुमेको लोग्नेको साथ र सन्तानको बाल्यकालको त्यो न्यानो हाँसो कहिल्यै फर्किने छैन । अनि प्रतीक्षामा टोलाएको यो घरको आँगन कहिल्यै पहिलेजस्तो ब्युँझिने छैन ।

उनले मनमनै निष्कर्ष निकालिन्, ‘कहिलेकाहीँ जीवनको सबैभन्दा ठुलो गरिबी पैसाको अभाव होइन, आफ्नै सन्तानको उपस्थितिको अभाव रहेछ । र, संसारको सबैभन्दा पीडादायी मृत्यु त्यो हो, जहाँ आमाबाबुको अन्तिम इच्छा केवल आफ्ना छोराछोरीलाई एक नजर देख्नु मात्र हुन्छ ।’

सम्बन्धित खबर