
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । एसोसिएसनको १३औं साधारण सभापछि भएको निर्वाचनमा गैरेले आफ्ना निकटतम प्रतिद्वन्द्वी किशोरकुमार केसीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन् ।
निर्वाचन परिणामअनुसार गैरेले १८६ मत प्राप्त गर्दा केसीले ९५ मत पाए । अध्यक्षसहित अधिकांश पदमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् । यद्यपि द्वितीय उपाध्यक्ष पदमा भने फरक प्यानलबाट प्रतिस्पर्धा गरेका हर्कबहादुर लिम्बू विजयी हुन सफल भए । उनले १५३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विजयकुमार कार्कीले १२० मत पाए ।
प्रथम उपाध्यक्षमा सुवर्ण लामा १७६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी शिवकुमार कार्कीले ९७ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी १६८ मतसहित निर्वाचित हुँदा सोमबहादुर तामाङले १०१ मत पाए ।
महासचिव पदमा युवा व्यवसायी सुमनराज पाण्डे विजयी भएका छन् । उनले १६० मत प्राप्त गरी अभिन्यमान सिंह बस्नेतलाई पराजित गरे । बस्नेतले ११२ मत पाए । पाण्डे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व सदस्यसमेत हुन् ।
सचिव पदमा हिमा गुरुङ १४० मतसहित निर्वाचित हुँदा प्रतिश्पर्धी नारायण भुसालले १३३ मत प्राप्त गरे । सहसचिवमा जगतबहादुर गुरुङ १५३ मतसहित विजयी भए भने उनका प्रतिश्पर्धी शिवप्रसाद चालिसेले १०८ मत पाए ।
कोषाध्यक्ष पदमा भीममाया कार्की (कल्पना) १४१ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी राधा केसीले १२६ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा कैलाश पाठक १८० मतसहित विजयी हुँदा प्रतिश्पर्धी दीपक खड्काले ९२ मत पाए ।
सदस्य पदमा ओमप्रकाश शिवाकोटीले सबैभन्दा बढि मत ( १७३ मत), विष्णुप्रसाद सापकोटा (१६०), उर्मिला लामा (१५१), नवीन क्षेत्री पौडेल (१४८), मिलन पोख्रेल (१३०), राजेश मैनाली (१२७), युवराज खतिवडा (१२४), विक्रम खतिवडा (१२३), पुण्यकुमार श्रेष्ठ (१२३) र शेरबहादुर गुर्माछान (११९) निर्वाचित भएका छन् ।
निर्वाचनमा ३१५ जना लेबी बुझाएका व्यवसायीमध्ये २८२ जनाले मतदान गरेका थिए ।
निर्वाचित अध्यक्ष गैरेले प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायीहरूको पेसागत अधिकार र हितको रक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थालाई व्यवसायीमैत्री, प्रभावकारी र परिणाममुखी बनाउने बताए ।
पराजित उम्मेदवार केसीले निर्वाचनको परिणामलाई स्वीकार गर्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । उनले चुनावी प्रतिस्पर्धालाई यतिमै सीमित राखी संस्थाको हितका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
निवर्तमान अध्यक्ष दीपक थापाले आफ्नो कार्यकालमा संस्थाको भौतिक तथा संरचनागत विकासका लागि उल्लेखनीय काम भएको दाबी गर्दै आगामी दिनमा पनि संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक सल्लाह र सुझाव दिँदै सहयोग गर्ने बताए ।
महासचिवमा निर्वाचित सुमनराज पाण्डेले सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थालाई थप सक्रिय, प्रभावकारी र व्यवसायीका समस्या समाधानमा केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् । उनले व्यवसायीका साझा मुद्दामा एकताबद्ध भएर काम गर्ने वातावरण निर्माण गरिने बताए ।



